रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह (सुगर) भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब ४५ करोड मधुमेह रोगी छन्। नेपालमा कुल जनसंख्याको ९.५ प्रतिशत मधुमेह रोगी रहेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। संगठनका अनुसार नेपालको सन्दर्भमा नियमित सुगर जाँचको सुविधा दुर्गम गाउँ–वस्तीसम्म पुगिनसकेकोले यो आँकडा अझै बढी हुनसक्छ।
यो लेखमार्फत केही प्रतिनिधि पात्रको उदाहरणसहित मधुमेह रोगीले रगतमा सुगरको मात्रा जाँच्न जाँदा गर्ने गल्ती र त्यसलाई सुधार्ने उपायको बारेमा चर्चा गरिन्छ।
बिरामी नम्बर १ : एकजना ६० वर्षे बा गाउँबाट बिहानै बस चढेर डाक्टर भेट्न हिँड्छन्। सुरुमा ल्याबमा सुगर जाँच गरेर आउनु भनेकाले खालीपेटको सुगर जाँच गर्न रगत दिन्छन्। खाना खाएको २ घन्टापछि फेरि आएर रगत दिनु भनेर ल्याबका स्टाफले भन्छन्। बा बाहिरको खानेकुरा खाँदैनन्, त्यसकारण एक कप कालो चिया र एउटा बिस्कुट खाएर दुई घन्टापछि ल्याब गएर रगत दिन्छन् र रिपोर्ट लिएर डाक्टरकोमा जान्छन्।
बिरामी नम्बर २ : ४५ वर्षे आमा नियमित चेकअपको लागि घरबाट अस्पताल जान्छिन्। टिकट लिएर लाइन बस्छिन्। डाक्टरकोलाई देखाउने पालो आउँदा दिउँसोको १ बज्छ। डाक्टरले खालीपेट र खाना खाएपछिको सुगर जाँच लेखिदिन्छन्। उनी ल्याब गएर बिहानदेखि केही नखाएकोले खाली पेट नै भएको जनाउ दिन्छिन्। दुइटै जाँच भइसकेपछि रिपोर्ट लिएर डाक्टरकोमा जान्छिन्।
बिरामी नम्बर ३ : यी ४० वर्षे दाइ अलि अनुसन्धानात्मक छन्। १ वर्ष अगाडि मात्रै सुगर देखिएका दाइ औषधि कति खाइराख्नु भन्ने सोच्छन्। त्यसकारण सुगर जाँच गर्नुभन्दा अगाडि २/३ दिन औषधि नै खाँदैनन्। औषधि नखाँदा सुगर कति पुग्दोरहेछ भनेर आफैंमा अनुसन्धान गर्छन्। जाँच गराउँछन् र रिपोर्ट लिएर डाक्टरकोमा जान्छन्।
बिरामी नम्बर ४ : ५० वर्ष हाराहारीका यी अंकल अत्यन्तै व्यस्त छन्। व्यस्तताकै कारण कहिले औषधि छुट्छ त कहिले जाँच गराउने समय। नजिकैको ल्याबमा गएर खालीपेटको सुगर जाँच गराउछन् तर खाना खाएको दुई घन्टापछिको जाँच गर्न भ्याउँदैनन्। व्यस्तताका कारण अर्कै दिन गएर खाना खाएको दुई घन्टापछिको जाँच गर्न रगत दिन्छन्। दुवै रिपोर्ट लिन्छन् र डाक्टरकोमा जान्छन्।
बिरामी नम्बर ५ : ४५ वर्षे दाइमा चुरोटको लत छ। खालीपेटको सुगर जाँच गर्न ल्याब जानुभन्दा अगाडि आधा प्याकेट चुरोट बाटोमा सकेर ल्याब पस्छन्। जाँच गराउँछन् र रिपोर्ट लिएर डाक्टरकोमा जान्छन्।
के हो त सही तरिका?
– सम्भव भएसम्म खालीपेटको सुगर जाँच बिहान नै गर्नुपर्छ।
– खालीपेटको सुगर जाँच गरेकै दिन खाना खाएको २ घन्टापछिको जाँच पनि गर्नुपर्छ।
– आफूले दैनिक खाने गरेको खाना नै खाएर दुई घन्टापछिको जाँच गराउनुपर्छ। यदि ल्याब टाढा छ भने टिफिन बक्समा खाना लगेर खान सकिन्छ।
– खाना खाएपछि दुई घन्टाको सुगर जाँचको लागि रगत दिनुभन्दा अगाडि (पानीबाहेक) केही खानु हँुदैन।
– सुगर जाँच गर्ने दिन कमसे कम केही घन्टाको लागि धूमपान र मद्यपान गर्नु हुँदैन।
– सुगर जाँच गर्दा आफूले खाइरहेको औषधि छोड्नु पर्दैन।
स्वस्थ शरीर नै अमूल्य धन हो। तसर्थ रगतमा सुगर जाँच्दा अपनाउनुपर्ने आवश्यक पूर्वतयारीको बारेमा बिरामी आफैं सजग हुने हो भने सही रिपोर्टको साथ सही उपचार पाउने आफ्नो हक सुनिश्चित गर्न सकिन्छ।
(मैनाली लाइफ लाइन अस्पताल, झापाका प्याथोलोजिस्ट हुन्)