मौसम परिवर्तन हुने समयमा विभिन्न खाले स्वास्थ्य समस्या देखिन्छन् । गर्मी मौसम सुरु भइरहेको छ । यो याममा हावा चल्ने, धूलोधुँवाले आँखामा विभिन्न खाले समस्या ल्याउने हुन्छ । यसैले गर्मीमा आँखालाई यसबाट जोगाउन आवश्यक छ।
यो समयमा आँखा सुख्खा हुने, एलर्जी तथा आँखा पाक्ने समस्या देखिन्छन् ।
आजकल बाहै्र महिनाजसो आँखा सुख्खा हुने समस्या देखिन थालेको छ । गर्मीमा धेरै हावा चल्ने, धेरै कम्प्युटरमा काम गर्ने कारणले सुख्खा हुने समस्या हुन्छ । आँखालाई पनि आरामको जरुरत हुन्छ । लामो समय काम गर्दा आँखा थाक्छ । त्यसैले कामको बीच–बीचमा आँखालाई आराम दिने, पर्याप्त पानी पिउने गर्नुपर्छ ।
काठमाडौँमा बाटो विस्तारले गर्दा जताततै धुलो छ भने गाडीमोटरको धुवाँपनि उत्तिकै छ । त्यसले आँखामा एलर्जी हुन्छ । जसले आँखा चिलाउने, रातो हुने समस्या लिएर अस्पताल आउनेको संख्या पनि बढिरहेको छ । आँखालाई यी समस्याबाट जोगाउन बाहिर निस्कँदा चस्मा अथवा सनग्लास लगाएर निस्कने, घर आएपनि सफा पानीले सफा गर्नुपर्छ । बच्चाहरुलाई पनि यी कुरा सिकाउनुपर्छ ।
चस्मा प्रयोग गर्दा जति मंहगो भयो उति राम्रो भन्ने चलन छ तर आँखालाई जोगाउन ब्राण्डेड नै लगाउनुपर्छ भन्ने छैन । त्यसैले आफ्नो आर्थिक स्थितिले भ्याउने मूल्यको चस्मा किनेर लगाउन सकिन्छ ।
आँखा पाक्ने रोग सरुवा भएकाले अन्यलाई पनि छिटो सर्न सक्छ । तर हामीले भन्ने गरेजस्तो आँखा पाकेको व्यक्तिसँग आँखा जुधाउँदैमा भने सर्दैन । रोगीले प्रयोग गरेका वस्तुहरु अर्को व्यक्तिले प्रयोग गर्दा, रोगीको रुमाल, तकियाजस्ता चीज अर्को व्यक्तिले प्रयोग गर्दा किटाणुको माध्यमबाट सर्छ ।
आँखा पाकेको बेलामा सरसफाईमा ध्यान दिन सकिएन भने यो लामो समयसम्म निको हुदैँन । तर सरसफाईमा ध्यान दिइयो र औषधि प्रयोग गरेमा १० दिनभित्र निको हुन्छ ।
आँखा पाकेको बेला बाहिरमात्र सफा गरेर हुदैँन । कटनलाई तातो पानीमा भिजाएर एउटा हातले आँखा फट्टाएर भित्र पनि सुस्तरी पुछ्नुपर्छ । जाडोमा भन्दा यी समस्याले गर्मीमा बढी समस्या अस्पताल आउनेको संख्या धेरै हुन्छ ।
आजकल आँखामा कुनै समस्या हुनेबित्तिकै आफूखुसी औषधि किनेर राख्ने चलन बढेको छ । जुन एकदमै गलत हो । त्यसरी प्रयोग गर्दा त्यसले आँखालाई असर पारिरहेको हुन्छ । हामीकहाँ धेरै औषधिको साइडइफेक्टस हुन्छ । त्यसैले एकपल्ट नेत्रविशेषज्ञको राय लिनु आवश्यक छ ।
(सहप्राध्यापक, नाम्स तथा अकुलोप्लाष्टी विशेषज्ञ, नेपाल आँखा अस्पताल)