गर्दनको दुखाइ भनेको के हो?
टाउकोभन्दा तल र कुमभन्दा माथिको पछाडिपट्टिको भागमा भएको दुखाइलाई गर्दन (घाँटी)को दुखाइ भनिन्छ।
गर्दन दुखेको कसरी थाहा पाउने?
गर्दन चलाउन गाह्रो हुने, तल–माथि, दाहिने–देब्रे हेर्दा दुख्ने, हाततिर झमझमाउने, लाटो हुने, पोल्ने जस्ता समस्या भएमा गर्दनको दुखाइ हो भन्ने बुझिन्छ।
गर्दन दुख्ने कारण केके हुन्?
मांसपेशीका कारण : नियमित धेरैबेरसम्म मोबाइल/ल्यापटप/कम्प्युटर चलाउँदा, शिक्षकले कक्षामा लगातार पढाउँदा, अफिसमा धेरैबेर एउटै अवस्थामा काम गर्दा, विद्यार्थीहरूले लगातार अगाडि निहुरिएर पढ्दा मांसपेशी सम्बन्धी समस्याहरू जस्तैः मसल्स स्पाजम, मायोसाइटिस, फाइब्रोमाल्जिया, टेन्डरनेस हुन सक्छ। केही कारण बस चोट पटक लागेर मसल्स टिअर हुन सक्छ। यसका साथै सुत्ने बेलामा सिरानी नमिलेर वा अचानक धेरैबेरसम्म लगातार काम गरेमा मांसपेशीहरू कमजोर भएर गर्दन दुख्ने सम्भावना हुन्छ। गर्दन दुख्ने कारणमध्ये अधिक मात्रामा मांसपेशीकै कारणले भएको देखिन्छ।
हड्डीको कारण : भारी सामान टाउकोमा बारम्बार बोक्नाले, उमेर बढ्दै जाँदा हुने क्याल्सियमको कमीले वा मांसपेशीहरू कमजोर भएर हड्डी खिइने सम्भावना हुन्छ। गर्दनमा चोटपटक लागेर हड्डी फ्याक्चर हुन सक्छ। जन्मदेखि नै घाँटीमा थप हड्डी (सर्भाइकल रिब्स्) भएको छ भने त्यसका कारण पनि गर्दन दुख्ने समस्या हुन्छ।
नसाका कारण : नसाका कारणले देखिने समस्या जस्तैः सर्भाइकल स्पोन्डोलाइटिस्, स्पोन्डोलेस्थेसिस्, पिआइभिडी इत्यादिमा दुखाइभन्दा पनि हात निदाउने, पोल्ने, लाटो हुने र घाँटीदेखि हातसम्म सबैतिर दुख्ने हुन्छ।
गर्दन दुखेको समस्या भएमा फिजियोथेरापीमा कुन बेला जाने ?
गर्दन दुख्यो र असजिलो भयो भने फिजियोथेरापिस्टकहाँ जाने अथवा हाड जोर्नी तथा नसा रोग विशेषज्ञकहाँ गई रोगको निदान गराउनुपर्छ। फिजियोथेरापीमा रोकथाम, सावधानी अपनाउने तरिकाबारे जानकारी लिने र उपचार थाल्ने।
गर्दन दुखेको समस्या भएमा कति समयसम्म फिजियोथेरापी गर्ने ?
घाँटी दुख्ने समस्या भएको व्यक्तिले फिजियोथेरापिस्टको सल्लाह र परामर्श अनुसार उपचार गर्नुपर्ने हुन्छ । यसको कुनै निश्चित अवधि हुँदैन। फिजियोथेरापीले समस्या कम गर्नुका साथै अझै बढ्नबाट पनि जोगाउने हुनाले आफूलाई आवश्यकता अनुसार गर्ने।
फिजियोथेरापी कसरी गरिन्छ ?
- मसल्स स्पाजमले गर्दा दुखाइ भएकोमा तातोले सेकेर मायोफेसिअल रिलिज गरी अन्य टेक्निक जस्तैः निंगी, रोल्फिङ, ट्यापिङ्गसँगै स्ट्रेचिङ्ग गराइन्छ भने फेसिया टाइटनेसमा फेसियल रिलिज गरिन्छ।
- मांशपेशी कमजोर भई दुखेकोमा सो मांशपेशीलाई बलियो बनाउन स्ट्रेन्थेनिङ व्यायाम गराइन्छ।
- मसल्स टिअर भएकोले दुखाइ भएकोमा आइस प्याकले १५–२० मिनेट सेकेर दुखाइ कम गर्न आइएफटी मेसिनको प्रयोग गरिन्छ । च्यातिएको मांशपेशीलाई चाँडै निको पार्न अल्ट्रासाउन्ड मेसिनको प्रयोग गरिन्छ र मांशपेशी बलियो बनाउने अभ्यासहरू गराइन्छ।
- ट्रिगर पोइन्ट भएकोमा निंगी, आइसिङ र स्ट्रेचिङ गराइन्छ।
- हड्डी खिएको कारण दुखाइ भएमा तातोले सेकेर आइएफटी मेसिन लगाई मांसपेशी बलियो बनाउने अभ्यास गराइन्छ। हड्डीहरूलाई आफ्नो ठाउँमा तानेर राख्न मद्दत पुर्याइन्छ, जसले गर्दा अझै खिइनबाट जोगाइन्छ।
- नसा च्यापिएको कारण दुख्ने वा हात निदाउने भएमा ट्राक्सन मेसिनको प्रयोग गरिनुका साथै दुखाइ कम गर्न टेन्स मेसिन प्रयोग गरिन्छ। मांसपेशी बलियो बनाउन व्यायाम पनि गराइन्छ।
गर्दन दुखेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू :
गर्नुपर्ने :
- दुखाइ हुन्जेलसम्म नियमित फिजियोथेरापिस्टको परामर्श अनुसार मेसिन लगाउने
- दुखाइ कम भए पनि सिकाइएको व्यायाम नियमित गर्ने
- भनिएको सावधानीहरू ध्यानपूर्वक अपनाउने
- सर्भाइकल पिलोमा सुत्ने र व्यायाम गर्न प्रयोग गर्ने
- कार्यालयमा कुर्सीमा बसेर लामो समयसम्म काम गर्नुपर्दा ढाड र घाँटी अगाडि नझुक्नेगरी काम गर्ने
- बेलाबेला घाँटीलाई माथि तन्काएर हेने
- कम्प्युटरमा काम गर्दा कम्प्युटर र आफ्नो आखाँको लेबल बराबर राख्ने
गर्न नहुने :
- धेरैबेर अगाडि ननिहुरिने
- धेरै अग्लो वा धेरै पातलो सिरानीको प्रयोग नगर्ने
- गह्रौं सामान हातमा नबोक्ने
- मोबाइल/ल्यापटप जस्ता उपकरणको प्रयोग लामो समयसम्म गर्दा आफ्नो कम्मर र घाँटी अगाडि नझुकाउने
- दुखाइ भएको भागपट्टि थिचेर नसुत्ने
- हात टाउकोमुनि राखेर नसुत्ने
(घाँटीमा नसा च्यापिएर वा चोटपटक लागेर शल्यक्रिया गर्नुपरे त्यसपश्चात् पनि फिजियोथेरापी अनिवार्य गर्नुपर्ने हुन्छ।)
—डा सोनी न्युरो अस्पतालकी फिजियोथेरापी विभागीय प्रमुख हुन् ।