क्यान्सर शब्द सुन्नेबित्तिकै हरेक मानिसको मनमा भय उत्पन्न हुन्छ । यसलाई निको नहुने तथा रोग लागेपछि मृत्यु अँगाल्नुपर्ने रोगका रुपमा आममानिसमा लिइन्छ । तर समयमै 18 परिवर्तन गरि प्राकृतिक चिकित्सा र योगलाई जोड्ने हो भने यस रोगबाट बच्न सकिन्छ र क्यान्सर भइसकेको अवस्थामा क्यान्सरसँग जुध्न र क्यान्सरको मुख्य उपचार भईसकेपछिको पुनर्वासमा पनि निकै लाभदायक हुन्छ ।
थुप्रै अनुसन्धानहरुबाट प्राकृतिक चिकित्सा अन्तर्गतका विनाऔषधि उपचार गरिने पद्धतिहरु जस्तै योग, 18 सुधार, आहार चिकित्सा, उपवास चिकित्सा, पानी चिकित्सा (हाइड्रो थेरापी) मसाज, इनर्जी चिकित्सा, एक्युपञ्चर, एक्युप्रेसर, अभ्यास चिकित्सा, पौष्टिक आहारलगायतको प्रयोग गर्नाले क्यान्सरबाट जोगिने मात्र होइन, क्यान्सर पछिको पुनर्वासमा पनि निकै फाइदा हुने प्रमाणित भइसकेको छ ।
१) आहार
हाम्रो शरीर आहारमा निर्भर हुन्छ । जस्तो प्रकारको अन्न खाईन्छ शरीर त्यस्तै बन्छ । आहारको पौष्टिकताले नै हाम्रो शरीरका अंग निर्माण हुन्छन्, रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ, मेटाबोलिक मलहरु शरीरमा निष्कृय हुन्छन् वा शरीरबाट बाहिर निस्कासित हुन्छन् । शरीरको रोग प्रतिरोधात्मक शक्ति कमजोर भए, मेटाबोलिक मलहरु संग्रह भएमा, कोषिकाका डिएनएमा परिवर्तन आउछ र क्यान्सरको सम्भावना बढ्छ । ३० देखि ३५ प्रतिशत क्यान्सरको कारकतत्व आहार हो (प्रिथा आनन्द,२००८) । रातो मासु वा प्रशोधित मासुले स्तन, आन्द्रा, प्रोस्टेट, अग्नासय (प्याङक्रियाज) क्यान्सरको सम्भावना बढाउँछ (स्टिवार्ट, २०१४) । अनुसन्धानले के पनि देखाएको छ भने आफ्नो देश छोडेर अर्को देशमा बसाँई सर्नेहरु आफ्नो पुरानो खानपिनको तरिका परिवर्तन नगर्दा क्यान्सरको सिकार हुने गर्छन्, (कोलिन क्यामबेल, द चाइना स्टडी,२००५)।
मानिसको प्राकृतिक खानपिन भनेका वनस्पति नै हुन् । प्राकृतिक रुपमा खाँदा वा पौष्टिक तत्व नष्ट नहुने गरी पकाएर खाएमा वनस्पतिहरुले क्यान्सरको सम्भावनालाई निकै क्षिण बनाईदिन्छन् । वनस्पतिहरुमा पनि फलफूल, काँचो तरकारी, रेसायुक्त आहारको अधिक प्रयोगले ठुलो आन्द्राको मात्र नभई अन्य थुप्रै क्यान्सरहरुबाट बच्न सकिन्छ । वनस्पतिहरुमा क्यान्सर रोकथाम तथा उपचारमा सहयोगी थुप्रै तत्वहरु (फाइटो केमिकल) जस्तै भिटामिन, क्यारेटिनोइडस्, क्युरसिटिन, रेसभेराटोल, साइलिमारिन, सल्फोराफिन, इन्डोल ३ कार्बिनोल आदि पाईन्छ । क्यारेटिनोइडस् तरबुजा, खरबुजा, मेवा, गोलभेंडा, गाँजर, आदिमा प्रशस्त पाईन्छ भने रेसभेराटोल अँगुर, बदाम, स्याउ, बेरीजहरुमा प्रशस्त पाईन्छ । इन्डोल ३ कार्बिनोल र सल्फोराफिन बन्दागोबी, काउली र ब्रोकाउलीहरुमा प्रशस्त पाईन्छ । मसलाको रुपमा दैनिक प्रयोगमा आउने बेसार, लसुन, अदुवालगायत पनि क्यान्सर रोगमा निकै फाइदाजनक छन् ।
२) योग
मनको संयम, स्वअध्यन, तपःको अभाव र स्नायु तथा प्राण शक्तिको अतिह्रास सम्पूर्ण रोगका कारक तत्वहरु हुन् । यी तत्वको अभावमा मानसिक, भावनात्मक तथा शारीरिक तनाव उत्पन्न हुन्छ । यी तनाव शरीरका कमजोर कोषिकामा जम्मा हुँदै जान्छ र शरीरले थाम्न नसकेपछि रोगहरु देखिन थाल्छ । क्यान्सर पनि त्यसरी नै उत्पन्न हुन्छ । क्यान्सरका विभिन्न कारक तत्वमध्ये तनाव पनि अति महत्वपूर्ण कारक तत्व हो । तनावले डिएनएसम्ममा असर गर्छ । डिएनएको काममा वाधा उत्पन्न गर्दछ । साथै अति तनावको क्षणमा तोडमोड पनि गर्दछ ।
योगले मनको संयम, स्वअध्यन, तपः स्नायु तथा प्राण शक्ति बढाउँछ । योगले शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक तनाव, दुःख, क्लेशहरुलाई घटाउँछ । शरीर शुद्धि गर्दछ, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, स्नायुतन्त्रलाई बलियो बनाउँछ र हाम्रो भित्री अस्तित्वको दर्शन गराउँछ । सबै प्रकारका दुःखबाट उन्मुक्ति दिन्छ ।
योगले क्यान्सरले गर्दा हुने थकान, अनिद्रा, तनाव, घटाउँछ र जीवनको गुणस्तर बढाउँछ (पि. एम बर्नास्, २००४)। प्राणायाम र योगिग् आरामले चिन्ता घटाउँछ (राओ एम्. आर. २००९) । कपालभाँति, भ्रस्टिका तथा उज्जयी प्राणायामले क्यान्सरमा हुने हिनताबोध (डिप्रेशन ) मा निक्कै फाइदा हुन्छ । योगका आसनहरुले मानसिक तथा भावनात्मक तनाव घटाउँछ । योगले क्यान्सरका बिरामीको जीवनको गुणस्तर बढाउँछ (क्रामर एच् २०१७) । साथै योगले केमोथेरापीले गर्दा हुने वाक्वाकी, वान्ता, दुखाई तथा भोक नलाग्ने, अनिद्रा लगायतका अन्य समस्यामा पनि निकै फाइदा गर्दछ । योगले तनावका हर्मोनहरु घटाउँछ साथै दिमागका शान्त भाव जगाउने ग्रन्थि सक्रिय बनाउँछ ।
३) थेरापिटिक मालिस
प्राकृतिक चिकित्साअन्तर्गत पर्ने थेरापिटिक मालिसले तनाव घटाउँछ । तनावसंग सम्बन्धित हर्माेनहरु घटाउँछ र आनन्दायी हर्मानेहरु निकाल्छ । दिमागमा अल्फावेभ उत्पन्न गर्दछ जसले हिनताबोध, तनाव हटाई आराम महसुस गराउँछ र गहिरो निद्रा पर्छ । क्यान्सर बिरामीहरुको तनाव, हिनताबोध घटाई मानसिक स्वास्थ्य बलियो बनाई जीवनको गुणस्तर बढाउँछ (एस्.एम सागर, २००७) । मालिसले क्यान्सर बिरामीमा अन्तरमनको शान्तिको अनुभूति गराउँछ (बेक एल २००९) । दैनिक २० मिनेटदेखि १ घण्टाको मालिसले क्यान्सरले गर्दा हुने विभिन्न दुखाईहरु, वाक्वाकी, थकान आदिमा दीर्घकालिन लाभ मिल्दछ ।
४) एक्युप्रेसर चिकित्सा
एक्युप्रेसर चिकित्सामा शरीरको हात तथा पैतालालगायत अन्य विभिन्न अंगमा हातका औंला वा एक्युप्रेसर सामग्री प्रयोग गरेर प्रेसर वा दबाब दिइन्छ । यो पद्धति प्राचीन प्राकृतिक चिकित्सामध्ये एक हो जसले विभिन्न रोगहरुमा निक्कै फाइदा पुर्याउँछ । क्यान्सरका रोगीहरुमा केमोथेरापीले गर्दा हुने, कुनै औषधिको प्रयोग पछि पनि ठिक नहुने बान्तालाई एक्युप्रेसरबाट ठीक पार्न सकिन्छ (गारदानि, २००७) । क्यान्सर रोगीहरुमा हुने थकानलाई ४५ देखि ७० प्रतिशतसम्म यसले ठीक पार्छ । कानको एक्युप्रेसरले क्यान्सर बिरामीमा हुने तनावलाई कम गर्दछ (बि किम, २००२) ।
५) पानीको चिकित्सा
प्राकृतिक चिकित्सामा पानीको आफ्नै विशेष स्थान छ । पानीलाई बाह्य तथा आन्तरिक रुपमा प्रयोग गरेर प्राकृतिक चिकित्सामा विभिन्न रोगको उपचार गरिन्छ । क्यान्सर बिरामीका लागि पनि पानीको उपचार फाइदाजनक छ । क्यान्सरको प्रकारअनुसार पानी प्रशस्त पिउनु पर्छ । क्यान्सरका कारण हुने दुखाईमा चिसोतातो पानीको सेकाई निकै लाभदायक हुन्छ । हट फुट बाथले अनिद्रा तथा थकानको सिकार भएका क्यान्सर बिरामीलाई निद्रा तथा आराम प्रदान गर्दछ ।
६) उपवास
थेरापिटिक उपवास क्यान्सरको रोगथाम तथा उपचार दुवै अवस्थामा लाभदायक छ । उपवासले क्यान्सरजन्य जीन्सलाई निष्कृय बनाउँछ । साथै रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ । जीर्ण भइसकेका कोषिकालाई निष्कृय बनाई नयाँ कोषिका निर्माण गर्न मद्दत गर्दछ जसले गर्दा जीर्ण रोगको सम्भावना क्षिण बन्छ । केमोथेरापी र रेडियोथेरापीसंगै थेरापिटिक उपवास गर्दा केमोथेरापी र रेडियोथेरापीको रोगनाशक शक्ति बढ्छ तथा यी थेरापीबाट हुने दुष्प्रभाव कम हुन्छ । उपवास गर्दा वा खानाको क्यालोरी कम गर्दा इन्सुलिन ग्रोथ फ्याक्टर १ भन्ने तत्व कम हुन्छ जसले गर्दा क्यान्सर कोषिकाहरु निष्कृय र क्षिण हुन्छन् ।
(नोटः कुनै पनि योग तथा प्राकृतिक चिकित्सा सम्बन्धित चिकित्सकसंग परामर्श गरेर मात्र प्रयोग गर्नुहोला)
प्राकृतिक चिकित्सा विज्ञ, वेलनेस अस्पताल बाँसबारी