जाडो मौसममा बच्चाहरुलाई धेरै समस्याले सताउने गर्छ । त्यसैले उनीहरुलाई अरुबेला भन्दा बढी स्याहार गर्नुपर्छ । जाडोमा बच्चाहरुलाई सामान्यतया रुघाखोकी, पखाला जस्ता समस्या देखिन्छन् । नेपालको हावापानीमा धेरै किसिमका भाइरस पाइने भएकाले तिनले यस्ता समस्या निम्त्याउने गर्छन्।
जाडोयाममा प्रायः बच्चाहरुलाई रुघाखोकीले सताउने गर्छ । रुघाखोकीले ५ वर्षमुनिका बच्चाहरुलाई बढी सताउँछ । आमाको मात्र दूध खाने बच्चालाई सुरुको अवस्थामा रुघा कम लाग्छ । तर, ५/६ महिना कटेपछि समस्या देखिन थाल्छ । चिसोले रुघाखोकी हुँदै उनीहरुलाई निमोनियासम्मका रोग लाग्न सक्छ।
सरकारले साना बच्चाहरुलाई निमोनियाबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैले पछिल्लो समय कडा खालका निमोनिया भनेर अस्पताल आउनेहरुको संख्या धेरै घटेको पाइन्छ।
जाडो महिनामा बच्चामा देखिने अर्को समस्या हो, पखाला । यो समस्या पनि ६ महिनादेखि पाँच वर्षमुुनिका बच्चामा देखिन्छ । धेरैजसो पखाला रोटा, नोरक, इन्टोरो, सिगेला इकोलाइ लगायत भाइरसले गराउँछन् । नेपाल सरकारले रोटा भाइरस विरुद्धको खोप ल्याउने तयारी गरेको छ।
जाडोमा आउँले पनि बच्चाहरुलाई निकै सताउँछ । पखालाको तुलनामा आउँले सिकिस्त नै पार्ने गर्छ।
बच्चाहरुलाई पखाला लाग्नुको कारण उनीहरुले सरसफाइमा ध्यान नदिनु नै हो । फोहोरमा खेल्ने, हात नधोई खाने जस्ता कारणले उनीहरुलाई पखालाले सताउँछ । यसपाली भने पखाला र रुघाखोकी लागेर गत वर्षको तुलनामा कम बिरामी आएका छन्।
जाडो महिनामा हामी अभिभावकहरु नै पानी खाँदैनौं, बच्चाहरुले झन् ध्यान दिने कुरै भएन । उमालेको पानी बच्चालाई ख्वाइराख्नुपर्छ । यसका साथै खाना खानुअघि र बच्चाहरु बाहिर खेलेर आएपछि राम्रोसँग हात धुन लगाउनुपर्छ।
चिसोबाट हुने एलर्जीले पनि बच्चाहरुलाई धेरै दुःख दिएको पाइन्छ । रुघाखोकीका साथै दम्मा बढ्ने, छाती घ्यारघ्यार हुने, श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिन्छ । नाक बन्द भइराख्ने, सिँगान बगिराख्ने समस्या त आम समस्या नै भयो । कतिपय बच्चालाई कान पाक्ने, कपालमा चायाँ आउने समस्या पनि हुन्छ।
विशेषतः जाडो महिनामा बच्चालाई चिसो लाग्छ भनेर हत्तपत्त नुहाइदिने गरिँदैन । त्यसले कपालमा चायाँ पर्ने, जिउ चिलाउने जस्ता समस्या देखिन्छ । ननुहाएर लुतोले पनि सताउने गर्छ।
काठमाडौंमा पानी दूषित भएकाले अरु ठाउँमा भन्दा टाइफाइडको जोखिम बढी हुने गर्छ । यो सामान्यतया वर्षायाममा देखिने भए पनि काठमाडौंमा भने जाडो महिनामा पनि देखिन्छ । यस्ता समस्याबाट बचाउन बच्चालाई भ्याक्सिन लगाउनुपर्छ । त्यसले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ र इन्फ्लुएन्जाबाट बचाउँछ।
स्याहार कसरी गर्ने ?
जाडोयाममा बच्चालाई यी धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ । न्यानो भएर बस्ने, रुघा लागेको मान्छेसँग घुलमिल नगर्ने, बासी खानेकुरा नखाने, चिसो चिज सकेसम्म नखाने, उमालेको पानी मात्र खाने गर्नुपर्छ । बच्चालाई रुघा खोकी लागेको छ भने स्कुल नपठाई केही दिन घरमै आराम गराउनुपर्छ।
बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्छ । एकछिन हिटर बालेर तातो बनाउन सकिन्छ । लगातार हिटर बालिरहँदा नाक सुक्खा हुने, खोकी लाग्ने जस्ता समस्या हुन्छ । त्यसैले बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नुपर्छ । कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने, घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
राति सुत्दा बच्चाहरुले लुगा फाल्ने गर्छन् । जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नुहुँदैन । कतिपय बच्चा गर्मी ज्यानका हुने भएकाले उनीहरुले सिरक ओढ्न नरुचाएर पटकपटक फाल्छन् । यसैले पातला दुइटा लुगा लगाइदिएर ठिक्क बाक्ला दुइटा लुगा ओढाइदिनुपर्छ । यसपछि पनि बच्चाले लुगा फाल्यो कि भनेर राति उठेर बेलाबेला हेर्नुपर्छ।
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ । त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ । बच्चालाई बिहानको पकाएको कुरा बेलुका ख्वाउने गर्नु हुँदैन । सानो बच्चालाई ताते र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ । तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
(सिभिल अस्पतालमा कार्यरत डा पोखरेलसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित।)