दसैं– तिहारजस्ता ठूला चाडपर्वका बेला मानिस स्वभावैले रमाइलो अवस्थामा हुन्छ। रमाइलो गर्नकै लागि पिङ खेल्ने,तास खेल्ने, चंगा उडाउनेलगायतका क्रियाकलाप गरिन्छ।
चाडबाडमा बेला रमाइलो त गर्नुपर्छ तर रमाइलो गर्दा आफ्नो शरीरको पनि विशेष ध्यान दिनु जरुरी हुन्छ। दसैं–तिहारमा अधिकांश ग्रामीण क्षेत्रमा लिंगे पिङ खेल्ने गरिन्छ। पिङ खेल्दा लडेर हातखुट्टा पनि भाँचिन सक्छ। सहरमा बसिरहेका बच्चाहरु गाउँ जाँदा एकैचोटी पिङ खेल्न अभ्यस्त भइसकेका हुँदैनन्। उनीहरु पिंङबाट लडेर हातखुट्टा भाँचिएर घाइते हुनसक्छन्। जसले गर्दा पर्व नै प्रभावित बन्न सक्छ। त्यसैगरी बच्चाहरु दसैँ आउनेबित्तिकै छतमा या भिरमा गएर चंगा उडाउँँछन्। अग्ला ठाउँबाट चंगा उडाउँदा लड्न सक्छन्। त्यसैले अभिभावकले ख्याल गर्न जरुरी छ।
दसैंका बेला धेरै मादकपदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने खतरा पनि छ। दुर्घटनामा घाउ तथा चोटपटक लागि मृत्यु समेत पनि हुन सक्छ। हामीले सानो सावधानी पुर्याएर आफ्नो स्वास्थ्यको ख्याल राख्याँै भने यस्ता समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ।
धेरै बेरसम्म एकै ठाउँमा बस्दा घुँडाको समस्या पनि देखिने गर्छ। जस्तै घन्टौँसम्म पलेँटी कसेर तास खेल्दा,निहुरिएर काम गर्दा वा एकै ठाउँमा बसिरहँदा ढाडका समस्याहरु आउन सक्छन्। पछि गएर नसा च्यापिन सक्ने समस्या पनि देखिन सक्छ।
१५–१५ मिनेटको समयमा हिँडिराख्नुपर्छ। खुट्टाको नसा तन्काउनु पर्छ, त्यसले अलि सजिलो बनाउँछ। रगतको सञ्चार खुकुलो बनाउनुपर्दछ।
बसमा लामो यात्रा गर्दा पनि ढाडको समस्या तथा खुट्टा दुख्न सक्छ। लामो समयसम्म यात्रा गर्दा ढाड दुख्ने, खुट्टा दुख्ने हुन्छ। अझ मुढाहरुमा बसेर यात्रा गर्दा पनि हाडजोर्नीमा दुखाइ महसुस हुन्छ।
गाग्री बोक्दा या निहुरेर काम गर्नुपर्दा ढाडका समस्याहरु देखापर्न सक्छन्।
विशेषगरी बच्चालाई आफू नजिकै राख्नुपर्छ। चाडपर्वमा व्यस्त रहँदाबालबच्चाहरलाई एक्लै छोड्नुहँदैन। बच्चालाई एक्लै छोडिदिँदा उनीहरु लडेर चोटपटक लाग्न सक्छ।
अरु बेला सामान्य रुपमा गरिरहेका व्यायामहरु गर्न छाड्नुहुँदैन। नभए चिल्लोको मात्रा तथा अल्छीपना बढ्दा कोलोस्ट्रल तथा सुगरका समस्या पनि आउन सक्छन्।
चाडपर्वपछि धेरै मानिसहरु फ्याक्चरका समस्या लिएर आइरहेका हुन्छन्। सडक दुर्घटनाका केसहरु पनि आइराखेका हुन्छन्। खानपिनले हड्डीमा खासै असर नपारेपनि युरिक एसिड भएकाहरुलाई हाड जोर्नीमा असर पार्न सक्छ, त्यसैले खानपिनमा ध्यान दिनुपर्छ।