भिटामिन डि हाम्रो शरीरको लागि अत्यावस्यक भिटामिनहरु मध्ये एक हो । भिटामिन डि को मुख्य स्रोत भनेको सूर्यको किरण नै हो। सूर्यको किरणमा भएको अल्ट्रा भायोलेट किरणको मद्धतले हाम्रो छालाले भिटामिन डि बनाउँछ। यसको अर्को स्रोत भनेको माछा, अण्डा, दूध , च्याउ, कोड लिवर तेल आदि खानेकुरा हुन्। बदलिदो समयसँगै आजकल घाममा बस्न मन नपराउने वा व्यस्तताले नभ्याउने जमात बढ्दै गएको छ । साथसाथै बजारमा छ्याप छ्याप्ती पाइने रेडिमेड न्युन पोषकतत्व भएका खानेकुरा खाने बानीले भिटामिन डिको कमी हुनेको संख्या बढ्दै गइरहेको छ। थुप्रै पश्चिमा देशहरुमा कुल जनसंख्याको लगभग ४० प्रतिशत भिटामिन डिको कमिले प्रभावित भएको तथ्य बाहिर आएको छ तर नेपालमा भने भिटामिन डिको कमि र त्यसको जोखिमसँग सम्बन्धित देशव्यापी आधिकारिक अनुसन्धान हुन बाँकि नै छ।
भिटामिन डि : के हो काम ?
पहिले भिटामिन डिको मुख्य भूमिका भनेको हाम्रो शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाउने र हाम्रो हड्डीलाई मजबूत बनाउने भन्ने बुझिन्थ्यो तर केही वर्षयताको अनुसन्धानहरुबाट भिटामिन डिको सम्बन्ध अरु विभिन्न समस्या जस्तै: रोग प्रतिरोधात्मक शक्ति, मोटोपन, सुगर, मुटुरोग र केहि क्यान्सरसँग पनि रहेको खुल्दै गएको छ।
भिटामिन डिको जाँच कसरी गरिन्छ ?
भिटामिन डि को जाँच गर्दा चिकित्सकको परामर्शमा गर्नुपर्छ । यो जाँच गर्दा जुनसुकै बेला पनि नमूना (रगत ) दिन सकिन्छ। खाली पेट हुन पर्दैन।
भिटामिन डि: कति हुनुपर्छ ?
भिटामिन डिको मात्रा हाम्रो शरीरमा कति छ ? भनेर तिनटा बर्गिकरण गरिन्छ :
कम (deficient) : < 20 ng/mL
अपर्याप्त (Insufficient) : 20-29 ng/ mL
पर्याप्त ( Sufficient) : 30-100 ng/mL
भिटामिन डिको कमी : जोखिम मा को ?
बिशेष गरि बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, ६० वर्ष काटेका बृद्ध बृद्धा यसको जोखिम मा रहन्छन्।
भिटामिन डि :कमी भएमा के गर्ने ?
यदि भिटामिन डिको जाँच गर्दा अपर्याप्त देखिएमा चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ। भिटामिन डि एकवर्ष भन्दा मुनिकालाई दैनिक ४०० आइयु र एक वर्षभन्दा माथिकालाई दैनिक ६००आइयु जरुरी पर्छ। भिटामिन डिको संश्लेषण गर्नका लागि दिउसोको मध्ये घाममा २०-२५ मिनेट बस्ने, सकेसम्म शरीरको धेरै भन्दा धेरै भागको छाला नछोपिकन घाममा सेकाउने गर्न सकिन्छ।तर यसो गर्दा घामले छाला डढ्ने हुनाले हल्का सनस्क्रिन लगाउन सकिन्छ।
सम्बन्धित निकायको भूमिका के?
भिटामिन डिको बारेमा राष्ट्रब्यापी जनचेतना अभियान चलाउने, विभिन्न खानेकुरा बिशेषगरि दुध र अन्नमा भिटामिन डिलाई समावेश गरिबिक्रि गर्ने र जोखिम न्यूनीकरण तिर लाग्न मार्गनिर्देश गर्नु पर्दछ।
प्याथोलोजिस्ट डा मैनाली लाइफ लाइन अस्पताल, दमक, झापामा कार्यरत छन् ।