धरान– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ।
प्रतिष्ठानले बिहीबारबाट आफ्नै प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ।
प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८ सय लिटर अक्सिजन आवश्यक पर्छ। सो प्लान्टबाट प्रतिमिनेट १६ सय लिटरसम्म अक्सिजन उत्पादन हुनसक्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर प्रदीपराज साहले बताए।
उनका अनुसार प्लान्टबाट उत्पादन भएको अक्सिजनमध्ये ५ सय लिटर पाइपलाइनमार्फत प्रतिष्ठानका विभिन्न वार्डमा पुग्छ भनेर ३ सय लिटर सिलिन्डरमा भरेर राखिन्छ।
साह भन्छन्, ‘पाइपलाइन नभएका ठाउँमा वा विद्युत आपूर्ति नभएका बेला पनि ती सिलिन्डर प्रयोग गरिन्छ। त्यसबाहेक प्रतिष्ठानलाई प्रयोग गरेर बढी भएको अक्सिजन अन्यत्र बिक्री समेत गर्न सकिन्छ।’
प्लान्टमा स्लोभाकियाको अक्सिजन जेनेरेटर, जर्मनीको एयर कम्प्रेसर, इङ्ग्ल्यान्डको बुस्टर भारतीय प्राविधिकहरुले जडान गरेका हुन्।
प्लान्टले बाहिरको हावालाई लिएर त्यसमा रहेको २१ प्रतिशत अक्सिजन सञ्चय गर्ने गर्छ। प्लान्टबाट पाइपलाइनबाहेक दैनिक ६० वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ।
करिब २ वर्षअघि नै सुरु हुनुपर्ने अक्सिजन प्लान्ट निर्माण गर्ने जिम्मा पाएको कम्पनीको लापरबाहीले अलपत्र थियो। प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले निर्माण सम्पन्न नभई पूरै भुक्तानी दिएका थिए। दुई वर्षसम्म निर्माण नभएपछि प्रतिष्ठानले कम्पनीलाई ताकेता गरेपछि प्लान्ट निर्माण भएको हो।
प्रतिष्ठानमा रहेको प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्टपनि ६ महिनादेखि बन्द अवस्थामा छ। नयाँ अक्सिजन प्लान्ट समयमा निर्माण नहुँदा प्रतिष्ठानले बाहिरबाट दैनिक ७० हजारसम्मको अक्सिजन खरिद गर्ने गरेको थियो।
यो हिसाबले दुई वर्षमा प्रतिष्ठानले करिब ५ करोड अक्सिजनमा गुमाएको छ। पूरै भुक्तानी लिएर काम नगर्ने कम्पनीसँग क्षतिपूर्तिको समेत दाबी गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशंकर साहले बताए।
करिब ३ करोड २४ लाख लागत भएको प्लान्टको निर्माण नेपालको डाइग्नोवेभ र भारतको युनिसी इन्डिया प्रालिले गरेका हुन्।
प्लान्टको बिहीबार प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले उद्घाटन गरे। उनले प्रतिष्ठान अब अक्सिजनमा आत्मनिर्भर भएको भन्दै बढी उत्पादन भएका अक्सिजन बिक्रीको व्यवास्था मिलाइने र पुरानो प्लान्ट पनि बनाएर रिजर्वमा राख्ने बताए।
उनले भने, ‘यो प्लान्टले प्रतिष्ठानको खर्च पनि घट्यो, उपचारमा पनि सहज भयो। अन्य ठाउँका समस्या पनि अब समाधान हुँदै जान्छन्।’