पाठेघरको दुवैतिर हुने सानो अन्डा आकारको अंगलाई डिम्बासय भनिन्छ। डिम्बासय महिलाको प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो। डिम्बासयको क्यान्सर महिलामा धेरै देखिने क्यान्सरमध्येको एक हो।
पालमा महिलामा देखिने क्यान्सरमा यो क्यान्सर तेस्रो नम्बरमा छ। विश्वमा यो क्यान्सर चारदेखि पाँचौ स्थानमा छ। नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पहिलो र दोस्रो नम्बरमा छ।
डिम्बासयको क्यान्सर कोषिकाको अनियन्त्रित वृद्धि भएर हुन्छ। क्यान्सर हुनुको ठोस कारण आजसम्म पत्ता नलागे पनि यो क्यान्सर उमेर बढ्दै गएपछि अर्थात् ४० कटेका महिलामा देखिन्छ। तर पछिल्लो समय कम उमेरका महिलामा पनि यो क्यान्सर अध्यधिक देखिन थालेको छ।
यो क्यान्सर भएको समयमा विशेषका खालको फरक लक्षण नदेखिने भएकाले महिलाले खासै ध्यान दिँदैनन्। देखिने लक्षण पनि त्यति वास्ता गरिहाल्नुपर्ने खालका हँुदैनन्।
स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सर भएका बिरामी, परिवारमा अरु कुनै क्यान्सर भएको छ भने बच्चा नजन्माएका महिलामा डिम्बासयको क्यान्सर हुने उच्च सम्भावना रहन्छ।
यो क्यान्सर मुख्यतया ३ प्रकारका हुन्छन्। जुन डिम्बासयको विभिन्न भागबाट उत्पन हुन्छन्।
इपिथिलीय सेल क्यान्सर : यो क्यान्सर डिम्बासयको बाहिरी भागबाट आउँछ। यो सबैभन्दा बढी पाइने प्रकारको क्यान्सर हो।
जम सेल ट्युमर्स : यो डिम्बासय रहेका अन्डा÷अन्डाको कोषिकाबाट उत्पन्न हुन्छ। यो वयस्क महिलामा बढी हुने गर्दछ र बालबालिकामा पनि देखिन्छ।
स्टेनल ट्युमर : यो डिम्बासय वरपरको तन्तु र कोषिकाबाट उत्पन्न हुन्छ। यो विभिन्न प्रकारको डिम्बासय क्यान्सरको उपचार पद्धति भिन्नभिन्न हुनसक्छ।
डिम्बासय क्यान्सरका लक्षण
माथि भनिएजस्तो यो क्यान्सर भएको छ भने सुरुमा लक्षण नदेखिन पनि सक्छ। देखिए पनि सामान्य खालका हुन्छन्।
पेटमा असजिलो महसुस हुने वा दुखाइ हुने प्रमुख लक्षण हुन्। पेट फुल्ने वा पेटमा डल्ला र गाँठा पनि देखिन सक्छन्।
कब्जियत हुने, यौन सम्पर्क पीडादायक हुनसक्छ। धेरै कमलाई मात्र महिनावारीमा अनियमितता वा महिनावारी सुकिसकेको अवस्थामा पनि पुनः रगत बग्ने समस्या हुन्छ।
रोग फैलिँदै जाँदा छातीमा पानी जम्मा हुने हुन्छ, जसले श्वासप्रश्वासमा पनि समस्या ल्याउन सक्छ। शरीरका अन्य भागमा गिर्खा देखिने वा दिमागमा असर पर्ने हुनसक्छ।
रोग फैलिइसकेको अवस्थामा भोक नलाग्ने, दुब्लाउँदै जाने हुनसक्छ। वाकवाकी र बान्ता हुने हुनसक्छ।
रोग पत्ता लगाउन गरिने जाँच र उपचार
रेडियोलोजिकल जाँच, रगत जाँच, अल्ट्रासाउन्ड अफ एबडोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरी रोग पत्ता लगाउन सकिन्छ।
डिम्बासय क्यान्सरको मुख्य उपचार शल्यक्रिया हो। उपचार क्यान्सरको चरणमा भर पर्छ। फैलिएको छैन भने शल्यक्रिया गरी घटाएर बायोप्सी गरी रिर्पो अनुसार किमोथेरापी दिइन्छ।
मुख्यतया यसमा रेडियसन थेरापी चाहिँदैन। क्यान्सर फैलिसकेको छ, पेटमा पानी जमिसकेको छ, ठूलो छ र चिकित्सकले शल्यक्रिया गरी निकाल्न सक्ने अवस्था छैन भने अवस्था हेरी केमोथेरापी दिएर घटाउने र सिटी स्क्यान गरी शल्यक्रिया गर्ने चलन पनि छ।
शल्यक्रिया अघि या पछि किमोथेरापीको प्रयोग गरिन्छ। सामान्यतः किमोथेरापी ६ पटक दिनुपर्छ र यो करिब एकएक महिनाको फरकमा लगाइन्छ। यसले यो रोगलाई नियन्त्रण गर्न गर्छ।
बिरामीको आवश्यकता हेरेर रेडिएसन अर्थात् सेकाइ पनि दिनुपर्ने हुन्छ। तर प्रमुख उपचार शल्यक्रिया नै हो। समयमै पत्ता लाग्यो भने यो क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ।
केमोथेरापीमा प्रयोग गरिने औषधि कडा हुनाले बिरामीमा विभिन्न असर देखिन सक्छ। जस्तो कि, वाकवाकी लाग्ने, बान्ता हुने, खानाको रुचि घट्ने, कलेजो वा मिर्गौलामा असर पर्ने, कपाल झर्ने रक्तअल्पता गराउने आदि।
रोकथाम
डिम्बासय क्यान्सरको पारिवारिक इतिहास भएका महिलामा यो क्यान्सर विकसित हुने अधिक सम्भावना भएको हुँदा उनीहरूले विशेष रुपमा स्वास्थ्य जाँच गर्ने गर्नुपर्छ।
लामो समयदेखि दिसा गर्न समस्या भएको छ वा कब्जियत भएको छ भने जाँच गराउनुपर्छ। ३५ वर्ष उमेर कटेका महिलाले समय–समयमा सिए १२५ को जाँच पनि गराइरहनुपर्छ। सिए १२५ अरुमा बढ्दैन, डिम्बासयको क्यान्सरमा मात्र बढ्छ।
यो क्यान्सर अरु क्यान्सरको तुलनामा पुनः बल्झिने सम्भावना धेरै हुन्छ। यसबाहेक आन्द्राको क्यान्सर, पिसाब थैलीको क्यान्सर पनि निको भए पनि पुनः फैलिने सम्भावना बढी हुन्छ।
मैले उपचार गरेका बिरामीमध्ये अहिले ५० जनाजति बिरामीमा फेरि यो क्यान्सर दोहोरिएको छ। कति बिरामीले ५८ पटकसम्म केमो लिनुपरेको छ।
यो लिभरमा सर्न सक्छ। लिभरको क्यान्सर हुने सम्भावना पनि हुन्छ। जति ढिला थाहा भयो उपचार गर्न उति नै समस्या हुन्छ।
रोग निको भएपछि पनि बेलाबेलामा चिकित्सककहाँ फ्लोअपमा आइरहनुपर्छ। क्यान्सरका चार चरण हुन्छन्। पहिलो चरणमा क्यान्सर पत्ता लागेमा उपचार र निको हुने सम्भावना धेरै हुन्छ। बिडम्वना के छ भने, हामीकहाँ आइपुग्ने करिब ७० प्रतिशत बढी बिरामी चौथो चरणमा पुगिसकेका हुन्छन्।
हामीले क्यान्सर बिरामीलाई उपचार गरी निको बनाएर घर पठाएपछि पनि जीवनभर हामीकहाँ फ्लोअपमा आउनुहोस् भनेर पठाउँछौं।
समय समयमा जाँच गर्नाले स्वास्थ्यको स्थिति थाहा हुन्छ। तर रोग फर्कने कारण धेरै हुन्छ भने कसैलाई एउटा क्यान्सर निको भए अर्को अंगमा क्यान्सर हुने जोखिम पनि हुन्छ। एउटै मानिसलाई तीन फरक–फरक क्यान्सर हुने व्यक्ति पनि धेरै छन्। फ्लोअप समय–समयमा गरेमा सुरुको अवस्था पत्ता लगाउँदा उपचार भरपर्दो हुन्छ।
पछिल्लो समयमा नेपालमा क्यान्सरको उपचार सेवा गुणस्तरीय हँुदैछ। अधिकांश क्यान्सरको उपचार नेपालमै सम्भव छ। हरेक क्यान्सरका विशेषज्ञ चिकित्सक पनि बढ्दैछन्। यो रोग शीरदेखि पाउसम्म जोसुकैलाई जुनसुकै उमेरमा लाग्न सक्छ। पहिले पनि क्यान्सरका बिरामी नभएका होइनन्, तर अहिले रोग निदानको विकाससँगै रोग पत्ता लाग्ने क्रम बढेको छ।