फ्लुबारे धेरै लेखहरु पढ्छौं र ती सबै लेख विशेष गरेर लक्षण, उपचार र बच्ने उपायमा केन्द्रित हुने गर्छन्। त्यो हुनु पनि पर्छ। तर यतिका वर्ष बिरामीसँगको अन्तर्क्रियाका क्रममा खासै चर्चा नहुने गरेका थप समस्या पनि देखेको छु।
फ्लुको सिजनमा कतिपय बिरामीले अस्पताल भर्ना भएपछि फ्लुको जस्तो लक्षण देखा पर्ने र निमोनियासँग संघर्ष गर्नुपरेको अनुभवहरु सुनाउने गरेका छन्। यसलाई 'हस्पिटल एक्येर इन्फेक्सन' वा 'नोजोकोमिअल इन्फेक्सन' पनि भनिन्छ। यो खासगरी अस्पतालभित्रैबाट सर्ने संक्रमण हो। यो भाइरल, ब्याकटेरिअल वा फंगल जिवाणुहरु अस्पतालमा उपचारका क्रममा अस्पतालभित्रैबाट वा बिरामीका आफन्तबाट सर्ने गर्छ।
हुनत यसबारे निर्देशिकाहरु नभएका भने होइनन्। केही समयअघि एक जना बिरामीले आफ्ना आफन्तलाई गम्भीर प्रकृतिको रोगको उपचारका क्रममा अस्पताल भर्ना भएपछि फ्लुको जस्तो लक्षण (कडा सुख्खा खोकी) देखिएको र अन्त्यमा देहान्त भएको कुरा सुनाएका थिए। उनका अनुसार त्यही वार्डमा अरु केही बिरामीमा पनि त्यस्तै समस्या देखिएको थियो। यो अरु अस्पतालले पनि सामना गरिरहेको हुनसक्छ। हाल नेपालमा फ्लुजस्तै लक्षणहरु देखा पर्न थालेका छन्।
हुनत फ्लु नेपालमा मुटु, मधुमेह, मिर्गौला, स्नायु, कलेजो आदि कडा रोगको तुलनामा धेरै कम प्राथमिकता पर्ने गर्छ। त्यो समाजमा होस् वा चिकित्सकहरुबीच नै किन नहोस्। तर, अमेरिकाको सिडिसी (सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) को तथ्यांकलाई आधार मान्ने हो भने, त्यहाँ बर्सेनि हजारौंको मृत्यु फ्लुबाट सिर्जित जटिलताबाट हुने गरेको देखाउँछ। यसले फ्लु भाइरस साधारण संक्रमण मात्र हो भन्ने हाम्रो बुझाइ गलत हो।
गम्भीर प्रकृतिका रोग (जस्तै क्यान्सर, शल्यक्रिया– खासगरी स्त्री, स्नायु, मुटु, फोक्सो वा अरु शल्यक्रिया आदि) उपचार हुने, आइसीयु र जहाँ श्वासप्रस्वाससँग सम्बन्धित संक्रमितहरु उपचार गर्न जान्छन् त्यहाँ संक्रमणबाट बच्ने पूर्वाधार हुनु जरुरी हुन्छ। कुनै कडा रोगको उपचार गराइरहेको बिरामीलाई अस्तालभित्रैबाट फैलने संक्रमणले मृत्युको मुखमा पुर्याउन बेर लाउँदैन।
अस्पतालमा संक्रमण रोक्ने वा नियन्त्रण गर्ने निर्देशिकाहरु छन् र समय-समयमा तालिम पनि हुनेगर्छन्। तर यसका लागि चाहिने पूर्वाधार सबै अस्पतालमा नुहँदा प्राप्त ज्ञानको सही समय र आवश्यक ठाउँमा उपयोग हुन सकेको हुँदैन। जसले गर्दा बिरामीहरुको आफूले उपचार गर्न गएको रोगबाट भन्दा पनि अस्पतालबाट उत्पन्न सरुवा रोगहरुबाट मृत्यु हुने सम्भावन बढेर जानेछ।
अझ थप चिन्ता र चुनौतिको विषय भनेको हाल यस्ता जिवाणुले बहुएन्टिबायोटिक औषधि विरुद्ध आफ्नो क्षमता बढाउँदै जानु हो।
विश्व स्वस्थ संगठनको तथ्यांक अनुसार अस्पताल भर्ना भएका मध्ये १५ प्रतिशत जातिमा 'नोजोकोमिअल इन्फेक्सन' हुने गर्छ। त्यसमा विकशित देशमा ७ प्रतिशत र विकासशील देशमा १० प्रतिशत संक्रमण हुने गरेको देखिएको छ।
नेपालमा भने यसबारे भरपर्दो तथ्यांक छैन। तर नेपलमा पनि 'नोजोकोमिअल इन्फेक्सन' जनस्वास्थ्यमा एउटा ठूलै समस्या र चुनौती बनेको छ। यसका लागि आधारभूत अनुसन्धान गर्ने र हरेक अस्पतालमा नोजोकोमिअल इन्फेक्सनबाट बच्ने पूर्वाधार तयार गरे संक्रमणका कारणले उपचारको अवधि लम्बिने, अपांग हुने र मृत्यु समेत हुनसक्ने सम्भावनाबाट बिरामीलाई जोगाउन सकिन्छ। नेपालमा फ्लुका बिरामी बढ्दै गएकाले 'नोजोकोमिअल इन्फेक्सन'बारे स्वास्थ्यकर्मीसँगै बिरामी र आफन्तले अस्पतालको नियमलाई इमान्दारीपूर्वक पालन गर्नुपर्ने देखिन्छ। जसबाट अस्पतालभित्रै विकसित हुने 'साइलेन्ट किलर' संक्रमणबाट मानवीय क्षति कम गर्न मद्दत पुग्नेछ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)