दसैंको समयमा गाउँभरी रंगीचंगी फूल फूल्ने भएकाले मलाई निकै रमाइलो लाग्छ। मेरो घर गोदावरी भएकाले गाउँभरी नै रंगीचंगी देखिन्थ्यो। फूल फूलेको देख्दा मनमा एक किसिमको उर्जा दिन्थ्यो । हामी गाउँभरी डुलेर यसको आनन्द लिने गथ्र्यौं । अहिले पनि हाम्रो घर वरिपरि ढकमक्क फुलहरु फुल्ने गर्छन् छुट्टै रमाइलो लाग्छ। 
दसैं सुरु भएदेखि नै घरको माहोल पनि रमाइलो बन्छ । सपरिवार मन्दिर जाने दुर्गा पूजा गर्न राम्रो लाग्छ। दसैंको बेलामा दुर्गा माताको प्रसाद ग्रहण गर्दा मनमा शान्ति मिल्छ।
सानोमा मलाई दसैंको समयमा पिङ देख्नै हुदैँनथ्यो। कतै पिङ हालेको छ भनेर जानकारी पाए लगत्तै दौडिन्थेँ ।  हाम्रो गाउँभन्दा माथी डाडाँमा ठुलो पिपलको रुख थियो, त्यहाँ हरेक वर्ष पिङ हाल्ने गरिन्थ्यो। 
त्यो पिङ खेल्न त्यो डाडाँसम्म पुगिन्थ्यो। पिङ खेल्न थालेपछि मलाई धेरै मच्याउनुपथ्र्यो।  आमाले गाली गर्नुहुन्थ्यो तर म मान्दिनथेँ। अहिले पनि कहिँ कतै पिङ देख्दा खेल्न मन लाग्छ। 
दसैंको बेलामा अर्को रमाइलो क्षण भनेको आफन्तहरुको घरमा जाने र आफ्नो घरमा आफन्तहरु आउँदा हुने भेटघाट हो।
सुरु सुरुमा डाक्टर बन्दा यस्ता पारिवारिक भेटघाट धेरै छुटेँ। हाम्रो मुख्य काम नै बिरामीको सेवा गर्नु हो। डाक्टर भइसकेपछि पहिला बिरामीको ज्यान बचाउनुपर्छ। त्यसपछि समय मिलेसम्म चाडबाड मनाउने हो।
दसैंको समयमा आकस्मिक परेर अस्पतालमा आउनुपर्दा धेरै पटक टिका लगाउन पाएको छैन। चिकित्सक भएको नाताले यी कुरा सामान्य रुपमा लिने गरेको छु।
कहिलेकाहिँ दसैंको बेलामा छिटो घर आउँछु भनेर घरबाट निस्किएको हुन्छु। तर अस्पतालमा आकस्मिक बिरामी आइरहेका हुन्छन्। जसका कारण घरमा पुग्न निकै ढिलो हुन्छ। त्यो समयमा श्रीमती सबैभन्दा बढी रिसाउँछिन्। 
म इन्टर्नसिप गर्ने समयमा त एक पटकको दसैंमा ४८ घन्टाको डिउटी परेको थियो। दसैंमा अरु सबै रमाइरहेको समयमा म त ४८ घन्टे डिउटीमा थिएँ। मेरो पेसा नै सेवामुखी भएकाले यसलाई मैले सामान्य रुपमा नै लिएको छु। बिरामीको जीवन बचाएर उनीहरुबाट आशिर्वाद पाउनु नै ठूलो कुरा हो। 
डाक्टरी पढाइको सिलसिलामा विदेशमा गएको छु। धेरै पटकको दसैं विदेशी अस्पतालमा पनि बितेका छन्।
(नेपाल मेडिसिटि अस्पतालमा कार्यरत न्यूरोलोजिस्ट डा पोखरेलसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)