काठमाडौं यतिखेर बढ्दो सहरीकरण र सवारी चापको चपेटामा परेको छ। सवारीसाधनको धुवाँले प्रदूषण बढाइरहेका बेला खानेपानी आयोजनाका नाममा जताततै खनिएका सडकमा उडेको धुलोले वातावरण निस्सासिँदो छ।
सन् २०१७ को प्रदूषण सर्वेक्षणअनुसार काठमाडौं संसारकै पाँचौ प्रदूषित सहरका रूपमा दर्ज भएको छ। २०१८ को सुरुवातमा भएको वातावरणीय मापनसम्बन्धी सर्वेक्षणमा पनि नेपाल १८० मुलुकमध्ये सबैभन्दा तल परेको छ। यसैगरी दैनिक नापिने सूर्यको किरणको राप (युभी इन्डेक्स) पनि काठमाडौंले विकराल समस्या देखाएको छ।
यी तथ्यांकबाट सर्वसाधारणले के बुझ्ने ?
वातावरणीय प्रदूषणले हाम्रो स्वास्थ्यमा नकारात्मक र दीर्घकालीन असर पु¥याउँछ। प्रदूषणका कारण ठोस, तरल र ग्यासरूपी रासायनिक र सूक्ष्म कणहरूले छालामा बहुआयामिक हानि गर्छन्। छाला शरीरको बाह्य र ठूलो अंग भएकाले यसले रक्षात्मक कवचको काम गर्छ।
यसैले प्रदूषणको पहिलो सिकार पनि छाला नै बन्छ। विकारयुक्त रासायनिक पदार्थहरू छालाका पत्रभित्र पस्छन् र समस्या निम्त्याउँछन्। यिनले छालाको पहिलो पत्रमा हुने भिटामिन ‘ई’ नाश गर्ने र तेल तत्वको सन्तुलन बिगार्ने अनुसन्धानले देखाउँछ। यसरी तेल र भिटामिन नाश हुँदा छाला सुक्खा, चमकहीन हुने र एलर्जीप्रति बढी कमजोर हुने गर्छ। घाम, हावा, रसायन र कस्मेटिकको एलर्जी आजभोलि निकै बढ्दो छ।
चीनमा गरिएको अनुसन्धानले भने कतिपयमा छाला धेरै चिल्लो हुने देखिएको छ। यो चिल्लोपना प्राकृतिक रूपले नभई छालाको काँचुली फेर्नमा प्रदूषणले पु¥याउने बाधाले र तेल ग्रन्थि बन्द गर्ने कारणले हुने देखिएको छ। तेलग्रन्थि थुनिँदा डन्डीफोरको समस्या धेरै बढ्न सक्छ। सहरी धुवाँधुलो र सवारीबाट निस्कने धुवाँले कालो दाग लगायतका समस्या बढाउँछ। यसैगरी दीर्घकालमा छिट्टै चाउरी पर्ने र क्यान्सरको जोखिम बढ्ने देखिएको छ। कत्लेरोग र एलर्जीका समस्या पनि दिनँहु बढ्दो छ।
यी विभिन्न समस्याबाट बच्न छालालाई सधैं सफा राख्ने, नियमित मोइस्चराइजर र सनक्रिम प्रयोग गर्ने गर्नुपर्छ। बाहिर निस्कँदा पूरा बाहुला भएको लुगा लगाउने र राम्रो किसिमको मेडिकल मास्क लगाउने गर्नुपर्छ।
दिउँसोको प्रचण्ड घाम र प्रदूषणको समयमा बाहिरी काम सकेसम्म कम गर्ने र घरभित्र एयरफिल्टर वा हावा सफा गर्ने यन्त्र जडान गर्ने सल्लाह पनि विशेषज्ञले दिनछन्। विभिन्न अन्तर्राष्ट्रिय मेडिकल सर्वेक्षणका अनुसार कोठाभित्र बस्दा झ्याल ढोका लगाएर बस्ने र घना सवारी आवतजावत हुने प्रमुख सडकहरूबाट घरहरू टाढा बनाउँदा पनि स्वास्थ्यमा पर्ने जोखिमलाई न्युनीकरण गर्न सकिन्छ।
(डा श्रेष्ठ धुलिखेल अस्पतालमा कार्यरत छिन्।)