डा केयुर गौतम प्याथोलोजिष्ट हुन् । सम्यक डायग्नोस्टिकका अध्यक्ष डा गौतम फुटबललाई बेहद प्रेम गर्छन् । काठमाडौँको न्युरोडमा जन्मिएका उनको फुटबलसँग पिरति भने अफ्रिका बसाइँमा गाँसियो । उनका बुवा कामको सिलसिलामा अफ्रिका रहेकाले उनी अफ्रिकामा हुर्किए । उनका बुवाले त्यहीँ उनलाई फुटबल खेल्न सिकाए । उनी बुवासँगै फुटबल खेल्न थाले।
६ वर्षको उमेरमा उनी काठमाडाैं फर्किएर सेन्ट जेभियर्स स्कुलमा पढ्न थाले । त्यहाँ पढाइका साथसाथै एक्ट्रा एक्टिभिटिजमा पनि सहभमागी हुनुपथ्र्यो । डा गौतमले फुटबल र भलिबल रोजे । उनी स्कुलमा हुने प्रत्यक फुटबल प्रतियोगितामा भाग लिन्थे।
उच्च शिक्षा अध्ययनका लागि उनी फिलिपिन्स पुगे । त्यहाँ पनि उनीबाट फुटबल टाढिएन । थुप्रै इन्टर कलेज फुटबल प्रतियोगितामा भाग लिने मौका मिल्यो उनलाई । ‘फिलिपिन्समा पढ्दा त्यहाँको स्वतन्त्रता दिवसको दिन नेशनल टिम आर्मीका टिमसँग फुटबल खेलेको छु,’ उनी सम्झिन्छन्।
फिलिपिन्समा ९ वर्ष बस्दा उनले थुप्रैपल्ट फुटबल प्रतियोगितामा सहभागी हुने मौका पाएका छन् । फिलिपिन्सबाट फर्किएपछि उनी काममा व्यस्त हुन थाले । यो अवस्थामा फुटबल खेल्न छाडिएला भन्ने उनलाई पीर थियो । त्यसैले उनले अफिसकै कर्मचारीहरुसँग दुईहप्ताको एकपल्ट फुटसल खेल्ने योजना बनाए । त्यही अनुसार ८ वर्षदेखि फुटसल खेलिरहेका छन्। उनी भन्छन्, ‘खेल्दा शरीर फिट रहनुका साथै भाइचाराको विकास हुन्छ ।’
सानैदेखि फुटबल खेलेपनि विजेता कहिल्यै हुन सकेनन् । ‘खेलेर पहिलो पुरस्कार जित्न भने सकिएन दोस्रो र तेस्रो भने भइयो,’ उनले भने।
जर्सी लगाएर हिँड्न उनलाई असाध्यै रमाइलो लाग्छ । सानोमा जर्सी लगाएर खुब घुम्ने गर्थे । अहिले पनि उनमा जर्सी मोह उत्तिकै छ । तर, पेशाका कारण जर्सी लगाउन पाउँदैनन् । शनिबार जर्सी लगाएर रहर मेट्ने गरेको उनले खुलाए।
अहिले विश्वकप निरन्तर हेरिरहेका छन् । अर्जेन्टिनाका समर्थक हुन् उनी । उनी मात्रै होइन, उनका छोरा पनि अर्जेन्टिनाका फ्यान हुन् । फुटबल खेल्न मात्रै होइन, बाबुछोरा सँगै बसेर फुटबल हेर्दा पनि जर्सी लगाउँछन्।
‘छोरालाई फुटबल खेल्न निकै मन पर्छ । फुर्सद हुँदासम्म बाबुछोरा बेलुकी एकघन्टा जर्सी लगाएर फुटबल खेल्छौं,’ उनले भने, ‘फुटबल खेल्दा छोरासँग नजिक भइन्छ।’
उनी अर्जेन्टिनाको फ्यान सन् १९९०देखि भएका हुन् । त्यो समय म्याराडोना फुटबलका हिरो थियो । उनको चारैतिर चर्चा थियो । उनकै बारेमा बढी सुनेपछि समर्थक पनि उनकै भए । अहिलेसम्म पनि अर्जेन्टिनालाई उनी समर्थन गर्छन् । त्यो समय उनी फुटबलमा बाजी समेत लगाउँथे । बुवाआमाले खाजा खान भनेर दिएको १० रुपैयाँ बाजीमा हारेर भोकै फर्केका क्षण पनि उनको स्मृतिमा छन्।
फुटबलको पूर्ण आनन्द लिएर हेर्छन् । आफूलाई मन पर्ने टिक र खेलाडीले गोल हान्दा उनलाई आफैंले हानेजस्तो महशुस हुन्छ । मन पर्ने टिमको खेल राति अबेर भएपनि हेर्छन् तर अरु टिमको भने अबेर रातिको हेरिरहेका छैनन्।