शंका गर्नु मानवीय स्वभाव नै हो। श्रीमानले श्रीमतीलाई अनि श्रीमतीले श्रीमानलाई, प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई केही न केही शंका गरेकै हुन्छन्। श्रीमानलाई अफिसमा फोन गरेर चियोचर्चो गर्ने र थोरै ढिला गरेर घर पुग्दा अरू केटीलाई भेट्न पो गए कि भनेर शंका गर्ने श्रीमती पनि हुन्छन्। श्रीमानले पनि आफू कामका लागि घरबाहिर भएका बेलामा श्रीमती अरू नै केटासँग घुम्न जान्छिन् कि, घरमा कसैलाई बोलाउँछिन् कि, आफूलाई कुनै कुरामा ढाँटिरहेकी पो छिन् कि भनेर शंका गरिरहेका हुन्छन्। तर, जब शंकाले हद पार गर्छ तब मनोपरामर्श वा उपचारतर्फ लाग्नुपर्छ।
शंकाका तीन वटा चरण हुन्छन्। सुरुवातमा सामान्य खालको शंका हुन्छ। त्यसले दुई जनामा छिटपुट झगडा गराउन सक्छ। यस्ता झगडा सजिलै साम्य हुन सक्छन्। जब शंकाको तह बढ्दै जान्छ, त्यसले समस्या पनि थप्दै जान्छ। पहिलो चरणको शंकालाई समस्याको रूपमा लिइँदैन।
दोस्रो तहको शंकाले सम्बन्धमा खटपट ल्याउने काम गर्छ। यसमा श्रीमान वा श्रीमतीले मलाई त्यति समय दिँदैन, राम्रोसँग बोल्दैन, माया गर्दैन, केयर गर्दैन कतै न कतै ऊ अरूसँग लागेको छ भन्ने शंका गर्छन्। यस्तो अवस्थामा मनोपरामर्श गर्दा उनीहरू पुरानै अवस्था अर्थात् एकआपसमा विश्वास गर्ने अवस्थामा फर्किन सक्छन्। परामर्शपछि समस्या समाधान हुन सक्छ। यस्तो खालको शंकालाई मेडिकल भाषामा ‘प्यारानोइड आइडियाज’ भनिन्छ।
तेस्रो तहको शंका भनेको मानसिक रोगसँग सम्बन्धित हुन्छ। यसमा श्रीमान वा श्रीमतीलाई आफ्नो श्रीमती वा श्रीमान अरूसँग सल्केको शंका अत्यधिक लाग्ने हुन्छ। एउटासँग मात्र होइन, धेरैसँग लागेको हुनसक्छ भन्ने शंका मात्र गर्ने हुन्छन्। वास्तविक रूपमा श्रीमान वा श्रीमती अरू कसैसँग नसल्के पनि शंका गर्नेलाई भने अन्तै लागेको छ भन्ने शंका मनमा गढेर बसेको हुन्छ। यो समस्या श्रीमान वा श्रीमती दुवैलाई हुन सक्छ। अत्यधिक शंका गर्नु र जति सम्झाए पनि नबुझ्नु भनेको मानसिक समस्या नै हो। यो तहको शंका हुनेहरूको परिवारमा विविध खालका समस्या खडा भइरहेका हुन्छन्।
अत्यधिक शंका गर्ने मानसिक समस्या भएका पुरुषबाट महिलाहरू नै बढी पीडित हुने गरेको पाइन्छ। पुरुषप्रधान समाज भएकाले हामीकहाँ कुनै श्रीमानलाई आफ्नी श्रीमतीप्रति कुनै शंका लाग्यो भने उसले श्रीमतीमाथि गर्ने अत्याचार निकै डरलाग्दो हुने गरेको छ। शंकालु श्रीमतीका कारण पुरुषहरू पनि पीडित हुने गरेका छन्। तर, पुरुषको तुलनामा महिला नै बढी पीडित हुने गरेको तथ्य छन्। एकआपसमा बढी शंका गर्ने दम्पतीको वैवाहिक जीवन तहसनहस हुन्छ।
घरमा कलह, कुटपिट हुँदै मर्ने र मार्नेसम्मका घटनाको कारक तत्व पनि शंका हुने गरेको पाइन्छ। यसैगरी, महिलाले पनि शंकाकै भरमा श्रीमानलाई धम्क्याउने, गाली गर्ने गर्छन्। उनीहरूले श्रीमान कार्यालयबाट आएपछि कपडामा कतै केटीको कपाल छ कि भनेर हेर्ने, लिपस्टिकको दाग कतै लागेको छ कि भनेर नियाल्ने, परफ्युमको बास्ना सुँघ्ने, सुटुक्क मोबाइल चेक गर्ने, दिनभर कता गएको, को–को सँग भेटेको, कस–कसलाई फोन गरेको जस्ता प्रश्न सोधेर श्रीमानप्रति अत्यधिक शंका व्यक्त गर्ने गर्छन्।
यो तहको अत्यधिक शंका गर्ने महिला वा पुरुषलाई जतिसुकै ‘काउन्सिलिङ’ गरे पनि उनीहरू आफ्नो ढिपी नछोड्ने खालका हुन्छन्। यो समस्यालाई ‘डिल्युजन’ भनिन्छ। यो खतरनाक मानसिक समस्या हो। कोही कतै नलागेको अवस्थामा पनि शंका गरेकै कारण ठूला समस्या निम्तिरहेका छन्। शंकाले लंका जलाउँछ भनेझैं घर तथा दाम्पत्य जीवन जलिरहेका छन्। यहाँसम्म कि श्रीमान–श्रीमतीले एकअर्काको हत्यासम्म गरेका घटना देखिएका छन्। कतिपयले शंकाको भरमा आत्महत्या पनि गरेका छन्।
तेस्रो तहको शंकामा मनोपरामर्शले मात्र काम गर्दैन। यस्तो अवस्थामा औषधि सेवन गर्नुपर्ने हुन्छ। तर, मानसिक रोगको औषधि खाने भनेपछि मानिसहरू तर्किने गर्छन्। जसले गर्दा पनि मानसिक समस्या भएर शंका गर्नेहरूको उपचार हुन सक्दैन र समस्या झनै जटिल बन्दै जान्छ। यो तहको शंका गर्नेहरूले नियमित औषधि सेवन गरेको खण्डमा उसले गरिरहेको शंका होइन कि भन्ने चरणमा पुर्याउन सकिन्छ। मनोपरामर्शले केही मात्रामा काम गर्ने अवस्थामा ल्याउन सकिन्छ।
(उपाध्याय वरिष्ठ मानसिक रोग विशेषज्ञ हुन्)