एउटा विश्वप्रसिद्ध जर्नलमा हालै प्रकाशित अध्ययनको रिपोर्टअनुसार क्षयरोग (टिबी) को संक्रमण गाउँ अथवा दुर्गमबाट सहरतिर सरुवा हुँदै गरेको देखिन्छ । गरिखाने उमेर समूह अर्थात् २५ देखि ५५ वर्षका त्यसमा पनि युवा, बढी शारीरिक परिश्रम गर्नेहरु तथा व्यापार–व्यवसाय गर्नेहरुमा क्षयरोगको संक्रमण बढी भएको रिपोर्टमा देखाइएको छ।
सहरमा रोजगारीको बढी सम्भावना, राम्रा तथा गुणस्तरीय शैक्षिक संस्थाहरु, औषधि–उपचारको राम्रो व्यवस्था, व्यापार–व्यवसायको सम्भावना, उद्योग तथा कलकारखाना, साथसाथै राजनीतिक र प्रशासनिक केन्द्र पनि भएकोले मानिसहरु हरेक दिन गाउँबाट सहरतिर बसाइँ सर्ने गरेको अध्ययनमा देखिन्छ।
त्यसैगरी नेपालमा पनि आर्थिक वर्ष २०७३२०७४ को वार्षिक रिपोर्ट हेर्ने हो भने यो अध्ययनसँग मेल खान्छ । राष्ट्रिय क्षयरोग केन्द्रको पाँचवटा विकास क्षेत्रको रिपोर्ट हेर्ने हो भने मध्यमाञ्चलमा सबैभन्दा बढी ६ हजार ७ सय ५५ जनामा क्षयरोगको संक्रमण देखिन्छ । त्यस्तै दोस्रोमा पूर्वाञ्चलमा २ हजार ९ सय ९८ जना र सबभन्दा कम सुदूरपश्चिमाञ्चलमा १ हजार ८ सय ७२ जना संक्रमण भएको देखिन्छ । त्यस्तै जिल्लाको अवस्था हेर्ने हो भने सबैभन्दा बढी काठमाडौँमा १ हजार २ सय ९१ जनामा, झापामा ६ सय ८१ जनामा तथा कैलालीमा ६ सय ३९ जनामा क्षयरोग संक्रमण भएको देखिन्छ । यदि काठमाडौँ उपत्यकालाई नै हेर्ने हो भने ललितपुर ३ सय ४३ जना र भक्तपुर ३ सय २५ जना समेत गरी जम्मा १ हजार ९ सय ५९ जनामा संक्रमण देखिन्छ, जुन पुरै सुदूरपश्चिमाञ्चल क्षेत्रभन्दा बढी हो।
जनसंख्याको वृद्धि साथसाथै दुर्गम जिल्लाबाट सुगम जिल्लामा बसाइँ सर्नेको संख्या पनि बढेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागअनुसार काठमाडौँ उपत्यकामा मात्र पुरै जनसंंख्याको २ सय ९५ अर्थात १०,८२,५९५ मानिस बसाइँ सरेको देखिन्छ, जुन आफैंमा धेरै बढी हो । यसरी दुर्गम अथवा गाउँबाट सहरमा बसाइँसराइ गर्दा हुने जनसंख्या वृद्धिले त्यस ठाउँमा सामाजिक, आर्थिक, वातावरणीय प्रभाव पार्नुका साथै बेरोजगारी सिर्जना हुन्छ भने आम्दानी तथा सामाजिक सुरक्षामा असर गर्छ । जसले गर्दा मानिसको दैनिक जीवनका साथसाथै व्यक्तिगत स्वास्थ्यलाई समेत प्रत्यक्ष असर गर्दछ । प्रशासनिक तथा सामाजिक–आर्थिक विकासमा खलबली पैदा गर्छ, जसको फलस्वरूप समाजमा बढ्ने भिडभाडले वातावरणीय सरसफाइ, स्वस्थ बसोबास, फोहोर बिसर्जनमा समस्या पैदा गर्छ । अर्कोतिर सरुवा रोग फैलाउन मद्धत गर्छ । जसले गर्दा देशमा छिट्टै रोग फैलन सघाउ पुर्याउँछ।
टिबी एक किसिमको जीवाणुका कारण हुने सरुवा रोग हो । यो स्वासप्रस्वासको माध्यमबाट सर्छ । यो रोगबाट गएको वर्ष २०१७ मा विश्वभरिमा १६ लाखभन्दा बढी मानिसको मृत्यु भएको रिपोर्ट 11 संगठनले सार्वजनिक गरेको छ । टिबी मानिसको मृत्यु हुने प्रमुख १० वटा रोगमध्ये पर्दछ, जुन अहिले पनि विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा रहेको छ।
नेपालमा पनि वर्षेनि यो रोगबाट ५ देखि ७ हजार मानिसको मृत्यु भइरहेको तथा अझै पनि दस हजारभन्दा बढी रोगी पहिचान गर्न छुटिरहेको तथ्यांकले देखाउँछ । त्यसैले अझै पनि टिबी नेपालको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालमा यो रोगबाट धेरै संक्रमित हुने क्षेत्र तराई तथा धेरैभन्दा धेरै गाउँबाट बसाइँसराइ भएका सहरी जिल्लाहरु रहेको आँकडाले देखाउँछ । त्यस्तै बढ्दो सहरीकरण र बसाइँसराइले गर्दा हुने सामाजिक–आर्थिक परिवर्तनले पनि क्षयरोग सार्न मद्दत गरेको छ । ठूला सहरमा आन्तरिक बसाइँसराइले पनि क्षयरोगको संक्रमण बढाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा अध्ययनले देखाइसकेको छ । त्यसैले क्षयरोग रोगथाम गर्नका लागि सहरलाई ठूलो चुनौती बनेको छ।
बसाइँसराइले हुने असर
व्यक्तिगतः
भिडभाडपूर्ण बसाइ तथा अव्यवस्थित कामकाज गर्ने ठाउँ
निम्न सामाजिक–आर्थिक अवस्था
एचआइभी÷एड्सलगायत अन्य सरुवा रोग बढाउन मद्दत
कुपोषणको सिकार बन्न मद्दत
सामाजिक रोकावट
भाषा, संस्कृतिक, अधिकार
बसाइँसराइको अवस्था
बसाइँसराइको चिन्ता
स्वास्थ्य जनचेतनाको अभाव
स्वास्थ्य उपचार गराउन सक्ने क्षमता
बसाइँ सरेर आएको मान्छेसँग गर्ने व्यवहार
आर्थिक असरः
सहरी छेत्रको बसाइँ महँगो हुने भएकोले स–परिवारको लागि उपचार खर्च धान्न नसक्नु
सरकारलाई स्वास्थ्य छेत्रको लागतमा वृद्धि गर्नुपर्ने भएकोले आर्थिक भार
सामाजिक तहमा आर्थिक उत्पादकत्व तथा करमा कमी
बढ्दो क्रममा रहेको बसाइँसराइका कारण सहरमा बढिरहेको क्षयरोगको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न व्यक्ति स्वयं, घरपरिवार, समाजहँुदै सरोकारवाला तथा यस छेत्रमा कम गर्ने संघसंस्थालगायत सरकारको ध्यान जान जरुरी देखिन्छ । देश संघीयतामा गइसकेको अवस्थामा सम्बन्धित गाउँपालिका, नगरपालिका, स्वास्थ्य संस्था, स्वयंसेवी संस्था तथा त्यस छेत्रमा बसोबास गर्ने व्यक्ति, समाजसेवी, बुद्धिजीवी, पत्रकार, नागरिक समाज, विश्लेषक, मानवअधिकारकर्मी, पत्रकार, राजनीतिक कार्यकर्ताबाट बसाइँसराइ रोक्न चाल्नुपर्ने कदमका बारेमा व्यापक छलफल र बहस हुनु जरुरी देखिन्छ।
बसाइँ सर्ने व्यक्ति तथा परिवारलाई सम्बन्धित गाउँपालिका र नगरपालिकाले स्वास्थ्य उपचार कार्ड बनाइदिएर त्यसमा व्यक्तिको स्वास्थ्यसम्बन्धी सम्पूर्ण अभिलेख राख्नु आवश्यक देखिन्छ । यसरी अभिलेख राख्दा आफ्नो वडामा बसोबास गर्ने मानिसको स्वास्थ्य अवस्थाबारे जानकारी रहन्छ । उसलाई कुनै किसिमको सरुवा रोग लागेमा समयमै पहिचान गरी उपचार गर्न सकिन्छ । त्यसरी अभिलेख राख्दा बसाइँ सरेर जाने व्यक्तिमा सरुवा रोग भए÷नभएको पनि सजिलै थाहा पाउन सकिन्छ । यस्तो व्यवस्था गर्दा रोगको रोकथाम गर्न प्रभाकारी नीति, नियम, कानुन, तथा लक्षित कार्यक्रम बनाउन समेत सहज हुन्छ।
(लेखक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको मेडिकल विभागमा कार्यरत छन् ।)