ललितपुर- ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संविधान अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महानगरले काम अगाडि बढाएको बताएका छन्।
रिदम न्युरोसाइकियाट्री अस्पतालको वार्षिकोत्सवमा आयोजित कार्यक्रममा महर्जनले स्वास्थ्य अधिकारका अधिकांस विषय स्थानीय तहमा हस्तान्तरण भइसकेकाले महानगरले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका हुन्।
कार्यक्रममा मनोचिकित्सक संघका अध्यक्ष अरूण कुँवरले मनोरोगको उपचार गर्ने वातावरण सरकारी अस्पतालमा नभएको बताए।
उनले मनोरोगीले सरकारी अस्पतालबाट सेवा लिन सक्ने वातावरण नभएको भन्दै दिरम अस्पतालमा त्यस्ता बिरामीको उपयुुक्त उपचार केन्द्र रहेको जानकारी दिए।
कार्यक्रममा वीर अस्पतालका सहप्राध्यापक तथा नेपाल चिकित्सा संघका महासचिव डा लोचन कार्कीले स्वास्थ्य उपचारको क्षेत्रमा लगाइएको कर हटाउनुपर्ने माग गरे।
कार्यक्रममा अस्पतालका निर्देशक डा रितेश थापाले अस्पताललाई एक सय शय्यामा विस्तार गर्न लागिएको जानकारी दिएका थिए।