खुशी अर्थात् सुखमा ‘केही मीठो खाउँ न’ भन्ने शब्द हरकोहीको मुखबाट निस्किन्छ।
जब कसैलाई चोट लागेर घाउ बन्यो र ‘केही मीठो राख्देउ’ भन्ने अवस्था आयो भने के होला?
चिनीले घाउ निको पार्न ‘एन्बिायोटिक’को भन्दा प्रभावकारी भूमिका निर्वाह गर्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । अहिले अमेरिका र बेलायतका केही डाक्टरले घाउ निको पार्न चिनीको प्रयोग गरिरहेका छन् । उनीहरु एन्टिबायोटिक्सको सट्टा चिनीले घाउ निको पार्ने कुरामा विश्वस्त बन्दै गएका छन् । यसको वैज्ञानिक खोजमा एक हदसम्म सफलता मिलेको छ।
मोसेस मुरान्डु जिम्बाबेका बासिन्दा हुन् । ४१ वर्षका मुरान्डु अहिले बेलयातको 4 सेवामा आवद्ध गर्छन् । उनी आजकाल घाउ भर्नलाई एन्टिबायोटिकका ठाउँमा चिनी प्रयोग गर्नुपर्ने कुरालाई जोडतोडले उठाइरहेका छन्।
मुरान्डुको बाल्यकाल गरिबीमा बित्यो । उनी जिम्बाबेको ग्रामिण इलाकामा बस्दथे । बाल्यकालको सम्झना गर्दै मुरान्डु भन्छन्, ‘जब दौडने–खेल्ने क्रममा मलाई चोट लाग्थ्यो । तब मेरा पिता उक्त घाउमा नुन हालिदिनुहुन्थ्यो । बुवाको गोजीमा पैसा भएको समयमा भने चिनी किनेर ल्याउनुहुन्थ्यो र घाउमा राखिदिनुहुन्थ्यो।’
मुरान्डुलाई अहिले पनि याद छ, ‘चिनी राखेपछि घाउ चाँडै निको हुन्थ्यो।’
पछि १९९७ मा मोजेज मुरान्डु बेलायताको राष्ट्रिय स्वास्थ्य प्रणाली अन्तर्गत नर्सको जागिर गर्न पुगे । उनलाई बाल्यकालको याद ताजा भयो । मनमा प्रश्न खेल्न थाल्यो, ‘घाउ निको पार्न किन चिनीको प्रयोग हुँदैन ?’ त्यसपछि उनले आफू कार्यरत अस्पतालमै सामान्य घाउ निको पार्न चिनीको प्रयोग गर्न थाले । मुरान्डु यसमा सफल रहे।
सुरुमा एउटा ठट्टा जस्तो ठानिएको उनको यो उपचार विधिलाई अहिले गम्भीरता पूर्वक लिन थालिएको छ । ओल्भरह्याम्पटन युनिभर्सिटीका वरिष्ठ प्राध्यापक र नर्स रहेका उनले घाउ निको पार्न चिनीको भूमिकाका विषयमा ‘प्रारम्भिक अध्ययन’गरेका छन् । यो अध्ययनका लागि उनलाई ‘जर्नल अफ वुन्ड केयर’का तर्फबाट गत महिना मात्रै पुरस्कार प्राप्त भएको छ। बेलायतको ओल्भह्याम्पटन युनिभर्सिटीको ल्याबमा रिसर्च गर्दै घाउ निको पार्न चिनीको भूमिकालाई प्रमाणित गरिएको हो।
त्यसैले अहिले घाउमा एन्टिबायोटिकको ठाउँमा चिनीको प्रयोग गर्न कुरालाई थप गम्भीरतापूर्वक लिन थालिएको छ ।
मुरान्डुले पहिलो केस स्टडी आफू जन्मेहुर्केकै ठाउँ जिम्बाबेको बोस्टवानामा गरेका थिए (उनी त्यो ठाउँका पहिलो तालिम प्राप्त नर्स पनि हुन् ) ।
उनी भन्छन्, ‘एक महिलाको पाँच वर्षदेखि खुट्टाको घाउ निको नभएपछि खुट्टा काट्ने तयारी भइरहेको मेरो छिमेकीले बताए । त्यसपछि मैले यसलाई राम्ररी सफा गरेर निरन्तर चिनीको प्रयोग गरी हेर्न सुझाएँ।’
उनको खुट्टाको घाउ निको हुँदै गयो । उनले खुट्टा गुमाउनु परेन । मुरान्डु घाउ निको पार्न त्यही चिनी प्रयोग गरिरहेका छन् । जुन दानावाला चिनी हामी सवैले चियामा प्रयोग गर्छाैं।
चिनीको प्रयोगबाट घाउ निको पार्ने यो उपाय संसारका धेरै मान्छेका लागि बरदान सावित हुन सक्ने विश्वास गरिएको छ । किनभने विश्वका धेरै मान्छेको अझै एन्टिबायोटिक किन्ने क्षमता छैन।
यसको अर्को फाइदा पनि छ । विश्वमा एन्बिायोटिकको प्रयोग बढ्दो छ तरर यसको प्रभावकारिता भने घट्दै गइरहेको छ । एन्टिबायोटिक विरुद्ध जिवाणुहरु लड्न सक्ने भएर आइरहेका छन् । यसकारण पनि चिनीको प्रयोगबाट घाउ निको पार्ने उपाय विश्व चिकित्साका लागि फलदायी हुन सक्छ । तर, यसमा अनुसन्धान भने अझै बृहत मात्रामा गर्नुपर्ने बताइएको छ।
घाउमा चिनीको प्रयोग कसरी गर्ने भन्ने बारे मुरान्डुको अनुभव र अध्ययन मिश्रित सुझाव यस्तो छ, ‘घाउ सफा गरेर चिनीका दाना राख्ने र त्यसपछि पट्टी बाँध्ने । चिनीका दानाहरुले हाम्रो घाउमा रहेको ओसिलोपन सोसिदिन्छन् । ओसिलोपन नभएमा ब्याक्टेरिया बन्ने र फैलिने प्रक्रिया अवरुद्ध हुन्छ । ब्याक्टेरिया नभएपछि घाउ चाँडो निको हुन्छ।’
मुरान्डुले प्रयोगशालामा चिनीलाई लिएर प्रयोग समेत गरेका थिए । यसका अलवा दुनियाका अन्य देशमा पनि चिनीको यस्तै गुणलाई लिएर प्रयोग गरियो । खाशगरी ती व्यक्तिहरु, जसमाथि एन्बिायोटिकले असर गर्न छाडेको थियो । अहिले उनी आफ्नो अनुसन्धान अघि बढाउनका लागि फन्ड जुटाइरहेका छन् । यदि यसको वृहत अनुसन्धान भएर प्रयोग गर्ने अझै भरपर्दो वैज्ञानिक तरिका समेत पत्ता लाग्यो भने गरिबहरुका लागि बरादान नै हुने चिकित्सकको विश्वास छ।
मुरान्डु अहिले एउटा निजी क्लिनिक खोल्ने सोचमा छन् । जहाँ चिनीको प्रयोगबाट मात्रै घाउ निको पार्न सकियोस् । उनले अहिले संसारभरका चिकित्सबाट निरन्तर इमेल प्राप्त गरिरहेका छन् । इमल गर्नेहरुले इमेलमा मुरान्डुसँग चिनीको प्रयोग गर्ने तरिका सोधिरहेका हुन्छन् । कतिले यसमाथि शंका व्यक्त गर्छन् । तिनीहरुलाई आफूले गरेका प्रयोग पठाइदिन्छन् उनी ।
यो घाउ निको पार्ने पुरातन विधि हो । त्यसैले यसमाथि उनी अझै व्यापक अध्ययन गर्न चाहन्छन् । तर, समस्या यस्तो छ कि ठूला औषधी कम्पनीहरु यसका बाधक बन्न खोजिरहेका छन् । किनभने अरु औषधीको जस्तै यसको ‘प्रतिलिपी अधिकार’ हुने छैन । औषधि कम्पनीको अवरोधको कारण छ, ‘यदि मान्छेहरु घाउ निको पार्न चिनी प्रयोग गर्न थाले भने उनीहरुको महंगो एन्टिबायोटिक कसले किन्छ ?’
मुरान्डुले अहिलेसम्म ४१ जना बिरामीमाथि यसको प्रयोग गरेर सफलता हासिल गरिसकेका छन् । उनले कति अन्तर्राष्ट्रिय चिकित्सा सम्मेलनमा समेत यो उपचार विधि प्रस्तुत गरेका थिए । सहभागी धेरै डाक्टरले उनको उपाय लाभदायी रहेको प्रतिक्रिया दिएका छन् ।
सबैभन्दा राम्रो कुरा के हो भने मधुमेहका बिरामीका लागि पनि घाउ निको पार्ने यो पुरातन विधि फाइदाजनक देखिएको छ ।
मुरान्डुकै जसरी अमेरिकाकी भेटेनरी डाक्टर मौरीन एमसीमाइकल पनि चिनीले जनावरको घाउ भरिरहेकी छन् । अमेरिकाको इलिनोइज युनिभर्सिटीमा आवद्ध उनले सन् २००२ मा एक भुस्याहा कुकुरमाथि यो उपाय अपाएक थिइन् । जसले उनलाई सफलता दिलायो । उनी भन्छिन्, ‘यो सामन्य एउटा उदाहरण हो । जसले कम शुल्कमा उपचार गर्न यसले मद्दत गरिरहेको छ ।’ उनी चाहिँ घाउ निको पार्न चिनीसँगै महको समेत प्रयोग गरिरहेकी छिन् । एउटा अध्ययनले उनको यो तरिका अझ बढी प्रभावकारी रहेको देखाएको छ । तर, चिनी मात्रैको प्रयोग भन्दा यो महंगो हुन जान्छ।
यसैगरी बेलायतकी बैज्ञानिक शिला म्याक्निल पनि यसमा अनुसन्धान गरिरहेकी छिन् । उनी प्राकृतिक चिनीको प्रयोगले हाम्रो शरीरका कोशिका चाँडै बढ्न सक्ने बताउँछिन् । उनले भनिरहेको प्राकृतिक चिनी भने हाम्रो शरीरले बनाउने चिनी हो। यसमा अझै वृहत् अध्ययन गर्न जरुरी छ।
मुरान्डु भन्छन्, ‘चिनी बनाउने कच्चा पदार्थ विकसित देशबाट अविकसित देशमा आयो । चिनी बनाएर अविकसित देशमै पठाइयो । त्यस्तै उपचार गर्ने पुरातन विधि पनि अविकसित देशबाट विकसित देशमा आइपुगेको छ । अब यो विधि वैज्ञानिक बनाएर अविकसित देशमै ‘निर्यात’ हुनेछ।’
(बीबीसी फ्युचरका लागि क्लरा विगगिन्सले लेखको यो सामाग्री डिबी खड्काले अनुवाद गरेका हुन् । तस्बिरहरु: GETTY IMAGE)