जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा जटिल घाउको सहज उपचारका लागि पहिलो पटक एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन) मेसिन जडान गरिएको छ।
लामो समयसम्म पनि निको नभएका घाउको उपचार छिटो र प्रभावकारी रुपमा गर्ने यो उपकरणले सहयोग गर्छ। प्राध्यापक डा नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि चिलीसहित विश्वका केही देशमा निकै प्रभावकारी भइरहेको छ।
नेपालमा भने दन्तरोग विशेषज्ञ डा सुशील कोइरालाको अगुवाइमा पुण्य आर्जन फाउन्डेसनले यो प्रविधि नेपाल भित्र्याएको हो। डा कोइरालले डा पिन्टोलाई नेपालमा ल्याएसँगै नेपालमा पनि यो प्रविधिमार्फत घाउको उपचार हुन थालेको हो।
हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि वरदान बन्दै गइरहेको उक्त उपचार विधि जुम्लामा पनि सुरु हुने भएको छ। यो मेसिनबाट बिरामीको आफ्नै शरीरबाट रगत निकालिन्छ र त्यसलाई विशेष प्रकारको उपकरणबाट स्वरुप परिवर्तन गरेर झिल्ली बनाइन्छ। उक्त झिल्लीलाई बिरामीको घाउमा लगाएर निको बनाउने काम गरिन्छ।
पछिल्लो समयमा लामो समयसम्म घाउ भएर संक्रमण भोगिरहेका बिरामीको मागलाई मध्येनजर गर्दै यो मेसिन जडान गरिएको अस्पताल निर्देशक धर्मराज गोसाईले जानकारी दिए।
उनका अनुसार यो मेसिन जडान भएपछि उपचारका लागि आउने बिरामीको संख्या बढेको छ। अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको सो मेसिनले यहाँका वर्षांैैदेखि निको नहुने घाउबाट प्रभावित बिरामीको उपचारमा मल्हम लगाउने काम गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगर यो मेसिनले जस्तोसुकै ठूलो घाउ निको गर्नसक्ने बताउँछन्। उनका अनुसार प्लेन ट्युवमा ९ एमएल रगत संकलन गरेर १२ मिनेट मेसिनमा घुमाउनु पर्छ। त्यसपछि बन्ने झिल्लीलाई अर्को उपकरणमा केही समय दबाएर घाउमा लेप लगाइन्छ।
जुम्ला अस्पतालमा यो मेसिन जडान गरेको एक साता भएको छ। मेसिन सञ्चालनका लागि जनरल सर्जन डा. सूर्यमान लिम्बु तालिम लिएर आइसकेका छन्।
के हो एलपिआरएफ?
मानिसको आफ्नै रगतमा भएका रक्ततत्वलाई स्वरुप परिवर्तन गराएर जटिल घाउको प्राकृतिक उपचार गर्न विकास गरिएको उपचार पद्धति हो यो। एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच इन फाइब्रिन) भनेको रगतमा रहेको रेशायुक्त सेता रक्तकण र प्लेटलेट हो।
चिलीका प्राध्यापक डा पिन्टोका अनुसार यो प्रविधिमा बिरामीको शरीरबाट निकालिएको रगतलाई विशेष प्रकारको उपकरणमा घुमाएर एक प्रकारको तन्तु बनाइन्छ। जुन झट्ट हेर्दा झिल्ली जस्तै हुन्छ। यो पातलो तर बलियो झिल्लीलाई निर्मलीकरण गरिएका मेडिकल सामग्रीको सहायतामा घाउमा राखिन्छ।
यो पद्धति कुनै पनि तन्तु (टिस्यु) जस्तै छाला, मासु, कुरकुरे हाड वा हड्डीका लागि उपयुक्त हुन्छ। सुरुमा यो रगत भए पनि यसलाई जीवित तन्तुका रुपमा बदलिएको हुन्छ र त्यसलाई घाउमा ‘ग्राफ्ट’का रुपमा प्रयोग गरिन्छ। जुन आवश्यकताअनुसार विकसित हुँदै जान्छ। यसमा छिट्टै विकसित हुने क्षमता हुन्छ र घाउसँग जोडिएका नसाबाट आएका रगतले आवश्यक पौष्टिक तत्व पाएर घाउ छिट्टै निको हुन्छ।
यसमा घाउको आकार अनुसार बिरामीबाट रगत निकालिन्छ। एउटा ट्युबमा ९ देखि १० एमएल रगत निकालिन्छ। एक पटकको घाउमा प्रयोग गर्न घाउको आकार हेरेर १२ वटा ट्युबमा रगत निकाल्न सकिन्छ। यो भनेको बढीमा १ सय २० एमएलसम्म हो। मानिसले एक पटक रक्तदान गर्दा ४ देखि ४ सय ५० एमएलसम्म निकाल्ने गरिन्छ।