फिचर

छोराको उपचारमा आएका एक पिताको भोगाइ– काठमाडौं हाम्रा लागि होइन रैछ ! 

कल्पना पौडेल

बैतडीको नरबहादुर विष्टलाई ४५ वर्षको उमेरमा देशको राजधानी दुःखले टेकायो। युवा उमेरमा भारतको बैंग्लोरसम्म पुगे। १० वर्ष त त्यहीँ काम गरे।

‘नेपालको राजधानी काठमाडौं कस्तो छ ?’ उताका उनका साथीहरु सोध्थे। 

‘तिमीलाई तिम्रो देशको राजधानी कस्तो छ थाहा छ ?’ उनको प्रतिप्रश्न हुन्थ्यो। 

बाहिर त्यसरी भनेपनि भित्रभित्रै उनलाई देशको राजधानी अवलोकन गर्ने रहर जाग्थ्यो। तर, रहर गर्दैमा घुम्न सकिहाल्ने आर्थिक हैसियतका उनी होइनन्। देशको राजधानी दर्शन गर्ने रहर मारेर बसेका उनलाई छोरा बिरामी भएपछि बाध्य भएर आउनुप¥यो। किशोवयको छोरा बिरामी हुँदाको दुःख छँदैछ, त्यसैमाथि काठमाडौं, काठमाडौंका गल्ली, घर र अस्पतालको अव्यवस्थाले उनलाई हैरान बनाएको छ।

‘न गल्ली नम्बर, न घर नम्बर, न सिधा गाडी जाने रुट यस्तो पनि शहर त्यो पनि राजधानी हुुन्छ र ?’ उनले आक्रोश पोखे। 

उनका १७ वर्षीय छोरा अशोकको कम्मरको नशा च्यापिएको समस्याले चार महिनादेखि उपचार गराइरहेका छन्। नेपालगञ्जमा चार महिनासम्म उपचार गराउँदा निको नभएपछि काठमाडौं आएका रहेछन्। यहाँ आएपछि उनलाई भारतको बैंग्लोर जस्तो ठेगाना स्पष्ट र गाडी रुट सोझो नभएपछि समस्या भएको रहेछ। 

‘यहाँ पनि उपचार गर्न सकिदैँन दिल्ली लैजानुस भन्दै छन्। फिजियोथेरापी गराइरहेको छ, एक सातापछि बल्ल के हुन्छ भन्ने थाहा हुन्छ,’ उनले सुनाए।  

नेपालगञ्जमा चारमहिनामा साढे तीन लाख रुपैयाँ सकिएको बताए। उनका छोरोको मेरुदण्ड सरेर सिधा भएर हिँड्न नसक्ने समस्या भएको चिकित्सकले बताएका छन्। 

‘दश कक्षामा पढ्दै गरेको छोरोको समस्या निको नहुने पो हो कि ?’ आशंका मिश्रित पीर दर्शाउँछन्। 

छोराको भविष्यप्रतिको चिन्ता छ– छिटो निको भए १० कक्षाको परीक्षा दिन पाउँथ्यो। 

कसरी भयो यस्तो ? उनले दुःख बिसाउन थालेपछि जिज्ञासा राखियो। 

उनले घटना सम्झिए, ‘बिहान तरकारी पकाउन तरकारी काटेर जुरुक्क उठ्न लाग्दा कम्मर करक्क भएको आवाज आएको भन्थ्यो।’ 

अशोकलाई सामान्य लाग्यो। बिहान आफैंले खाना बनाइ खाएर उनी स्कुल गए। बेलुका घर आउँदा त उनी बांगो हिँडेर आएजस्तो देखिन् उनकी आमाले। सोधिन्, ‘के भयो ? किन बांगो हिडेको?’

बिहानको घटना आमालाई भने। आमाले झारफुक गर्नेकहाँ लगिन्।। १५ दिन जति कुरे। बिसेक भएन। तर अब दुखाइ बढ्न थाल्यो। 

अशोकका बुवा मिस्त्री काम गर्न घर बाहिर थिए। आमाले घरको खबर सुनाएपछि उनी आए।

अलि ठीक भएजस्तो भयो,। उनी काममा फर्के तर फेरि दुखाई बढ्यो। उनले आफन्तसँग सल्लाह गरे छोराको समस्याबारे। धेरैले नेपालगञ्ज जाने सल्लाह दिएपछि उनी त्यतातिर लागे। 

डाक्टर जाँचेर नशा च्यापिएको बताऐ। विभिन्न उपचार, औषधि गर्दा चार महिना बित्यो। तर, सेकको बिसेक भएन।  ‘तर छोरो त झनझन बांग्गिएर पो हिड्न थाल्यो। दुखाइ बढेको बढ्यै भयो,’  उनले भने। 

यहाँको उपचारले हुदैँन भन्ने  लाग्न थालेपछि उपचारका लागि भारत लैजाने सोच बनाए  उनले। उनी भारतमै लामो समय बसेकाले त्यतै सहज हुन्थ्यो। जिज्ञासा राखियो– किन आउनुभयो त काठमाडौं ? 

‘हो नि, उता त सस्तो पनि सजिलो पनि छ हामीलाई। भाषा बुझ्न, काम गर्न तर उपचारमा विश्वास गर्न गाह्रो छ। भित्र जान दिन्न, मिर्गौला झिक्ने, अरु अंग झिक्ने दलाली आजकल बढेका छन्। बरु जति खर्चै लागोस् नेपालमै उपचार गर्ने घरसल्लाह भयो र यहाँ ल्याएँ,’ उनको जफाव थियो। 

‘यहाँ त निकै गाह्रो रहेछ, नयाँ मान्छेलाई,’ उनले निराशा पोखे। 

गल्ली नम्बर, घर नम्बर  मात्रै होइन, अस्पतालकै विभागहरु पत्ता लगाउन समेत मुश्किल परिरहेको रहेछ उनलाई। ‘अस्पतालमा  पनि उस्तै समस्या छ। सबै कोठामा नम्बर लेखेर यति नम्बर कोठामा जानुस् भनेको भए हामी जस्तालाई जिलो हुन्थ्यो,’ उनले भने, ‘खान र बस्न पनि निकै महंगो लाग्यो काठमाडौं।’

सिधै ओपिडि जानुस्। फिजियोथेरापी रुम जानुस्  भन्दा आफूलाई पत्ता लगाउन मुश्किल परेको अनुभव उनले सुनाए। सोधे पनि राम्ररी बुझाएर नभन्ने गरेको उनी बताउँछन्। 

उनले मनमा सजाएको सुन्दर काठमाडौं र उनले भोगेको अव्यस्थित काठमाडौं बिलकुल फरक छन्।  ‘काठमाडौं आउनु नपरेको भए बरु राम्रो हुन्थ्यो। देशको राजधानी राम्रो होला भन्ने भ्रममै ठिक थिएँ,’ देशप्रेमलाई यसरी प्रस्तुत गर्छन्।

‘बाहिरको विकास गर्नुभन्दा पहिले त राजधानीकै विकास गर्नुपर्ने रहेछ’ उनको सुझाव छ, ‘कम से कम राजधानी बाहिरबाट आउने जनतालाई आफू जानुपर्ने स्थानमा पुग्न सकोेस्। अस्पतालमा पनि सहज रुपमा सबै ठाउँमा जान सक्ने गरी व्यवस्था गर्नुपर्छ।’

उनले आफ्नो पीर यसरी सुनाए र हतारिँदै आफ्ना जान चाहेको ठाउँ सोधे। जाँदाजाँदै भने– काठमाडौं हाम्रा लागि होइन रैछ।’
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने