मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो छाला । एउटा व्यक्तिलाई हेर्दा सुरुमा देखिने अंग नै छाला भएकाले यो मानिसको परिचय पनि हो । तर पनि हामी शरीरका अन्य अंगभन्दा छालालाई बेवास्ता गरिरहेका हुन्छौं । तर हामीले छालालाई विशेष हेरचाह गर्नुपर्छ । छालामा केही समस्या हुनेबित्तिकै जचाँउनुपर्छ । समयमै उपचार हुन सके कुनै पनि समस्या कम खर्चमा छिटो निको हुन्छ । तर ढिला गरियो भने उपचार खर्च त बढाउँछ नै, समस्याले छालामा दागहरु बनाइदिन्छ ।
रोगको उपचार गर्न जति सजिलो हुन्छ, दागको उपचार गर्न उत्तिनै गाह्रो हुन्छ । समस्या नहुँदा पनि हामीले छालाको उत्तिकै ख्याल गर्नुपर्छ । त्यत्तिकै महंगो क्रिम, लोसन वा सनब्लक लगाएर मात्र राम्रो भइदैन । आफ्नो छालाको प्रकृति कस्तो छ भन्ने जानेर मात्र सोही अनुसारको क्रिम प्रयोग गर्नुपर्छ । धेरै मानिस राम्रो हुने रहरमा अरुकै देखासिकी वा 23का भरमा क्रिम किनेर लगाउने गर्छन् । तर यसले राम्रो बनाउनेभन्दा पनि प्रतिकूल असर पर्न सक्छ । त्यसैले सुन्दरता बढाउन र सामान्य ठानेर आफंै औषधि किनेर खाने र बजारमा पाइने जुनसुकै क्रिम तथा लोसन प्रयोग गर्ने बानी छाडिदिनुपर्छ ।
जाडो समयमा सामान्यतया छाला सुक्खा हुन्छ । जसरी हामीले पानी कम खायाँै भने तिर्खा लाग्छ, त्यसैगरी छालालाई पनि पानी चाहिन्छ, त्यसलाई हामी मोइस्चराइजर भन्छौ ।
छालालाई मोस्चस्ज राख्नुपर्छ । यो बेला मोइस्चराइजर प्रयोग गर्नुपर्छ । छाला नरम बनाउन मद्धत गर्ने मोइस्चराइजर सबैले एउटै खालको प्रयोग गर्नुपर्छ भन्ने होइन । मोइस्चराइजर क्रिम, लोसन, जेल र सोलुसन जस्ता विभिन्न फर्ममा हुन्छन् ।
छाला एकदम नै सुख्खा भए क्रिम लगाउनुपर्छ । अलिकति सुख्खा छ भने लोसन र छाला सुख्खा र डण्डीफोर पनि छ भने जेल प्रयोग गर्नुपर्छ । अनि कसैको छाला हेयरी छ भने त्यस्तो अवस्थामा सोलुसन प्रयोग गर्नुपर्नेहुन्छ ।
सनस्क्रीनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाउनुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रीन लगाउनुपर्छ । एकपल्ट लगाएको सनस्क्रीनले ३ घण्टासम्म मात्र काम गर्छ । त्यसैले तीन घण्टापछि पुुन सनस्क्रीन लगाउनुपर्छ ।
नेपालमा छालाको समस्या मुख्य पाँच रोगभित्र पर्छ । अस्पताल आउने २५ प्रतिशतमा कुनै न कुनै प्रकारको छालासम्बन्धी समस्या भएको हुन्छ । त्यसमा पनि पाँच प्रतिशतलाई कडा खालको छाला रोग भएको पाइन्छ ।
मुख्यगरी अस्पताल आउनेमध्ये धेरैमा देखिने छालाका रोगमध्ये यी ५ समस्या बढी देखिन्छ ।
दाद : गोलो घेरामा देखिने चिलाउने समस्या हुने दाद सरुवा रोग हो । रोगीको कपडा प्रयोग गर्दा, सँगै सुत्दा यो रोग सर्न सक्छ । लामो समयसम्म उपचार गर्दा पनि यो रोग निको भएन भन्ने गुनासो बढी सुनिन्छ । तर राम्ररी उपचार गर्ने हो भने दाद निको हुन्छ ।
एलर्जी : एग्जीमा पनि भनिने छालाको अर्को बढी देखिने समस्या एलर्जी हो । यो दाद जस्तो अरुलाई सर्दैन । निकै चिलाउँछ तर उपचार गरेमा निको हुन्छ ।
लुतो : लुतो निकै चिलाउने छालाको अर्को रोग हो । यसले गर्दा मानिसलाई अरुका अगाडि बस्नसमेत अप्ठयारो पार्छ । एकबाट अर्कोमा सजिलै सर्ने यो रोगले व्यक्तित्वलाई नै खराब बनाइदिन्छ । यो एक प्रकारको किटाणुबाट हुन्छ ।
डण्डीफोर : किशोरावस्थामा प्रवेश गर्दैगर्दा शारीरिक परिर्वतन भई डण्डीफोर आउन सक्छ । यो अनुहार र शरीरमा पनि आउँछ र उपचार गर्दा निको हुन्छ । कसैकसैको हर्मोनमा खराबी भएर पनि यो रोग हुनसक्छ भने औषधिको असर र राम्रो हुने रहरले बजारबाट जथाभावी क्रिम किनेर लगाउने गर्नाले पनि मुखमा डण्डीफोर आउँछ । यसलाई निर्चोनु हुँँदैन । यसोगर्दा अनुहारमा दाग बस्न सक्छ ।
अन्य संक्रमण : बाँकी समस्या किटाणु वा ब्याक्टेरियाको संक्रमणका कारण उत्पन्न हुन्छ । घाउ पाक्ने, सुन्निने, दुख्ने र चिलाउनेजस्ता कारण छालामा संक्रमण देखिन सक्छ ।
त्यसबाहेक शरीरभित्रैबाट हुने समस्याले पनि जनै खटिरा, छालाका एलर्जी जस्ता समस्या निम्ताउँछ । मासुको सेवन, धुलो, अत्तर, अण्डा र गन्धको एलर्जीले छालामा समस्या हुन्छ । कसैलाई क्रिमकै एलर्जी हुनसक्छ । कसैलाई घाम र जाडोेको एलर्जी हुन्छ । यी समस्यालाई बेवास्ता गरियो पछि ठूलो समस्या निम्तन सक्छ । त्यसैले समयमै चिकित्सककहाँ गएर देखाउनु उपयुक्त हुन्छ ।
कन्सल्ट्यान्ट डर्माटोलोजिस्ट, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखा