खत वा दाग मानव शरीरको जुनसुकै भागमा देखिन सक्छ । शरीरमा कुनै चोटपटक लागेको घाउ पुरिने क्रममा त्यस्ता खत वा दाग देखा पर्ने गर्छ । त्यस्ता खत वा दाग विशेषगरी राम्रा र नराम्रा गरी दुई प्रकारका हुन्छन् । यसलाई नै मेडिकल भाषामा केलोइड भनिन्छ । यस्तो दागले कुरूप देखाउन सक्छ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ ।
यसरी हुन्छ काने केलोइड
– घाउ पुरिने क्रममा कोलाजेन नामक तवको उत्पादन अत्यधिक हुन्छ । जसका कारण शरीरमा खत बस्ने गर्छ । यसैलाई भनिन्छ, ‘केलोइड’ ।
– केलोइड शरीरका प्रायः सबै बाहिरी अंगमा देखा पर्न सक्छ । काने केलोइडले अझ समस्या सिर्जना गर्छ । यस्तो दागले अनुहारको सौन्दर्यमा नकारात्मक असर पु¥याउँछ । नेपाली संस्कृतिमा बच्चा जन्मेपश्चात् उसको कान छेड्ने चलन छ । जसका कारण काने केलोइड हुने सम्भावना अझ बढी हुन्छ । केलोइड गोरो वर्णभन्दा कालो वर्णका मानिसमा बढी देखिने गर्छ ।
लक्षण
– काने केलोइड हेर्दा पञ्जाजस्तो आकारमा छालाभन्दा माथि उठेको भाग हो ।
– यो समय–समय लम्बिँदै जाँदा आकारमा पनि वृद्धि हुँदै जान्छ ।
– यसरी छालाभन्दा माथि उठेको खतको भागमा अत्यधिक चिलाउनेजस्ता समस्या पनि हुन्छ ।
– यस्तो प्रकारको खत शरीरका अन्य भागमा पनि फैलँदै जाने हुन्छ ।
उपचार विधि
– काने केलोइडको विभिन्न विधिबाट उपचार गरिन्छ । यसलाई अप्रेसन गरेर पनि फाल्न सकिन्छ ।
– त्यस्तै, यसलाई न्यूनीकरण गर्नका लागि सुईको प्रयोग गर्न सकिन्छ ।
– छाला सेकाउने विधिबाट पनि खतलाई कम गर्न सकिन्छ ।
– औषधिको प्रयोगका साथै सिलिकन टाँसेर पनि खतलाई कम गरिन्छ ।
– जुनसुकै पद्धतिमा गए पनि यसको उपचार निकै जटिल हुन्छ । किनभने, एकपटक निको भइसकेको काने केलोइड पुनः पलाउने सम्भावना पनि उत्तिकै हुन्छ ।
र, यो पनि
प्रायः चोटपटक या घाउखटिराका कारण मानिसको शरीरमा खत बस्ने गर्छ । काने केलोइडबाट बच्ने सबैभन्दा उत्तम विकल्प भनेको सकेसम्म चोटपटक लाग्न नदिने र चोटपटक वा घाउखटिरा भइहालेमा समयमै उपचार गरी निराकण गर्नु हो ।