अलौकिक शक्ति भएका मानिसहरु 'कमिक्स' र वैज्ञानिक आख्यानका विषयवस्तु हुन्।
तर केही मानिसहरूसँग हुने कतिपय विशेष क्षमता धेरैका लागि भने सपनाकै रूपमा रहेको हुन्छ।
कतै तिनलाई जेनेटिक म्युटेसन (वंशाणुगत उत्परिवर्तन) का रूपमा व्याख्या गरिन्छ भने कसैका सन्दर्भमा ती मानिसहरूले विशेष वातावरणमा कसरी आफूलाई अनुकूल गराउन सके भन्ने कुरा महत्त्वपूर्ण देखिएको छ।
यहाँ त्यस्ता पाँच उदाहरणमा विशेष क्षमताका कुरा गरिएको छ जुन हामीमध्ये निकै कमैसँग मात्र छ।
१. पानीमुनि स्पष्ट हेर्न सक्ने क्षमता
पानीमुनि आँखा खोल्दा हामी धेरैजसोले धमिलो देख्छौँ।
तर म्यानमार र थाइल्याण्डका एन्डमन तटीय क्षेत्रका मोकेन आदिवासी बालबालिकाहरू भने अपवाद हुन्।
यी टापुवासीहरूलाई समुद्री घुमन्ते भन्ने गरिन्छ। त्यसो किनभने उनीहरू वर्षमा धेरैजसो समय पानीमाथि छाप्रो बनाएर वा डुङ्गामै तैरिएर बस्छन्।
त्यसो गरेरै उनीहरूले समुद्री वनस्पति र जनावरहरू सङ्कलन गर्दै आफ्नो जीविका चलाउँछन्।
पानीमुनि स्पष्ट देख्न सक्नेगरी उनीहरूको आँखा कसरी अनुकूलन भएको छ भन्ने एउटा व्याख्या त्यो पनि हो।
भौतिकशास्त्रकै दृष्टिले एकपटक हेरौँ।
हावासँगको सम्पर्कमा, नेत्रपटलमा छिर्दै गर्दा प्रकाश प्रतिविम्वित हुन्छ जुन घनत्वका हिसाबले हावाको भन्दा बढी हुन्छ। तर पानी र आँखामा हुने तरल पदार्थको घनत्व लगभग उस्तै हुन्छ।
जसले गर्दा स्पष्ट दृष्टि दिनेगरी पर्याप्त प्रतिबिम्बको अभाव देखिन्छ।
पौडँदा लगाइने चश्माले आँखा र पानीको बीचमा खाली ठाउँ सिर्जना गरेर उक्त समस्या समाधान गर्छ।
सन् २००३ मा 'करेन्ट वायोलोजी' जर्नलमा प्रकाशित एक अध्ययन अनुसार मोकेन बालबालिकाको आँखामा पानीमुनि अनुकूलन हुने क्षमता छ।
त्यस्तो क्षमता डल्फिनसँग पनि हुनेगर्छ जसले विना कुनै समस्या पानीभित्र समेत स्पष्ट देख्नेगर्छ।
अर्को एउटा अध्ययनले समुद्रमा पानीबाहिर रहेर भालाका भरमा माछा मार्ने वयस्क मोकेनहरुमा भने बिस्तारै उक्त क्षमता गुम्दै गएको देखाउँछ।
२. ठिहिर्याउने चिसोसँग अभ्यस्त
मानव शरीरको सामान्य तापक्रम ३६.५ डिग्री सेल्सियसदेखि ३७.५ डिग्री सेल्सियसबीच हुनेगर्छ।
त्यसले अधिकांश मानिसहरू चिसोमा भन्दा तातो मौसममै बढी सहजता अनुभव गर्छन् भन्ने देखाउँछ।
तर उत्तरी ध्रुवमा बस्ने इनुइटहरू र उत्तरी रुसमा बस्ने निनेट्सहरू भने ठिहिर्याउँदो तापक्रममा पनि सहजताका साथ बस्न सक्छन्।
उनीहरूको शरीरले चिसोसँग बेग्लै तरिकाबाट प्रतिक्रिया जनाउने कारण ती जैविक रूपमै हामीभन्दा फरक छन्।
उनीहरूको छाला हाम्रो भन्दा तातो हुन्छ र पाचनप्रक्रियाको दर पनि उच्च। उनीहरूसँग पसिनाका ग्रन्थीहरू कम छन् र चिसोबाट कमै आत्तिन्छन्।
यस्ता चरित्रहरू पुरै वंशाणुगत नै हुन्। इनुइट वा निनेट बाहेकका अरू मानिसहरूमा उत्तरी ध्रुवमै दशकौँसम्म बस्दा पनि कठ्याङ्ग्रिँदो जाडो सहने क्षमताको विकास हुँदैन।
३. थोरै सुतेरै पनि चनाखो र सक्रिय
धेरैजसो मानिस हरेक रात सातदेखि नौ घण्टा सुतेपछि स्फूर्ति महसुस गर्न सक्छन्।
तर अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनले सन् २०१४ मा गरेको एक अध्ययनले पत्ता लगाए अनुसार एक अनुवंश परिवर्तन (जेनेटिक म्युटेसन) भएका मानिसले ६ घण्टाभन्दा कम सुतेरै आरामसाथ काम गर्न सक्षम बनाएको छ।
वंशाणुगत उत्परिवर्तन 'डीइसीटु' भएका मानिसहरूले अरूले भन्दा थोरै समय तर असाध्यै गहिरो निदाउँछन्। उनीहरू कम निन्द्रा पर्दा हुने समस्याप्रति प्रतिरोधी हुन्छन्।
निद्रा अभाव भएमा मानिसको एकाग्रतामा असर पर्छ।
त्यसका कारण मानसिक र शारीरिक स्वास्थ्य समस्याहरू देखिन्छन्।
तपाईँ ६ घण्टा भन्दा कम सु्त्नुहुन्छ र राम्रै महसुस गर्नुभएको छ भने विचार गर्नुहोस् है त्यसले तपाईँलाई कुनै दिन नराम्रो प्रभाव पार्ला नि।
अध्ययनकर्ताहरू के भन्छन् भने त्यस्तो वंशाणुगत उत्परिवर्तनले निकै कम मानिसमा मात्र देखिएको छ।
अध्ययन गरिएकामध्ये १ प्रतिशतभन्दा कमले मात्र रातमा छ घण्टाभन्दा कम सुत्न सकेका थिए।
४. बाक्ला हड्डी
बुढ्यौलीसैँग हड्डीको घनत्व पातलिँदै जानु सामान्य प्रक्रिया हो। तर कसैकसैमा यो प्रक्रिया निकै छिटो हुने गरेको उनीहरुमा खतरा बढ्न सक्छ।
तर कतिपय मानिसहरूमा हुने जेनेटिक म्युटेसनले दुर्लभ र उल्टो समस्या उत्पन्न गराउन सक्छ। 'स्केरोस्टेसिस' भनिने समस्यामा भने प्रभावित व्यक्तिको जीवनभर हड्डी बाक्लिँदै जाने समस्या देखिन्छ।
अमेरिकाको बोथेलस्थित सिरोसाइन्स रिसर्च एण्ड डेभलपमेन्टका वैज्ञानिकहरूका अनुसार त्यहाँको वासिङ्टन राज्यमा एसओएसटी वंशाणुले कसरी 'प्रोटिन स्लेरोस्टिन' भनिने हड्डी निर्माण गर्ने तत्वको उत्पादनमा असर गर्छ भन्ने पहिचान गरेको छ।
यस्तो ज्ञानले बुढ्यौलीमा हड्डी पातलिने समस्याको समाधान खोज्न सहयोग पुग्ने आशा राखिएको छ तर यसका पनि आफ्नैखाले समस्या छन्।
हड्डी बढ्दै मात्र गएमा शरीर भीमकाय बन्ने, अनुहारको कुरूपता र बहिरोपनको समस्या देखिन सक्छ।
यस्तो वंशाणुगत अवस्था डच भाषा बोल्ने अफ्रिकानेर भनिने दक्षिण अफ्रिकी समुदायमा देखिएको छ।
५. उच्च भू-भागमा बस्न सक्ने क्षमता
एन्डिएन समुदाय समुद्री सतहभन्दा ५ हजार मिटर माथिको उचाइमा बसोबास गर्छ।
उच्च पहाडी वा हिमाली क्षेत्रमा बाहिरका मानिसहरू बिरामी पर्नुको मुख्य कारण त्यहाँ अक्सिजनको अभाव हुनु हो जसको मात्रा समुद्री सतहभन्दा जतिधेरै माथि गयो त्यति कम हुँदै जान्छ।
उचाइमा अक्सिजन अभाव भएर बिरामी पर्ने वा लेक लाग्ने समस्याका लक्षणहरूमा झर्को लाग्नु, टाउको दुख्नु, रक्तचाप घट्नु र श्वासप्रश्वासमा समस्या आउनेजस्ता हुन्।
तर एन्डिज क्षेत्रका क्युचा र हिमालय क्षेत्रका तिब्बतीहरूमा गरिएको अध्ययनले भने प्राकृतिक छनौटको प्रक्रियाले कसरी वंशाणुगत ढङ्गबाट उच्च भूभागमा बस्न अनुकूल तुल्याएको हुन्छ भन्ने देखाएको छ।
समयक्रममा त्यस क्षेत्रमा बस्ने मानिसहरूको छाती ठूलो हुँदै गएको छ। त्यस्ले गर्दा उनीहरूको फोक्सोका लागि अलि बढी स्थान उपलब्ध हुन्छ र तिनीहरूले हरेक श्वासप्रश्वासमा धेरै अक्सिजन लिन सक्छन्।
जब अरू मानिसहरूले थोरै अक्सिजनका भरमा धेरै रक्तकोषहरू उत्पादन गर्छन् यी मानिसहरूमा त्यो कम हुन्छ।
किनभने उनीहरूमा यी वंशाणु चरित्रहरू हजारौँ वर्षको अन्तरालमा स्थापित भएका हुन्। हिमालका मानिसहरू बसाइँ सरेर तल्ला भेगमा गए तापनि त्यसमा परिवर्तन आएको देखिएको छैन।
(बिबिसी नेपाली)