जाडो मौसममा हावा सुख्खा हुने हुँदा छालामा विभिन्न समस्याले सताउँछ। जाडोको बेलामा दुःख दिने समस्यामध्ये हातखुट्टामा देखिने सोरियासिस पनि एक हो। सोरियासिस विभिन्न प्रकारका हुन्छन्। एउटा शरीरमा देखिने कत्ले रोग शरीरबाट माछाका कत्लाजस्ता जाने गर्दछ भने हातखुट्टामा देखिने सोरियासिस हातखुट्टाको मासु बाक्लो हुने, छाला चिरा पर्ने, रगत देखिने गर्दछ।
यो एक प्रकारको दीर्घ समस्या हो। एक पटक यो समस्या देखियो भने निर्मुल पार्न सकिंदैन । दीर्घ समस्या भएकाले हामीले यो समस्यालाई उपचारको माध्यमबाट रोकथाम गर्न सक्छौँ तर यो निर्मुल नै गर्न भने सक्दैनौं।
दीर्घ समस्या भएकाले यदि बुबाआमा दुवै जनालाई यो समस्या छ भने बच्चामा हुने सम्भावना ४० प्रतिशत हुन्छ। बुबाआमामध्ये एक जनामा छ भने यो समस्या बच्चामा हुने सम्भावना १५ प्रतिशत हुन्छ र दाजुभाइ वा परिवारमा कसैलाई छ भने यो समस्या हुने सम्भावना ६ प्रतिशत हुन्छ। विश्वमा हेर्ने हो भने यो समस्या जनसंख्याको २ प्रतिशतमा भएको अनुमान गर्न सकिन्छ।
के कारणले हुन्छ?
यो समस्या विभिन्न कारणले हुने गर्दछ। यो समस्या भएको जेकचाँज गरेपछि मात्र थाहा हुन्छ। धेरैजस्तो यो समस्या वंशाणुगत हुने भएकाले आमाबुबालाई भएको छ भने छोराछोरीलाई पनि हुने सम्भावना बढी हुन्छ। धेरैजस्तो यो समस्या ३०/४० वर्ष नाघिसकेपछि देखिन्छ। अन्य कारणमा साबुन, सर्फ जस्ता केमिकल धेरै चलाउने मानिसमा पनि देखिन्छ।
लक्षण
छाला बाक्लो हुने
बाक्लो छाला चिरा पर्ने
छाला रातो हुने
रगत आउने
चिलाउने
यो समस्या धेरैजस्तो हातखुट्टाका औँलामा देखिन्छ
उपचार
यो समस्यालाई औषधि उपचार गरेर निर्मुल पार्न गाह्रो हुने भएकोले औषधि गरिसकेपछि पनि बेलाबेलामा बल्झिन सक्छ। कुनै कुनैलाई दुई महिनामा पनि बल्झिन सक्छ भने कसैलाई २० वर्षपछि पनि यो समस्या बल्झिन्छ।
यो समस्या भैसकेपछि छालारोग विशेषज्ञको परामर्शमा हातखुट्टामा लगाउने मल्हम लगाउनुपर्छ। त्यसले पनि निको भएन भने खाने औषधि खानुपर्छ। यदि औषधि खाँदा पनि निको भएन भने आफ्नो पायक पर्ने अस्पतालमा गएर अल्टाभाइलेट लाइटमा सेकाएर थेरापी गर्नुपर्छ। तर, यति गर्दा पनि यो समस्यालाई पूर्ण रुपमा निर्मुल पार्न भने सकिँदैन।
बच्ने उपाय
परिवारमा यो समस्या छ भने बेलैमा सजग हुनु पर्दछ। धूमपान, मध्यपान सेवनबाट टाढै बस्नुपर्छ। हातखुट्टा धेरै सुख्खा राख्नु हुँदैन। हातखुट्टामा नरिवलको तेल लगाएर सकेसम्म आफ्नो छालालाई नरम राख्नु पर्दछ। जाडो मौसममा यो समस्या धेरै देखिने भएकाले पानी, साबुन, सर्फजस्ता केमिकलहरु धेरै चलाउनु हुँदैन।