२०७२ सालको दसैंछेक। राजधानीमा बसोबास गर्नेहरु धमाधम आ–आफ्ना घर फर्कंदै थिए। विस्तारै राजधानी पातलिँदै थियो। म पनि दसैं मनाउन आफ्नो घर पर्वत जाने हतारोमा थिएँ। म र मेरी बहिनीसँगै घर जाने तयारीमा थियौं।
म पर्वतबाट उच्चशिक्षा अध्ययनका लागि काठमाडौं छिरेको थिएँ। २० वर्षको उमेर, त्यतिबेला बानेश्वरस्थित सायम कलेजमा अध्ययनरत थिएँ।
साउन महिनादेखि तल्लो पेटमा डल्लो आएझैं महसुस भएको थियो। पेट भारी भएजस्तो अनुभव हुन्थ्यो। दसैंको किनमेल गर्न जाँदा पनि उभिन असजिलो भयो। सुरुमा त खासै वास्ता गरेको थिइनँ। तर दसैं मनाउन घर जाने तयारी गर्दैगर्दा भने मलाई कताकता डाक्टर जँचाउने मन भयो। दसैंमा मासु खान मिल्ने हो कि होइन भन्ने चिन्ता जो थियो। त्यसैले घर जाने दिन नजिकिँदै गर्दा बहिनीलाई लिएर म पाटन अस्पताल पुगें।
पाटन अस्पतालमा भिडियो एक्सरे गर्दा पेटमा डल्लो देखियो। नर्सहरुले कडा रोग लागेको हुनसक्ने बताए। नर्सका कुरा सुनेर नै मेरो मनमा चिसो पसिसकेको थियो। डरलाई मनमै दबाएर म भिडियो एक्सरेको रिपोर्ट बोकेर डाक्टरको कोठामा छिरें।
‘तपाईंलाई क्यान्सर छ, शल्यक्रिया गर्नुपर्छ, अभिभावक बोलाउनुस्’ रिपोर्ट हेरिसकेपछि डाक्टरले भनेका कुराले म निकै आत्तिएँ। म त्यहीं रुन थालें। त्यसपछिका केही दिन मेरा रोएरै बिते। डाक्टरले क्यान्सर रोग उपचार गरेपछि निको हुन्छ रुनु पर्दैन भनेर मलाई सम्झाएका थिए।
कलिलो उमेर, अभिभावक पनि साथमा थिएनन्। रुँदै बाहिर निस्किएर डाक्टरले भनेका कुरा सुनाउँदा बहिनी पनि निकै आत्तिएकी थिई।
डाक्टरले क्यान्सर डिम्बासयको हो वा पाठेघरको, पत्ता लगाउन रगत जाँच र सिटिस्क्यान गर्न भनेका थिए। तर, त्यसका लागि आवश्यक पैसा मसँग थिएन। बहिनीले बुबालाई फोन गरिन्। बुबाले सिटिस्क्यान गर्न पोखरा बोलाउनुभयो। हामी दुई बहिनी पोखरा पुग्यौं।
पोखरामा रहनुभएका दाइलाई सबै कुरा सुनाएँ। दाइले बुबा पर्वतबाट नआउँदै सिटिस्क्यान र रगत जाँचका लागि अस्पताल लैजानुभयो। त्यहीं समयमा डिम्बासयको दाहिने साइडमा क्यान्सर भएको निक्र्योल भयो।
क्यान्सर पत्ता लागिसकेपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए। म परिवारसहित पुनः काठमाडौं आएँ शल्यक्रियाका लागि। नेपाल क्यान्सर केयर नेपाल, नेसनल क्यान्सर अस्पताल एन्ड रिर्सच सेन्टरमा भर्ना भएँ।

ट्यूमर ठूलो भएकोले पहिले केमो लगाएपछि मात्र शल्यक्रिया भएको थियो। एक साइकल केमो लगाएपछि पेटमा भएको डल्लो घट्यो। तीन साइकल केमो दिएपछि मात्र अप्रेसन भयो। अप्रेसनपछि फेरि तीन साइकल केमो लगाइएको थियो।
उपचारका क्रममा चिकित्सकको प्रेरणाले मेरो आत्मबल बढाउन सहयोग पु¥याएको थियो। चिकित्सकले मलाई विभिन्न उदाहरण दिनुहुन्थ्यो। मनिषा कोइराला, विद्यादेवी भण्डारीले पनि क्यान्सर जितेको भनेर मलाई हौसला प्रदान गर्नुहुन्थ्यो।
क्यान्सरसँग लडेका संर्घषशील व्यक्तिहरुको बारेमा थाहा पाएपछि मलाई त केही भएकै रहेनछ जस्तो लाग्थ्यो। अस्पतालमा जाँदा मभन्दा पनि समस्या भएका बिरामी देखेपछि मन बुझाउन अझ सजिलो हुन्थ्यो। त्यसपछि म सामान्य हुँदै गएँ।
सबैबाट सकारात्मक सहयोग
परिवारमा सबैले माया गर्ने भएर होला, यो रोगबारे विश्वास गर्न सहज थिएन। सबै परिवार, आफन्तहरुले मलाई उत्पे्ररणा दिनेदेखि आर्थिक सहयोग गर्नुभयो। कलेजको चौथो सेमेस्टरमा थिएँ। केमो लिनुपर्ने भएपछि कलेजमा बिदा माग्न गएँ। कलेजले पनि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। सबैबाट आर्थिक सहयोग भएपछि मलाई निकै सजिलो भएको थियो। सरकारले पनि एक लाख रुपैयाँ दिन्छ।
अध्ययनसँगै लोकसेवाको तयारी
पढ्दापढ्दै क्यान्सर भए पनि मैले पढाइ रोकिनँ। कलेजले पुनः चौथो सेमेष्टरबाट अध्ययन गर्ने वातावरण मिलाइदियो। मैले अहिले बिबिए उत्तीर्ण गरिसकेकी छु। लोकसेवाको लागि तयारी पनि गरिरहेकी छु।
यो वर्ष लोकसेवाको तयारी गरिरहेकी छु, अर्काे वर्ष डिग्री ज्वाइन गर्छु, परिवारका सबै सरकारी सेवामा रहेकाले मलाई पनि त्यतातिर मन गएको हो। मेरो बुबा सरकारी विद्यायलका शिक्षक हुनुहुन्छ। परिवारका अन्य सदस्य पनि सरकारी सेवामै हुनुहुन्छ।
क्यान्सर भएपछि जीवन फेरियो
क्यान्सर हुदाँ मलाई यो डरलाग्दो रोग भन्ने मात्र थियो। तर त्यो डर के कारण, किन भनिएको हो भन्ने थाहा थिएन। क्यान्सर भएपछि सुरुमा जस्तो सोच थियो, उपचारका क्रममा त्यो सोचमा फरकपना आयो। मैले बुझें, क्यान्सर निको हुने रोग हो। समयमा पत्ता लागेर उपचार भयो भने सामान्य जीवन बाँच्न सकिँदो रहेछ।
क्यान्सरमा जीवनशैली र खानपानको भूमिका महत्वपूर्ण हुन्छ भनेर मनीषा कोइरालाले भनेको कुराले मलाई प्रभावित बनाएको छ। आफ्नो जीवनमा त्यही कुरालाई फलो गरिरहेको छु आजकल।
बिहान उठेर योगा, मेडिटेसन गर्छु। सकेसम्म अग्र्यानिक खानेकुरा खान्छु। बाहिरको खाना, जंगफुड त्यागेकी छु।
अहिले म पे्ररणादायी पुस्तक पढ्ने, त्यस्तै व्यक्तिको जीवनी जान्ने कोसिस गर्छु। आत्मविश्वासलाई कायम राख्न सकारात्मक सोच जरुरी हुन्छ। सकेसम्म नकारात्मक सोचबाट टाढै रहने प्रयास गर्छु। यो विषयमा मलाई मेरो परिवारले पूरै सहयोग गरेको छ।
रोग नलागेको भए म अहिले जस्तो छु, त्यस्तो हुने थिइनँ। मेरो लाइफ अकर्कैतिर मोडिएको हुन्थ्यो। त्यसैले म पूर्ण रुपमा आफ्नो भविष्य राम्रो बनाउने बाटोमा लागेकी छु।
मलाई अहिले क्यान्सर रोगीहरुका लागि काम गर्न मन छ। मलाई उपचार गर्ने डाक्टरहरुले पनि युवावयका महिलालाई क्यान्सर हुँदा तिमी आएर सम्झाऊ भनेर बोलाउनु हुन्छ।
लाउँलाउँ–खाउँखाउँको उमेरमा क्यान्सर भएपछि परिवार र स्वयं बिरामीका लागि पनि निकै कष्टदायी हुन्छ। म क्यान्सरका बिरामीलाई आफ्नै उदाहरण दिएर सम्झाउने गर्छु। ‘हेर्नुस्, मलाई पनि २० वर्षकै उमेरमा क्यान्सर भएको थियो, अहिले निको भयो, चिन्तानगर्नुस्, निको हुन्छ’ भनेर सम्झाउने गरेकी छु।
आफ्नो उपचार गर्दाका अनुभव बिरामीका परिवारलाई पनि सुनाउँछु। त्यो देखे–सुनेपछि उहाँहरुमा पनि नयाँ आशा र विश्वास पलाउँछ।
एक पटक ठूलो रोग लागेपछि स्वास्थ्यप्रति बढी सतर्क भइने रहेछ। परिवारमा अहिले पनि कसैलाई ढाड दुख्यो, गिर्खा आयो, खान मन लागेन भने क्यान्सर हो कि भनेर डर लाग्छ। यस्ता लक्षण देखिए पनि जचाउँन सल्लाह दिइहाल्छु।