सुनकोशीमा यो पाँच वर्षमा कति हजार लिटर पानी बग्यो, त्यो एकिन गर्न कठिन छ। तर म एक चिकित्सक भएकोले पाँच वर्षमा डाक्टरसाबलाई नेपाली समाजले हेर्ने नजरमा निकै परिवर्तन आएको महशुस मैले गरेको छु।
आज भन्दा दशबीस वर्ष अगाडिसम्म गाउँघरका मानिस धामीझाँक्रीमा खूब विश्वास गर्थे । गाउँका केही टाठाबाठाहरु शहरतिर आफन्तलाई उपचार गर्न ल्याउँथे भने बहुसंख्यक गाउँलेहरु अकालमै ज्यान गुमाउँथे । मेरो बाल्यकालिन समयसम्म हरेक गाबिसमा कम्तिमा एउटा उपस्वास्थ्यचौकी भएपनि त्यो संस्थाप्रति विश्वास खाश थिएन । सेवा पनि खासै थिएन। चोटपटकको बेला टाँका लगाउन र खोप लगाउन बाहेक अरुबेला स्वास्थ्य चौकी र स्वास्थ्य संस्था बिरलै सम्झिन्थे उनीहरु। तर जो–जो काठमाडौंका अस्पतालसम्म पुगेका हुन्थे, उनीहरु डाक्टरका बारेमा खूब गफ हाँक्थे। भगवानको दर्जामा राख्थे । फाटफुट एनजिओबाट हुने स्वास्थ्य शिविरमा डाक्टरसाबहरु पुग्दा फूलमालाले झपक्कै पार्थे । असाध्यै सम्मान गर्थे । धेरै पछिसम्म उनीहरुको कुरा हुन्थ्यो । प्रसंशा हुन्थ्यो । त्यसबेला डाक्टर बन्ने खूब इच्छा जागेर आउँथ्यो, त्यो बाल मस्तिष्कमा।
हामी भन्दा बीसतीस वर्ष अगाडिका मानिसहरू अध्यात्मिक थिए /छन्। उनीहरुको पुस्तासम्मले डाक्टरलाई भगवानको दर्जामा राखे। उनीहरु भन्दा अगाडिका मानिसहरु धामीझाँक्री र मठमन्दीरको पूजामा नै सबै रोगहरुको निदान देख्थे तर उनीहरुले आधुनिक चिकित्सा बिधिबाट उपचार पाएका, ज्यान जोगिएको, दुखाइ हटेको, औषधिबाट पनि रोगको निदान भएको देखे । भुत लागे रोग लाग्ने र कुखुरा बोका बलि दिए भगवान खुशी हुने भन्ने भ्रममा हुर्किएका तिनै मानिसहरूले रोग निको पार्ने डाक्टरहरुलाई भगवानको दर्जा दिए।
तर, बिस्तारै त्यो सुनकोसीको पानी हिउँदमा घटे जस्तै मानिसहरुको सोच्ने क्षमतामा पनि ह्रास आउँदै गयो। नेपाली समाज सकारात्मक भन्दा नकारात्मकताबाट बढी पिरोलिँदै गयो। बाह्र वर्से युद्ध, गरिबी र चरम बेरोजगारीको समस्याबाट गुज्रिएको नेपालीहरुमा असीमित महत्त्वाकांक्षा, अस्वस्थ प्रतिस्पर्धा र क्रोधहरु बढ्दै गए । यस पचास–साठीको दशकमा धेरै परिवर्तनहरु भए। बहुदलीय ब्यबस्थाको उदय छयालीस सालमा भएसँगै एक मात्र आर्इओएम टिचिङ अस्पतालबाट बढेर अरु धेरै निजी तथा सरकारी संस्थाहरुबाट पनि चिकित्सकहरुको उत्पादन हुन सुरु भयो।
शहरहरुमा मात्र भेटिने, सरकारी अस्पतालहरुमा मात्र देखिने न्यून संख्यामा रहेको हाम्रा अग्रजहरु स्वास्थ्य सेवामा भित्रिएको ब्यापारीकरणले च्याउसरी उम्रिएका निजी अस्पताल र ती अस्पतालले दिने सेवा र लिने मेवामा मानवता कम र कठोरता ज्यादा हुँदै गयो। स्वास्थ्य सेवालाई ब्यापारीकरण गरिएसँगै बिरामी र उनीहरुका आफन्तहरु कुनै खरिद गरिएको सामान बिग्रिएको वा काम नगर्ने भएको परे पसलेसँग बाझेजस्तै चिकित्सकसँग ब्यवहार गरिरहेका, अपशब्द बोलिरहेका, हातपात गरिरहेका वा क्षतिपूर्तिको नाममा पैसा मागेका घटनाहरु बग्रेल्ती सुनिन्छन्।
म आफू मेडिकल कलेजमा भर्ना हुँदा करिब आठ हजारको संख्यामा रहेको चिकित्सक मैले एमबिबिएस पढाइ सकाएर निस्किदा करिब सोह्र हजार र हाल बाइस हजारको हाराहारीमा पुगेको छ र यो नेपालको स्वास्थ्य सेवा प्रबाहको लागि खुशीको कुरा हो। तर डाक्टरलाई भगवान भन्ने नेपाली समाज धेरै भगवानहरु पाउँदा खुसी हुनुपर्नेमा किन क्रोधपूर्ण, र्इर्श्यालू, चिकित्सक प्रति नकारात्मक हुँदैछ? जवाफ कठिन छ। डाक्टरहरुलार्इ भगवानको दर्जा दिनु नै गलत थियो कि! डाक्टरले जीवनलाई अमर हैन, बाँचुन्जेल स्वस्थ र मृत्युलाई केही पर धकेल्ने मात्र हो। सत्य हामीले नबुझेका हौं कि! तीस हजार कमाउन खाडी पुग्नुपर्ने देशका नागरिकले एपेन्डिक्सको अप्रेसन गर्न एक लाख बुझाउनु पर्ने भएर हो कि ! देशकै चौथो अंग भनिने सूचना तथा सञ्चारका सिपाही पत्रकारितामा स्वास्थ्य सेवा र मेडिकल साइन्सको आधारभूत तथ्य तथा सत्य समेत जानकार नभएका पत्रकार हरुको भीड बढेर हो कि ! हामीले दिने सेवाको गुणस्तरमा नै कमी आएर हो!
शुरुतिरै भने नेपालीहरुको चिकित्सकलाई हेर्ने नजरमा परिवर्तन आएको छ। अर्को पाटो झन् भययुक्त छ, डाक्टरहरु अचेल बिरामीको आफन्तबाट सशंकित छन्, आतंकित छ । अचेल बीर अस्पतालमा रेजिडेन्टको रुपमा काम गर्दा यो म आफैंले पनि महसुस गर्दैछु।
आज भन्दा चार पाँच वर्ष अगाडि नेपाल मेडिकल कलेजमा इन्टर्ननसीपमा काम गर्दा ठूला अपरेसन हुनु भन्दा पहिले बिरामीको नजिकको आफन्तबाट लिइने अति जोखिमपूर्ण मन्जुरीनामा यानिकी कुनै जोखिमयुक्त उपचार विधि सुरु गर्नुअघिको अनुमति पत्र अङ्ग्रेजीमा हाइ रिस्क कनसेन्ट अचेल उपचार बिधीको सामान्य अवस्थामा पनि धेरै लिने गरिन्छ।
वीर अस्पतालको इमर्जेन्सीबाट ६० वर्षको एकजना बिरामीलाई असाध्यै दमले च्यापेको, रगतमा हानिकारक ग्याँस कार्बनडाइअक्साइड बढेको, फोक्सोमा संक्रमण देखिएको र पहिले हर्टअट्याक समेत भएकोले आइसियुमा राखेर उपचार गर्नुपर्ने हाम्रो टिमको डाक्टरसाबले सुझाउनु भयो र बिरामीलाई, कृतिम श्वासप्रश्वास समेत गराउनुपर्ने हुन सक्ने बताइयो तर बिरामीको आफन्तले कृत्रिम स्वासप्रस्वास चाहिँ गराउन अनुमती नदिने बतायो । सोहीअनुसार बिरामीलाई आइसियुमा राखेर उपचार गरे पनि कृत्रिम स्वासप्रस्वास नगरे मृत्यु समेत हुन सक्ने बेहोराको अति जोखिमपूर्ण मञ्जुरीनामा बिरामीको छोरी र श्रीमतीलाई हस्ताक्षर गराउँदै भर्ना गरेर उपचार गरियो तर दुर्भाग्यवश बिरामीको मृत्यु त्यही कृतिम स्वास्प्रस्वासको लागि अनुमति नपाउँदा भयो।
तत्पपश्चात् तिनै बिरामीको आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आइसियु भित्रै होहल्ला मचाए। नेपालमा चलनचल्तीमा रहेको सबै गाली दिएपछि अस्पतालको सुरक्षा गार्ड र प्रहरीको सहयोग लिनु पर्योा, उनीहरुलाइ आइसियु कक्षबाट बाहिर पठाउन। तर हामीलाई नेपाल प्रहरीको सुरक्षाले हैन, त्यही एक पेजको बिरामीको आफन्तले हस्ताक्षर गरेको अति जोखिमपूर्ण मन्जुरीनामाले जोगायो।
त्यस घटनाले बिच्किएको म र सम्भवतः अनगिन्ती त्यस्तै घटनाहरु भोगेका, सुनेका, देखेका मेरा अग्रजहरु र मेरा सहपाठी डाक्टरसाबहरु 'अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ' भन्ने उखानको पात्र जस्तै भएका छौं। वार्डमा भर्ना भएका बिरामीको अवस्था थोरै मात्र बिग्रीए पनि बिरामीको उपचारमा भन्दा पहिले 'हाइ रिस्क कन्सेन्ट' (जोखिमपूर्ण मन्जुरीनामा)मै जान्छ । गर्न नमानेका आवश्यक जाँचहरु होस् वा आइसियुमा बस्नुपर्ने बिरामी र सामान्य वार्डमा राखिने बिरामी होस् 'हाइ रिस्क कन्सेन्ट' लेख्न तम्सिन्छु।
तर जोखिमपूर्ण मन्जुरीनामा लेख्न तम्सिने म र म जस्ता चिकित्सकलाई भन्दा यस प्रक्रियाले बिरामीलाई असर पारिरहेको छ। केही दिनअघि सिन्धुपाल्चोकबाट कडा दमबाट ग्रसित पच्चहत्तर बर्सिय पत्नीको उपचारका लागि एक बृद्ध आए । शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढेको जस्तो देखिएकोले हामीले ए बि जी भन्ने जाँच गर्न र वीर अस्पतालको आइसियु खाली नभएकोले बिरामी अन्त लैजान सुझायौं। वीर अस्पतालको मेसिन सो समयमा बिग्रएकोले नजिकैको कुनै प्राइभेट अस्पतालबाट सो जाँच गराउन अनुरोध गर्दा त्यो रातको दुई बजे बुढाबाले हात जोडदै आफूसँग पैसा नभएकोले र बाहिरको अस्पतालको आइसियूमा बिरामी लान नसग्ने बताए। त्यसैले हामीले त्यो बिरामीलाई सामान्य बेडमा राखेर उपचार गर्ने निधो गर्यौंन तर हाइ रिस्क कन्सेन्ट अर्थात् अति जोखिमपूर्ण मन्जुरीनामा लिएर मात्र।
'बिरामीको मृत्यु भए अस्पतालका कुनैपनि चिकित्सक वा कर्मचारीलाई दोष दिने छैन' भन्ने वाक्य पढेर सुनाउँदा बुढाबाको आँखा रसायो र चाउरी परेको हात कमाउँदै ल्याप्चे लगाए। मलार्इ भने नरमाइलो लाग्यो। मन गल्यो । अनेक कुराहरू सल्बल्याए । बुढीआमाको भर्ना र उपचार भन्दा नि त्यही मन्जुरीनामामा मस्तिष्क अड्कियो। एक मनमा त्यही बुढाबा जस्तै अगाडिका घटनाको पात्रहरु सम्झिएँ, जहाँ त्यही हाइ रिस्क कन्सेन्टलेनै हाम्रो शिर झुक्न दिएन। अनि अर्को मनले सोचें, यो सात दसकअघिको मानिसमा पनि विवेक हुँदैन र के गलत के सही छुट्याउने ? उनको भर्ना प्रक्रिया त्यही हाइ रिस्कले बिहानसम्म लम्ब्यायो।
माथिको केही प्रतिनिधि घटना मात्र हुन्। म आफैंले प्रत्येक दिन कम्तिमा एक दुईवटा मन्जुरीनामा लेख्छु। पहिले भन्दा प्रबिधि र बिज्ञानले धेरै विकसित बनाएको उपचार बिधिको भयरहित सेवा लिनबाट बिरामीहरु बन्चित भइरहेका छन्।
चिकित्सकहरु जानेको सीपज्ञान समेत प्रयोग गर्न हिच्किचाउने अवस्थाको विकास भएको छ। बिरामीको सही जाँच, सही उपचार, उपयुक्त बिधि र बिरामीलार्इ हुन सक्ने जोखिमको बारेमा सोच्नुपर्ने म र म जस्ता चिकित्सकहरुको मस्तिष्कमा हरेक समय भय, असुरक्षित महसुस गर्नुपर्ने, मन्जुरीनामा र कागजी प्रमाणको मिसावट भरिँदा बिरामीहरुको उपचारमै प्रत्यक्ष अप्रत्यक्ष असर परिरहेको छ।
डा सिंजाली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा इन्टरनल मेडिसिन रेजिडेन्ट प्रथम वर्षमा अध्ययनरत छन्।