विश्वभरि नै नसर्ने प्रकृतिका रोगहरु बढ्दै गइरहेका छन्। तीमध्ये क्यान्सर एउटा डरलाग्दो रोगको रुपमा देखा परिरहेको छ। जति ढिलो गरी पत्ता लाग्छ, उपचार त्यति नै कठिन हुने हुँदा सुरुवाती अवस्थामा नै पत्ता लगाई उपचार गर्न सके क्यान्सर पूर्ण रुपमा निको हुनसक्छ।
मुख्यत: रेडियोथेरापी, सर्जरी र किमोथेरापीको माध्यमबाट क्यान्सर रोगीको उपचार गरिन्छ। विश्वमा लामो समयदेखि क्यान्सर रोगको उपचारमा रेडियोथेरापी प्रविधिको प्रयोग, विकास र विस्तार भइरहेको छI क्यान्सर रोग उपचारको लागि यो एउटा प्रभावकारी विधि हो।
मेसिनबाट अदृश्य विकिरणका किरणहरु शरीरभित्र प्रवेश गराई विकिरण ऊर्जाको सुरक्षित प्रयोग गरी क्यान्सरका कोसिकाहरूलाई निस्क्रिय पार्ने प्रविधिलाई रेडियोथेरापी भनिन्छ। जनबोलीको भाषामा रेडियोथेरापी गर्नुलाई सेकाइ गर्ने भनेर बुझिन्छ। रेडियोथेरापी गर्दा कुनै तातो या अन्य कुनै किसिमको अनुभव बिरामीलाई हुँदैन।
क्यान्सरका बिरामीमध्ये दुई तिहाइ बिरामीलाई कुनै न कुनै बेला रेडियोथेरापीको आवश्यकता पर्छ। तर सर्वसुलभ नभएकाले सबै रोगीले यो सुविधा समयमै लिन सकेका छैनन्। विश्व स्वास्थ्य संगठनको प्रस्तावअनुसार प्रति १० लाख जनसंख्याका लागि कम्ती एक लिन्याक या कोबाल्ट मेसिनको उपलब्धता सुनिश्चित गरिनुपर्छ।
रेडियोथेरापी दुई वटा विधि छन्। शरीरको बाहिरबाट रेडिएसन दिई गरिने उपचार विधि र शरीरको भित्री भागमा नै विभिन्न औजारको प्रयोग गरी रेडिएसन दिइने विधि। नेपालको सबैभन्दा पुरानो भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका ती सम्पूर्ण सुविधा उपलब्ध छन्।
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवाको विकास र विस्तार गर्दै लैजाने क्रममा हालसालै रेडियोथेरापीको अत्याधुनिक लिन्यास आइएक्स मेसिन भित्र्याइएको छ र सोको जडान कार्य धमाधम भइरहेको छ।
उक्त मेसिनबाट थ्रिडी–सिआटी,आइएमआरटी, आइजिआरटी जस्ता विश्वस्तरीय सेवाहरु आगामी वैशाख १ गतेदेखि सुरु हुँदैछन्। ती सेवा सुरु भएपछि बिरामीलाई भारत लगायत अन्य मुलुकमा उपचारको लागि धाइरहन पर्ने छैन।
यो अत्याधुनिक प्रविधिबाट उपचार गर्दा सूक्ष्म रुपमा क्यान्सरका कोषिकाहरुलाई लक्षित गरी उपचार गरिन्छ, जसले गर्दा शरिरका स्वस्थ भागलाई विकिरणबाट कुनै असर नगर्ने तर क्यान्सरलाई भने जरैदेखि निर्मूल गर्न सकिन्छ।
उक्त मेसिनबाहेक भारत सरकारबाट प्राप्त मेसिन पनि यस अस्पतालमा छिट्टै जडान कार्य हुन गइरहेकोले गरिब बिरामीलाई ठूलो राहत पुग्ने देखिएको छ I उक्त सेवा सुरु गर्नको लागि डाक्टर तथा अन्य प्राविधिज्ञकलाई तालिमको लागि बेलायत, जापान्, भारत लगायतका मुलुकमा पठाइएको छ भने कोही तालिमपश्चात फर्किसकेका छन्।
अन्यभन्दा यस अस्पतालमा १० गुणा कम खर्चमा उपचार गरिने हुँदा देशभरिबाट सर्वसाधारण बिरामी ठूलो मात्रामा उपचारको लागि आउने गर्छन्। पाठेघरको मुख, जिब्रो,घांटी, मुख, पेट, आन्द्रा, फोक्सो,स्तन, प्रोस्टेट क्यान्सर तथा ब्रेन् ट्युमर लगायत रोगको उपचारको लागि यो एक प्रभावकारी विधि हो।
(चालिसे भक्तपुर क्यान्सर अस्पताल, रेडिएसन अन्कोलोजी विभागका प्रमुख हुन्)