प्रोस्टेट पुरुषमा हुने ग्रन्थि हो । यो पिसाब नलीकै एउटा क्षेत्र हो । यो ग्रन्थि पिसाब थैलीबाट लिंगसम्म पुग्ने पिसाबनलीको एक भागमा पर्छ । प्रोस्टेटले वीर्य निस्कासन गर्ने बेला वीर्यलाई लिंगसम्म पुर्याबउने, वीर्यलाई पोषण गराउने आदि काम गर्छ । प्रोस्टेटको तौल सामान्यतया १८ देखि २० ग्रामसम्म हुन्छ।
बढ्दो उमेरसँगै प्रोस्टेटको आकार बढ्दै जानु प्राकृतिक कुरा हो । तर, यसरी ठूलो हुँदै जाँदा कुनै समयमा यसले 'बेनिन प्रोस्टेटिक हाइपरप्लेसिया ' निम्त्याउन सक्छ।
चिकित्सा शास्त्रका अनुसार, यस्तो समस्या मुख्यतया हर्मोनको परिवर्तनका कारण हुन्छ । डिहाइड्रो टेस्टोस्टेरोनका कारण प्रोस्टेट ठूलो हुन्छ । ठूलो हुनुमा अरु पनि कारणहरु हुने भए पनि यकिन छैनन्।
बेनिन प्रोस्टेटिक हाइपरप्लेसियाका लक्षणहरु
- पिसाब छिनछिनमा लाग्ने,
- पिसाब लाग्दा थाम्न नसक्नु,
- राति बढी मात्रामा पिसाब लाग्नु,
- पिसाबको धारा रोकिँदै झर्नु,
- पिसाब फेर्दा बढी बल पर्ने ,
- पिसाब गरिसकेपछि पनि अझै बाँकी रहे झैं लाग्नु।
कहिलेकाहीँ माथिका लक्षणहरु धेरै समयसम्म देखिँदै पिसाब ठ्याप्पै रोकिएर इमर्जेन्सीमै आउनुपर्ने पनि हुन सक्छ ।
अरु रोग र यो रोग कसरी छुट्याउने ?
सर्वप्रथम त बिरामीमा देखिने लक्षण हेरेर रोगको शंका गर्न सकिन्छ । त्यसपछि बिरामीको मलद्वारमा औंला हालेर प्रोस्टेटलाई अनुभव गरी पत्ता लगाउन सकिन्छ । सुन्निएर ठूलो भएको भए छुँदा दुख्ने हुन्छ । त्यसो त यस्तो दुखाइ क्यान्सरको शंकामा पनि हुने गर्छ । त्यसपछि प्रोस्टेटको घनत्व (कडा छ कि नरम ) आदि अनुभव गरेर छुट्याउन सकिन्छ । यसलाई हामी 'डिजिटल रेक्टल एक्जाम' भन्छौं।
भिडियो एक्स-रे अर्थात् युएसजी गरेर पनि तौल र पिसाबको मात्रा थाहा पाउन सकिन्छ।
पिसाबमा रक्तस्राव हुने बिरामीका लागि सिस्टोस्कोपी (दूरबीन हालेर थैलीभित्र हेर्ने जाँच) गरिन्छ । पिसाब थैलीको क्यान्सर छ कि छैन भनेर जाँच्न यो विधि अपनाइन्छ । तर, क्यान्सर देखा परे त्यसको बायोप्सी गर्नु उपयुक्त हुन्छ । सिस्टोस्कोपी गर्नैपरे मूत्रथैलीमा पत्थरी छ/छैन आदि सबै सूचना संकलन गरिन्छ।
अन्य जाँचमा पिसाब र रगतको जाँच पनि गरिन्छ । जसमा पिसाबको संक्रमण तथा मिर्गौलाले राम्रो काम गरेको छ कि छैन भनेर थाहा पाइन्छ।
प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पिएसए) परीक्षण गरेर उचित मात्रा थाहा पाउन सकिन्छ । प्रतिमिलिलिटर रगतमा ४.० नानोग्राम पिएसए लेभललाई सामान्य मानिन्छ । योभन्दा बढी भएमा क्यान्सरको आशंका गरिन्छ।
यसबाट बच्न 18 परिवर्तन गर्दै निम्न कुरामा ध्यान दिऔं:
– बेलुका तरल पदार्थको मात्रा सक्दो कम गर्ने।
– कफी र मदिरा (खास गरेर बियर) को प्रयोगबाट टाढै बस्ने।
– पिसाब फेर्न प्रशस्त समय दिएर पिसाब पूरा निथार्न कोसिस गर्ने।
– पिसाब फेरिसकेपछि अन्तमा मलद्वार र लिंगको बीचको भागलाई हलुकासँग थिचेर त्यो ठाउँमा बाँकी रहेको पिसाप निथार्ने।
उपचार
पिसाब ठ्याप्पै रोकिएर इमर्जेन्सीमै जानुपर्ने भएमा लक्षणहरु हेरेर सबैभन्दा पहिले पिसाब नलीमा पाइप राखी पिसाब जाने बाटो बनाउने अनि निस्किएको पिसाब जाँचको लागि पठाइन्छ । यदि बिरामीलाई ज्वरो आएमा र पिसाब पोलेमा रिपोर्ट हेरेर एन्टीबायोटिक चलाइन्छ । त्यसपछि भिडियो एक्स-रे अर्थात् युएसजी गरेर प्रोस्टेटको समस्या हो कि अरु नै समस्या हो भनेर छुट्याइन्छ।
यदि माथि उल्लिखित लक्षणहरु लिएर बिरामी बहिरंगमा आएमा जाँच र रिपोर्ट हेरेर सुरुमा औषधिबाटै नियनत्रण गर्न खोजिन्छ । जसमा पिसाब खुलाउने तथा प्रोस्टेटको तौल बढाउन रोक्ने औषधि पर्छन् । यसमा ताम्सुलोसिन र फिनेसटायरेड नामका औषधि मुख्य छन्।
यो औषधि १५ दिनदेखि १ महिनासम्म चलाएर बिरामी फेरि आउँदा लक्षणहरु सोधिन्छ । यदि राम्रो सुधार देखिएमा औषधिलाई नै निरन्तरता दिइन्छ भने नभएमा शल्यक्रियाको सल्लाह दिइन्छ।
शल्यक्रियामा टियुआरपी गरिन्छ । प्रोस्टेटको शल्यक्रिया गर्दा पहिले जस्तो चिर्नुपर्दैन । ढाडमा सुई दिएर खुट्टाभन्दा तल मात्र लठ्याएर अत्याधुनिक प्रविधिको दूरबीन मूत्रद्वारबाट छिराएर स्क्रिनमा हेरी शल्यक्रिया गरिन्छ । खुर्किएर निकालिएको प्रोस्टेटको मासु बायोप्सीको लागि पठाइन्छ।
शल्यक्रियापछि त्यही अनुसारको औषधि दिएर बिरामीलाई पठाइन्छ । पिसाब सम्बन्धी समस्या भए तुरुन्तै आउन र नभए बहिरंगमा फलोअपको लागि बोलाइन्छ । त्यतिखेर आउँदा बायोप्सीको रिपोर्ट साथै ल्याउनु जरुरी हुन्छ।
(डा आचार्य ग्रान्डी अस्पतालका मेडिकल अफिसर हुन्।)