छेउछेउको भागबाट आँखाको ज्योति कम हुँदै गएको छ, दायाँबायाँको कुनै वस्तु हेर्नुपर्यो भने पूरै टाउको घुमाएर हेर्नुपर्ने अवस्था छ भने जलबिन्दुको शंका गर्नुपर्छ।
जलबिन्दुले एकैपटक आँखाको ज्योति गुम्दैन। यसले बिस्तारै आँखाका छेउछेउबाट ज्योति कम गर्दै आँखाको केन्द्रसम्म आइपुग्छ। यो समस्या दुई–चार वर्षमा भइहाल्ने भने होइन।
नेपालमा आँखा अस्पतालमा आउने बिरामीमध्ये १ दशमलब ५ प्रतिशत मानिसमा जलबिन्दु हुने गरेको पाइएको छ। त्यसमा पनि बढी मात्रामा महिलालाई यो समस्या देखिने गरेको छ।
४० वर्ष कटेपछि जलबिन्दु हुने सम्भावना बढी हुन्छ। बच्चा अवस्थामा वा जन्मजात रुपमा पनि जलविन्दु देखिन सक्छ। यदि, परिवारका कसैलाई जलविन्दु छ भने पछि जन्मने बच्चालाई पनि जलविन्दु हुने जोखिम अधिक हुन्छ। तीन पुस्तासम्मका व्यक्तिलाई जलविन्दु हुने सम्भावना रहन्छ।
त्यसैले, परिवारमा कुनै सदस्यलाई जलबिन्दु छ भने, पछि जन्मने बच्चाको समयमै आँखा जाँच गराएर भए÷नभएको निक्र्यौल गर्नुपर्छ।
जलबिन्दु भएका बिरामीलाई दृष्टि, आँखाको पेसर सामान्य वस्थामा छ छैन, राम्रोसँग रगत सञ्चालन भएको छ कि छैन आदि जाँग गरेर सोही अनुसार औषधि दिन्छौं।
कहिलेकाहीँ चोटपटकले आँखामा संक्रमण भई झिल्लीका सानो–सानो प्वाल बन्द भएर पनि जलबिन्दु हुनसक्छ। आँखाभित्र बनेको पानी राम्रोसँग बग्नुपर्छ तर कहिलेकाहीँ त्यो पानी बग्ने बाटोमा अवरोध आई झिल्लीका साना प्वाल बन्द भएमा पनि जलबिन्दु हुनसक्छ।
जलबिन्दु भएपछि बिरामीले जीवनभर आँखामा औषधि हाल्नुपर्छ। तर, कतिपय बिरामीले बीचमै औषधि हाल्न छोड्छन् र फेरि समस्या देखिन्छ। कतिपयले राम्रोसँग औषधि हाल्न नजान्दा पनि रोग निको हुँदैन।
जलबिन्दुको औषधि महँगो हुने भएकाले खेर नफालीकन प्रयोग गर्नुपर्छ। नेपालमा जलबिन्दुको धेरै औषधि ७–८ सय रुपैयाँ भन्दा कममा पाइँदैन। निरन्तर औषधि राखिरहनुपर्ने भएकाले खेर नफालीकन औषधि प्रयोग गर्नुपर्छ भनिएको हो। राम्रोसँग प्रयोग गर्यो भने एकपटक किनेको औषधिले ५ हप्तासम्म पुग्छ। तर, धेरै बिरामीले राम्रोसँग औषधि नराख्ने वा राख्ने बित्तिकै पुछ्ने हुनाले खेर गइरहेको हुन्छ।
जलबिन्दुका अधिकांश बिरामीलाई हामीले औषधि दिएर उपचार गरिरहेका हुन्छौं। कहिलेकाहीँ शल्यक्रिया गरेर पनि जलबिन्दुको उपचार गरिन्छ। शल्यक्रिया अन्तिम विकल्प हो। शल्यक्रिया गरेपछि धेरैजसो बिरामीले औषधि हाल्नुपर्ने वाध्यताबाट छुटकारा पाउँछन्।
आँखाको औषधि ‘ड्रप’मै हुन्छ, तर आकस्मिक रुपमा आँखाको ‘प्रेसर’ बढ्दा निकै टाउको दुख्छ। त्यसबेला मुखबाट, नसाबाट वा खाने औषधि चलाउनुपर्ने हुन सक्छ। त्यो छोटो समयका लागि मात्र हो, पछि आँखामा राख्ने ड्रप नै प्रयोग गर्नुपर्छ।
नेपाल आँखा अस्पतालले बिरामीलाई कसरी औषधि राख्ने, औषधिका ‘साइड इफेक्ट्स’ के–के हुन् भन्नेबारे जानकारी दिन र चिकित्सकसँग बिरामीले निर्धक्क समस्या राख्न सहज होस् भनेर हरेक ३ महिनामा चिकित्सक र बिरामीबीच अन्तक्रिया सुरु गरेको छ।
काठमाडौंमै हुने जलबिन्दुका बिरामीले अस्पतालमा सम्पर्क राखी अन्तक्र्रियामा भाग लिई धेरै कुरा सिक्न सक्नु हुन्छ। त्यहाँ आउन कुनै शुल्क लाग्दैन।
जलबिन्दु पूर्णरुपमा निको हुँदैन, हामीले जुन अवस्थामा छ त्यो अवस्थाबाट थप बिग्रन नदिने हो। तर, बच्चाहरुमा भने धेरै हदसम्म निको हुन्छ। त्यसैले बच्चाको निरन्तर आँखा जाँच गरिरहनुपर्छ भनिएको हो।
(जलबिन्दुु विशेषज्ञ डा मिकरानी नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा कार्यरत छन्)