पेटायन एक वर्षकी पुगिन्। उनका दुई जना पिता छन्।
अचम्म नमान्नुहोला, तीमध्ये एकले उनलाई जन्म दिएका हुन्।
अब त पिता नै उनकी आमा हुन्। पेटायनले यस्तो परिवार पाएकी छिन्, यसलाई परम्परागत समाजले सजिलै स्विकार्नै सक्दैन।
पेटायनका २५ वर्षीय पिता ट्यानर समलिंगी हुन्। उनी महिला भएर जन्मिए पनि टिनएजमा प्रवेश गरेलगत्तै पुरुषमा आफूलाई रुपान्तरण गर्न थाले। ट्यानर भन्छन्, ‘म महिलाको शरीरमा पुरुष भएर जन्मिएको थिएँ।’
उनका जीवनसाथी तथा पेटायनका पिता ३५ वर्षीय डेविड पनि समलिंगी पुरुष हुन्। दुवैले सन्तान प्राप्त गरेकोमा जीवनकै सुन्दर क्षणको रुपमा लिएका छन्।
‘उनी बिलकुल फरक घरमा हुर्कनेछिन्,’ डेविड भन्छन्, ‘हामीले उनलाई फरक किसिमका मानिसबाट घेरेका छौँ।’
०००
ट्यानर अटो पार्टसमा काम गर्छन् भने डेविड एक इन्स्युरेन्स कम्पनीमा। त्यति मात्र होइन दुवै न्युयोर्कमा आफ्नो घर नजिकैको लोकल क्लबमा ड्रयाग पर्फर्मरको रुपमा काम गर्छन्। ड्रयाग पर्फर्मर भनेको महिला/पुरुषको भेष धारण गरी अभिनयद्वारा अरुलाई मनोरन्जन दिनु हो।
यी दुवैको गोपनीयताको कदर गर्दै यसमा उनीहरुको पूरा नाम उल्लेख गरिएको छैन।
ट्यानरले गर्भवती भएको त्यतिबेला थाहा पाए जतिबेला उनलाई वाकवाकीले सताउन थाल्यो। उनले त्यतिबेला पुरुष हार्मोन टेस्टोसटोरनको डोज लिएका थिएनन्।
सुरुदेखि सन्तानको चाहमा रहेका डेविड र ट्यानर दुवै जना चकित परे। ‘यसरी हामीले सन्तान प्राप्त गर्नु जस्तो सौभाग्य हाम्रो समाजमा अरुले पाउँदैनन् होला,’ डेविड प्रफुल्ल मुद्रामा भन्छन्।
अल्ट्रासाउन्डको बेला पहिलो पटक जब उनीहरुले भ्रुणको मुटुको धड्कन सुने, उनीहरुको आँखाबाट आँसु आएको थियो। ‘त्यो दिन एकदम सफा थियो, जिन्दगी नै परिवर्तन गर्ने खालको दिन,’ डेविड यसरी सम्झिँदै भन्छन्।
ट्यानर भन्छन्, ‘सुरुमा त उनी सानो बदाम जस्तै देखिएकी थिइन्। अहो, पछि त बदाम जस्तो मान्छे बच्चामा परिणत हुँदै गइन्।’
ट्यानरलाई गर्भ छउन्जेल टेस्टोसटोरन छोड्नुपरेको थियो। तर आमा बन्न लागेपछि महिला जस्तो देखिने र महिलाकै पहिरन लगाउन कुनै इच्छा भने थिएन।
उनी आफ्ना साथीहरुलाई धक फुलाएर भन्थे, 'हो, म गर्भवती पुरुष हुँ।’ उनको कुरा सुनेर सबै आश्चर्यचिकत हुन्थे। ‘हो म गर्भवती छु तर म पुरुष नै हो, यदि तिमीहरुलाई कुनै समस्या छ भने मेरो जिन्दगीबाट गइहाल,’ ट्यानरको जवाफ यस्तो हुन्थ्यो।
ट्यानरलाई पुरुष जस्तै देखिन धेरै वर्ष लाग्यो। उनी टमब्वाय थिए। केटा साथीहरुसँग संगत गर्ने र उनीहरुसँग फुटबल खेल्न उनलाई निकै मनपर्थ्यो। ‘मलाई जहिल्यै पनि म फरक छु भन्ने लाग्थ्यो,’ उनी भन्छन्।
०००
यौवनास्थामा आउने परिवर्तन जस्तै स्तन वृद्धि उनलाई सकसको रुपमा रहेको थियो। त्यसपछि उनी केटाहरुसँग सर्ट खोलीखोली फुटबल खेल्न नपाउने भए। ब्रा लगाउँदा उनी रोएका थिए। यसकारण उनी डिप्रेसनको सिकार पनि हुने पुगे। उनलाई जेन्डर डिसफोरिया भयो, त्यो भनेको मानिसको आफ्नो पहिचान सोचाइ र शरीरसँग मेल नखानु हो।
उनको लागि त्यो एउटा क्षणिक युद्ध नै थियो। आफ्नै शरीरका कारण आफ्नै जीवनसित निराश हुनुभन्दा नराम्रो अरु के हुन्थ्यो? आफ्नो शरीरसँग निस्सासिएको जस्तो लाग्थ्यो उनलाई।
उनलाई महिलासँग आकर्षित भएको जस्तो महसुस हुन्थ्यो तर त्यस्तो सोच्नु उनको समाजको लागि स्वीकार्य थिएन तर पनि हाइस्कुलको पहिलो वर्ष उनी समलिंगीमा आफूलाई ढाले। सबैले बच-लेस्बियन भन्न थाले।
जब उनी हाइस्कूल पढ्न थाले उनलाई त्यहाँ केटीहरु केटा जस्तै बनेर प्रस्तुति दिएको देखे र मनमनै सोचे मैले पनि यस्तै केही गर्नुपर्छ।
आफ्नो पहिचान एक न एक दिन स्थापित गर्ने लक्ष्य लिएर उनले त्यस्तै प्रस्तुति दिने सोच बनाए। उनले आफ्नो स्तन छोप्नको लागि डक्ट टेपले दुख्ने भए पनि कसिलो बनाएर बेर्थे।
उनले आफू बस्ने समाजमा पुरुष जस्तै बाँच्ने कोसिस गर्न थाले र साथीभाइ अनि परिवारलाई पनि केटाकै सम्बोधन गरेर बोलाउन आग्रह गर्न थाले।
०००
केही वर्षपछि उनले टेस्टोसटोरन प्रयोग गर्न थाले। बिस्तारै उनको बोलीमा परिवर्तन देखा पर्न थाल्यो, अनुहारमा रौँहरु पलाउन थाले, महिनावारी पनि बन्द भयो। उनको बंगारा र घाँटी पनि बाँक्लिएको जस्तो देखिन थाल्यो। उनको शरीरको छालाको मोटाइ बढ्यो, बल्ल उनी पुरुष जस्तो देखिन थाले।
‘जब मैले आफूलाई त्यसरी पाउन थालेँ मलाई म फ्रि भएको जस्तो महसुस भयो। त्यो निर्णय मेरो लागि सबैभन्दा असल निर्णय थियो,’ उनले भने।
आफूलाई पुरुष ठान्ने ट्यानरलाई पुरुषसँगै प्रेममा पर्छु भन्ने कुनै आस गरेका थिएनन्, तर भइदियो उल्टो। उनी आफ्नो लामो समयदेखिको साथी डेविडसँग प्रेम गर्न थाले, जो समलिंगी नै हुन्।
बाइसेक्सुअलदेखि लेस्बियन, ड्रयाग किङ, ट्रान्स म्यान, गे म्यान त्यसपछि प्रेग्नेन्ट म्यानसम्म आइपुगेका ट्यानर हाँस्दै भन्छन् ‘मैले त एलजिबिटीआईको सबै अक्षरभित्र पर्ने रहेछु।’
गर्भवती भएपछि ट्यानरको पेट बढ्दै जाँदा उनी धेरैजसो समय घरमै बिताउँथे। ‘पुरुष गर्भवती भएको भनेर कसैले मलाई बिल्ला उडाउन नपाओस् भनेर बाहिर निस्कँदैनथेँ, मलाई कसैले योत्यो भनेर सताओस् भन्ने चाहना थिएन,’ उनले भने।
बाहिर जानैपर्ने अवस्था आउँदा उनी ह्वांलंग परेको ठूलो हुडीमा निस्किन्थे, जसले पेट मज्जलो ढाक्थ्यो।
०००
आफ्नो स्तनलाई जहिल्यै घृणा गर्ने उनले पेट बढेसँगै स्तनको आकार पनि वृद्धि भएकाले कसिलो स्पोर्टस ब्राको प्रयोग गर्थे ताकि स्तन ठूलो नदेखियोस्।
बच्चाका लागि राखिएको बेबी शावर समारोहमा १५० जति पाहुनाहरु आएका थिए। उनीहरुले यति धेरै डाइपरहरु ल्याइदिएका थिए कि उनलाई महिनौँसम्म बच्चाको लागि केही किन्नुपरेन।
‘गर्भवती हुनु गाह्रो रहेछ, मैलै मजा लिन सकिँन,' उनले भने, 'त्यसको दु:ख मैले आफूसँगै राखेँ।’
डाक्टरको लागि परामर्श लिन जाँदा बाहिर वेटिङ रुममा बस्दा त्यहाँ आएका बिरामी विशेषत: बूढी आमाहरुले उनलाई अनौठो पाराले हेर्नै गर्दथे।
गर्भवती अवस्थामा उनले मुटु पोल्ने तथा वाकवाकी लाग्ने धेरै हुन्थ्यो। त्यसबाहेक गर्भवास्थामा हुने डरलाग्दो अवस्थासँग जुध्न पुगे। प्रि इकलामसिया पनि भएको थियो उनलाई। रक्तचाप निकै बढेकाले बच्चा जन्माउन सजिलो भएन।
शुक्रबार डेट दिइएकोमा करिब एक हप्ता उनले बेथा खपिइरहे। उनलाई दुखाइ धेरै नहोस् भनेर सुई पनि नलगाइएको होइन तर त्यसले काम गरेन। र, सोमबार त्यो दिनको प्रतीक्षाको घडी सक्कियो।
नर्सले डेविडलाई सोधिन्, ‘नाल काट्न चाहनुहुन्छ?’
डेविड भन्छन्, ‘नाल त रबर ब्यान्ड जस्तो लागेको थियो, बच्चा हातमा समाउँदा हामी दुवै रोयौँ।’
जन्मदर्तामा ट्यानर पेटायनको आमा भन्ने उल्लेख गरिएको थियो। तर डेविड आशावादी छन्, कि त्यसमा दुवैलाई पिताकै रुपमा लेखियोस्।
ट्यानरले महिला जस्तै सन्तानलाई स्तनपान गराउन सकेनन्। उनले सन्तान जन्म दिएको केही महिनापछि टप सर्जरीमा गए र स्तन हटाइदिए। अहिले फेरि टेस्टोस्टोरन प्रयोग गर्न थाले।
टेस्टोसटोरन प्रयोग गरेपछि फेरि एक प्रकारको आनन्द र डिप्रेसनबाट मुक्त भएको जस्तो आभास भयो उनलाई। ट्यानर भन्छन्, ‘त्यो प्रयोग गरेपछि मलाई मानसिक हिसाबले खुसी दिएको महसुस भयो।’
०००
उनीहरुलाई अर्को सन्तानको पनि इच्छा छ। डेविड आशावादी छन्, ट्यानर एक दिन फेरि गर्भवती हुनेछन्।
ट्यानरलाई भने कहिले फेरि सन्तान जन्माउने मन हुन्छ, कहिले सोचै त्यागिदिन्छन् किनकि उनी डिसफोरियाबाट पिडित छन्। उनीहरुलाई कहिलेकाहीँ बच्चा अपनाउन पनि मन लाग्छ।
ट्यानरका पिता आफै ड्रमर हुन्। उनलाई पियानो, गिटार, ड्रम बजाउन सिकाएका थिए।
पेटायन पनि संगीतप्रति निकै चासो राख्ने भइसकेकी छिन्। उनी संगीतको हरेक धुन र तालमा रमाउँछिन्।
करिब ६५ जना मानिसहरुको उनको पहिलो जन्म दिन मनाए। एक जनाले उनलाई म्युजिकल इन्स्ट्रुमेन्ट गिफ्ट दिएका थिए। त्योभन्दा राम्रो जन्मदिनको उपहार पेटायनको लागि अरु के हुन सक्थ्यो?
‘म आशा गर्छु, ऊ आत्मनिर्भर बनोस् अनि करिअर पनि राम्रो होस्,’ डेविड भन्छन्, ‘ऊ लेस्बियन होस् भन्ने आशा गर्छु किनकि हामीले यहाँ महिलालाई भित्र्याउन पर्दैन र फेरि ऊ गर्भवती होला भनेर चिन्ता पनि मान्नु पर्दैन।’
ट्यानर चाहिँ पेटायन आम मानिस जस्तै होस् भन्ने चाहन्छन्। ‘यसरी हामी जस्तो भएर बाँच्न गाह्रो छ। हामीले समाजमा आफूलाई सुरक्षित महसुस गर्दैनौँ,’ उनले भने।
- न्युयोर्क टाइम्सका लागि डेनिस ग्राडीले लेखेको फिचर, तस्बिर ज्याकी मोलोइ