नयाँ बानेश्वर निवासी १२ वर्षीय रचित खड्का (नाम परिवर्तन) लाई परामर्श तथा उपचारका लागि उनको परिवारले सिपीएच नेपालमा ल्याएका थिए।
परिवारका अनुसार उनमा २ हप्तादेखि श्वास फेर्न गाह्रो भएको महसुस हुने, लामो–लामो श्वास तान्ने, घाँटीमा केही अड्किएजस्तो अनुभव हुने, छाती भारी भएर आउने, मुटु धेरै ढुकढुक गरेको अनुभव हुने र डर लाग्ने, राति निद्रा नपर्ने समस्या देखा परेछन्।
रचित बानेश्वरकै एउटा विद्यालयमा कक्षा ९ मा अध्यनरत छन्। उनी सामान्यभन्दा बढी मात्रामा इन्टरनेट चलाउन थालेका छन्। सुरुमा विद्यालयको प्रोजेक्ट वर्कका लागि इन्टरनेट चलाउन थालेका रचित विस्तारै इन्टरनेट गेमको लतमा पर्दै गए।
हिजोआज उनकोे प्रायः समय इन्टनेटमा गेम खेलेरै बित्ने गर्दछ। उनले हजार, दुई हजार खर्च गरेर अनलाइन गेम किनेका छन्। परिवारले धेरै गेम नखेल्न भन्दा उनी पैसा खेर जान्छ भन्ने उत्तर दिन्छन्। उनले इन्टरनेट गेममा धेरै समय बिताएको देखेर परिवारले इन्टरनेट बन्द गर्ने, ल्यापटप र ट्याब्लेट नदिने, बाहिर घुम्न लैजाने पनि गरे। तर सबै प्रयास व्यर्थ भयो।
अहिले रचित जब इन्टरनेटमा खेल्न पाउँदैनन् तब उनीमाथि उल्लेखित लक्षणहरु देखिन थाल्छन्। हिजोआज उसको व्यवहारमा पनि धेरै परिवर्तन आएका छन्।
रचितमा छिटो रिसाउने, चिढिने, परिवारका सदस्यप्रति आक्रोश देखाउने, झर्कने, भुर्इंमा लडीबुडी गर्ने, भित्तामा मुक्काले हान्ने, टाउको ठोक्ने, खानामा अरुचि राख्ने, पढाइमा ध्यान नदिने जस्ता समस्या देखिएका छन्।
रचितका यी सबै समस्या सुनिसकेपछि उपचारमा संलग्न हामी (साइकोलोजिस्ट, साइकियाट्रिस्ट) उसलाई इन्टरनेट गेमिङ डिसअर्डर छ भन्ने निष्कर्षमा पुग्यौँ।
इन्टरनेट गेमिङ डिसअर्डर भएका व्यक्तिहरु प्रायः आफ्नो निद्राबाहेकको समयमा इन्टरनेट गेम खेल्ने सोचाइलाई कन्ट्रोल नै गर्न नसक्ने आवस्थामा पुग्छन्।
लक्षणहरु
इन्टरनेटमा गेम खेल्ने सोचाइ दिमागमा रहिरहनु।
सोचेको भन्दा बढी समयसम्म अनलाइन गेम खेल्नु।
गेम नखेली बस्न असमर्थ हुनु ।
इन्टरनेटमा गेम खेल्न नपाउँदा रिसाउनु, चिढिनु, छटपटी हुनु।
पारिवारिक सामाजिक सम्बन्धहरु बिग्रँदै जानु।
पढाइमा, काममा ध्यान नदिनाले असफलता व्यहोर्नु।
इन्टरनेटमा गेम खेल्नकै लागि झुटो बोल्नु।
यस्ता समस्याहरु समयमै समाधान नहुँदा पछि गएर मनोप्रास (एङजाइटी) मनोचिन्ता (डिप्रेसन), साइकोसिस जस्ता रोगहरु समेत निम्त्याउने सम्भावना प्रबल रहन्छ।
इन्टरनेट गेमिङ डिसअर्डरसँग सम्बन्धित भएर आउने अरु समस्या :
इन्टरनेट एडिक्सन (इन्टरनेटमा विभिन्न कामका लागि, मनोरञ्जनका लागि बढी समय खर्चनु)
साइबरसेक्स एडिक्सन (इन्टरनेटमा यौनजन्य कुराहरु हेर्नु)
साइबर रिलेसनल एडिक्सन (अनलाइन सम्बन्धहरुलाई प्राथमिकता दिने र आफ्नो साँचो सम्बन्धको वास्ता नगर्ने)
ग्याम्लिङ एडिक्सन (अनलाइन बाजी थाप्ने, सौदाबाजी गर्ने) उपचारका उपायहरु :
इन्टरनेट गेमिङ डिसअर्डर र यससँग जोडिएर आउने समस्याहरुको सही पहिचान गरी समयमै निमन उपचार प्रक्रियाहरु अपनाएमा यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ र यो लतबाट मुक्ति पाउन सकिन्छ।
मनोपरामर्श (कोग्नेटिभ विहेभीयर थेरापी)
मनोचिकित्सकको सल्लाह बमोजिमको औषधोपचार गर्ने।