मुख स्वास्थ्यको झ्याल जस्तै हो। दाँत र गिजाले स्वास्थको स्थितिलाई प्रतिबिम्वित गर्छ। दन्त स्वास्थ्य शारीरिक स्वास्थ्यको एक महत्त्वपूर्ण तत्व हो।
धेरै अध्ययनले मधुमेह, हृदयघात, निमोनिया, गुर्दे रोग र अरु प्रणालीगत रोगहरूलाई मौखिक रोगसँग जोडिएको छ। तथापि, यो सबैभन्दा अपरिचित पक्ष हो, जसको गहन प्रभाव स्वास्थ्यमा पर्न सक्छ। त्यसैले दाँत सफा राखेमा र राम्रो मौखिक स्वच्छता कायम गरेमा जीवनमा ठूलो फरक पर्न जान्छ।
उदाहरणका लागि राम्रो मौखिक स्वास्थ्य पाउन दाँत माझिसकेपछि फ्लोसिङ गर्न अत्यन्त अवश्यक छ, तर अझैसम्म धेरै व्यक्तिले फ्लोसलाई प्रयोगमा ल्याएका छैनन्। फ्लोसको प्रयोगले ब्रस नपुग्ने ठाउँमा जम्मा भएको ब्याक्टेरिया हट्छ। यस्तो ब्याक्टेरिया हटेन भने प्लायक बन्छ र टार्टरमा परिणत हुन्छ।
पछि गएर एकदम कडा ढुङ्गा जस्तो हुन्छ। त्यसपछि त्यो टार्टरलाई नियमित ब्रस वा फ्लोसिङ गरेर हटाउन सकिंदैन। अन्ततः दाँतमा किरा लाग्ने, गिजा कमजोर हुने, गिजासम्बन्धी रोग लाग्ने, दाँत हल्लिने, मुख गन्हाउने जस्ता समस्या देखिन्छन्।
फ्लोसिङ गर्ने दिशानिर्देश
– १५-१८ इन्च लामो फ्लोसको टुक्रा लिनुहोस् र तपाईंको दुवै हातको चोर औंलावरपर प्रत्येक अन्तलाई बेर्नुहोस्।
– आफ्ना दुई दाँतबीचमा फ्लोस स्लाइड गर्नुहोस् र सी आकारमा दाँतको वरिपरि बेर्नुहोस्।
– फ्लोसलाई माथि, तल, अगाडि र पछाडि सार्नुहोस्। सुनिश्चित गर्नुहोस् कि नजिकैका दाँत दुवैतिरबाट सफा भयो भनेर।
– त्यसपछि अर्को दाँतमा जानुहोस् र त्यही प्रक्रिया दोहोर्यातउनुहोस्।
दाँतहरूबीच बढी चौडाई भएको स्थानहरूको लागि हामी सुपर फ्लोस प्रयोग गर्न सक्छौं, जुन मोटो हुन्छ। यदि फ्लोस प्रयोग गर्न गाह्रो हुन्छ भने नरम प्लाक रेमुवर प्रयोग गर्न सकिन्छ, जुन टुथपिक जस्तै हुन्छ र दाँत बीचमा सफा गर्न सकिन्छ।
दाँत माझ्ने र फ्लोस गर्ने समयमा गिजाबाट रगत आउनु एक चेतावनी चिह्न हो, जसले अस्वस्थ मुख संकेत गर्छ। त्यसैले स्वस्थ मुखको लागि, दिनको दुई पटक दाँत माझ्नुपर्छ। बिहान र बेलुका फ्लोस्स पनि गर्नुपर्छ। यदि हरेक पटक दाँत माझ्दा गिजाबाट रगत आइरहेको छ भने सफाइको लागि दन्त चिकित्सकलाई देखाउनुपर्छ। त्यसैले स्वस्थ रहन राम्रो मौखिक स्वच्छता कायम राख्नु जरुरी छ।