शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सरुवा रोग संक्रमित बिरामीका लागि एक मात्र आशा र भरोसाको केन्द्र हो। सय शैय्या क्षमताको यो अस्पतालमा उपचारका लागि देशैभरबाट सरुवा रोगका बिरामी सिफारिस गरिन्छ।संक्रामक तथा उष्णप्रदेशीय रोगका लागि शुक्रराज अस्पताल सरकारको एक मात्र विकल्प त हो नै, यो निजी क्षेत्रका अस्तालले उपचार गर्न नसकेका बिरामी सिफारिस गरिने एक मात्र भरोसाका थलो पनि हो। ‘संक्रामक रोगका बिरामीका लागि शुक्रराज अस्पताल साँच्चै आशा र भरोसा गर्न लायक छ त?’ के भन्छन् अस्पतालका निर्देशक तथा त्यहाँ कार्यरत अन्य दुई डाक्टर?
टालटुल गर्दै चलिरहेका छौं

डा वासुदेव पाण्डे
निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
हामी विकासका काममा सुस्ताएका छौं, त्यो कुरा म स्वीकार गर्छु। सरकारले अस्पताललाई दिने बजेट घट्दै गएको छ। यो वर्षका लागि ११ करोड मात्र बजेट विनियोजन भएको छ। त्यतिले सबथोक हेर्नुपर्ने हुन्छ। भुइँचालोले हाम्रो स्टाफ क्वार्टर भत्किएर त्यहाँ ‘रेड स्टिकर’ लगाइएको छ। त्यो बनाउन सकिएको छैन। भत्केको घर बनाउन १ करोड सरकारले दिएको छ तर अझै काम हुन सकेको छैन।
अस्पतालमा दिनैपिच्छे गुनासाहरु सुनिन्छन्। कहिले ट्वाइलेट चुहियो भनेर गुनासो आउँछ त कहिले भौतिक संरचना पुरानो भयो भन्ने आउँछ। टालटुल गर्दै हामी चलिरहेका छौं। तर हामीले पछिल्लो समय फोहोर व्यवस्थापन, फार्मेसी र ल्याबको सेवा–सुविधा राम्रो दिएका छौं।
नयाँ भवनको लागि गुरुयोजना बने तापनि लालपूर्जा नहुँदा अन्योलमा छौं। यसबारे भूमिसुधार मन्त्रालयमा पत्राचार गरेका छौं। भवनको लागि सरकारभन्दा जाइकाको भरपर्नु ठिक देख्छु म। आखिर काम त छिटो हुन्छ।
हाम्रो अस्पताल अप्ठ्यारोमा परेको छ। मन्त्रालय तथा विभागतिरकाले हाम्रो अस्पताललाई ध्यान नै दिँदैनन्। पुरानो घर, पुरानो मान्छे, पुरानो सोचाइ छ। यहाँ सबथोक पुरानो छ। यसलाई परिवर्तन गर्नुपर्ने छ। यो वर्षभित्रमा गुरुयोजना स्वीकृत गर्ने मेरो उद्देश्य हो। नयाँ अस्पताल भवन बनाएर यसलाई ट्रेनिङ सेन्टरको रुपमा विकास भएको देख्ने मेरो चाहना छ।
‘अनुसन्धानमा जोड दिनुपर्छ’

डा अनुप बाँस्तोला
प्रवक्ता, छाला तथा यौन रोग विशेषज्ञ
शुक्रराज अस्पताल धेरै पुरानो अस्पताल हो। काठमाडौंको केन्द्रमा रहेको यस अस्पताललाई सरुवा रोग अस्पतालको नाम दिइएको छ। डरलाग्दो महामारी आयो भने जिम्मेवार निकाय हामी नै हौं। विदेशको अभ्यास र यहाँको अभ्यास धेरै फरक छ। त्यहाँ हरेक वार्डमा बिरामीलाई आइसोलेसन वार्डमा राखिन्छ। आइसोलेसन वार्ड बनेको धेरै वर्ष भयो तर सञ्चालनमा आएको छैन। यो अस्पतालको शाखा अन्यत्र पनि विस्तार हुुनुपर्छ।
यो अस्पतालको भिजन जसले ल्यायो, ऊ धन्यवादको पात्र हो। तर, जसरी यसको विकास हुनुपर्ने हो त्यो हुन सकेन। जुन लक्ष्य लिएर यो अस्पताल स्थापना भएको हो त्यसरी नै विकास हुनुपथ्र्यो।
हामीले यहाँबाट विशिष्टकृत सेवा दिँदा पनि हाम्रो सेवाबारे आम मानिसलाई जानकारी छैन। यसलाई अध्ययन–अनुसन्धानमा पनि बढी जोड दिनुपर्छ। विशेषज्ञहरुलाई अनुसन्धानमा लगाउनुपर्छ।
‘घातक रोगसँग लड्ने तयारी हुनुपर्छ’

डा शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ
यो अस्पताल बिरामीको पहिलो प्राथमिकतामा परेको म देख्दिनँ। जसलाई पनि राम्रै अस्पताल जाँउ भन्ने हुन्छ। जहाँ राम्रो सुविधा छ, हामीले नचाहेर पनि बिरामी त्यहीं जान्छन्।
यो भवन निक्कै पुरानो हो। यसको जुन इन्टेरियर डिजाइन छ, त्यसले नयाँ चुनौतीलाई धान्न सक्दैन। यहाँ सुतिरहेको बिरामीलाई अर्को बिरामी आएर खोकेपछि सरिहाल्ने अवस्था छ।
सरुवा रोग अस्पतालको डिजाइन अरु अस्तालको जस्तो हुँदैन। संक्रमित रोगका लागि छुट्टै खालको डिजाइन हुनुपर्छ। अहिले पहिलेको जस्तो अवस्था छैन। निकै घातक सरुवा रोगहरु आइरहेका छन्।
यदि यो अस्पताललाई विशिष्ट अस्पताल बनाउने हो भने सरुवा रोगका लागि के–के आवश्यकता पर्छ ? त्यो २१औं शताब्दीको चुनौती धान्न सक्नेगरी पूरा हुनुपर्छ। जस्तोः इबोला यति संवेदनशील हुन्छ कि, छोए पनि सर्छ।
संसार अहिले ग्लोबल भिलेज भइसक्यो। अहिले अफ्रिकामा भएको रोग यहाँ आउँदैन भनेर बसेर त भएन नि। जागिरको सिलसिलामा अफ्रिकामा बस्ने नेपालीको संख्याको ह्वात्तै बढेको छ। उनीहरुसँगै इबोला पनि यहाँ आउनसक्छ। यस्तो घातक रोगको रक्षाका लागि हामी तयार हुने कि नहुने?
यस्ता रोग कुनै पनि बेला र कुनै पनि स्थानमा ‘आउटब्रेक’ हुन सक्छन्। त्यसलाई ट्याकल गर्नका लागि कसरी तयारी हुने ? विदेशमा इबोलाको शंकास्पद बिरामी ल्याउँदा एम्बुलेन्सलाई मोटरसाइकले पूरै स्कटिङ गरेर लगेको देखिन्छ। सो रोगलाई अति सम्वेदनशील रुपमा लिएर उपचार गरिन्छ।
शुक्रराज अस्पताल सरुवा रोगको केन्द्रीय अस्पताल भएकाले रोगको जोखिम कस्तो हुन्छ ? कहाँबाट आउने सम्भावना हुन्छ ? भन्ने तयारी गनुपर्छ।
संसारका कुनै पनि देशमा घातक रोग फैलिरहेको छ भने सबैभन्दा पहिले चनाखो भएको देखिन्छ। किनभने यस्ता रोग कहीं न कहींबाट समाजमा फैलियो भने धेरै गाह्रो हुन्छ भन्ने बुझ्नुपर्छ।
त्यसैले जनसंख्या बढ्दै गएको हुनाले कुनै रोग फैलियो भने एकै पटक धेरै जनालाई सर्न सक्छ। त्यसैले घातक सरुवा रोगसँग लड्न सक्नेगरी तयारी गर्नु जरुरी देखिन्छ।
यो पनि पढौं :