क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो। मुख्यगरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ। फोक्सो बाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मुत्र प्रणाली तथा प्रजनन् प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन्।
लगभग २० प्रतिशत क्षयरोगका बिरामीहरुमा फोक्सो बाहिरका क्षयरोग संक्रमण भेटिएको तथ्यांक छ। जसको १५ प्रतिशत बिरामीमा मुत्र प्रणालीको क्षयरोग भेटिन्छ। अविकसित र विकासोन्मुख देशमा मुत्र प्रणालीको क्षयरोग प्रमुख दोस्रो क्षयरोग हो भने विकसित देशमा यो तेस्रो मानिन्छ।
मुत्र प्रणालीको क्षयरोग भन्नाले मिर्गौला, मुत्र बाहिनी नली, मुत्र थैली, मुत्र मार्ग, प्रोस्टेट, सेमिनल भेसिकल इत्यादिको क्षयरोगलाई बुझिन्छ। मुत्र प्रणालीको क्षयरोग प्राय: दोस्रो दशकदेखि चौथो दशकको उमेर अवधिमा देखिएको छ। यो रोग बाल्यकाल र बृद्धबृद्धामा कम पाइएको छ।
क्षयरोग अविकसित र विकासोन्मुख देशहरुको समस्या देखिए तापनि आजको युगमा अत्यन्तै विकसित देखिने संयुक्त राज्य अमेरिका जस्ता मुलुक पनि कुनै ताका क्षयरोगबाट प्रचुर पीडित रहेको इतिहास पढ्न पाइन्छ। २०औं सताब्दीमा भएको मृत्युको आँकडालाई केलाउँदा २५ प्रतिशत वयस्क मानिसको मृत्यु क्षयरोगले गर्दा भएको प्रमाण छ।
सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षणअनुसार संसारको एक तिहाइ जनसंख्या अव्यक्त क्षयरोगबाट संक्रमित छ, जसको ९०-९५ प्रतिशत बिरामी अविकसित र विकासोन्मुख देशमा रहेको प्रतिवेदन छ। संसारभरिमा सर्वाधिक मृत्यु गराउने सरुवा रोगहरुमध्ये क्षयरोग प्रमुख हो।
प्रत्येक वर्ष एक करोड मानिस क्षयरोगले संक्रमित भेटिन्छन्। जसमध्ये २० लाख बिरामीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन्। यद्यपि उपलब्ध खोप, निदान विधि, उपचार विधिको सहजता र जनचेतनाको कारणले जुनैसुकै देशमा पनि यो रोगको संक्रमण विस्तारै घट्दै गएको पाइएको छ।
प्रमुख कारण
– क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटानुले गराउने संक्रमण हो।
– प्राथमिक रुपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्र प्रणालीमा सर्ने गर्छ,
– संक्रमित बिरामीसँग सम्बन्ध,
– रोगसँग लड्न सक्ने क्षमता कमजोर हुनु (जस्तै: एचआइभी एड्स, लामो समयदेखि रोगी हुनु, विशेष किसिमको औषधि सेवन, क्यान्सर),
– जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु,
– तल्लो स्तरीय जीवनशैली,
– सरसफाइ र सन्तुलित भोजनको कमी,
लक्षण: सुरुमा लक्षण बिहीन हुन्छ। रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउनु, पिसाब गर्दा पोल्नु, कोखा दुख्नु , पिसाब पूर्ण रुपमा ननिख्रिनु र पिसाबको धार मसिनो हुनु जस्ता लक्षण देखा पर्छन्।
जटिलता: क्षयरोगले गर्दा हुन सक्ने जटिलता भनेको मुत्र मार्ग र मुत्र बाहिनी नलीमा खत आउनु, फिस्टुला बन्नु, मिर्गौला फेल हुनु र क्षयरोग उपचारका लागि प्रयोग हुने मुख्य औषधिले काम नगर्नु हुन्।
निदान कसरी गर्ने?
यो रोग निदान गर्न अलि कठिन हुने गर्छ। केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोग विरुद्धको उपचार चलाउनुपर्ने हुन्छ।
निदानका लागि गरिने सामान्य जाँचहरु यसप्रकार छन्– रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पिसिआर इत्यादि। पिसिआर विधिबाट क्षयरोग बेलैमा निदान गरी सरल तरिकाले उपचार गर्न आजकल हदैसम्म सजिलो भएको छ। यो विधिले ९९ प्रतिशत केसमा क्षयरोग भएको नभएको पुष्टि गर्ने गरेको छ।
पिसाब गर्ने मार्गबाट दूरविन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मुत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ। औषधिहरुले काम नगरेको खन्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ। निदान गर्दा यो रोग प्राय: मुत्र प्रणालीको अन्य संक्रमण, क्यान्सर तथा पत्थरीसँग झुक्किने देखिन्छ।
जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ। यी विधिहरु अलि महँगो हुनाले रोग निदानमा अनेकन समस्या देखिन्छन्। तसर्थ; आफूलाई उपचार गर्ने चिकित्सकको सरसल्लाह अनुसार जाँच र उपचारको प्रक्रिया अगाडि बढाई चिकित्सकलाई उपचार गर्ने वातावरण सहज बनाइदिनुपर्छ।
उपचार
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको नि:शुल्क उपचार गर्दै आएको छ। जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्कक कदम चालिन्छ।
उपचारका लागि प्रयोग हुने मुख्य औषधिहरु: आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन्। यी चार वटा औषधि पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ। बीचबीचमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गरिन्छ। यी औषधिहरुले काम नगरेको खन्डमा आवश्कक जाँच गरी अन्य अनेकौं औषधि चलाउन सकिने अवस्थाहरु हुन्छन्।
मुत्र प्रणालीको क्षयरोग प्राय: भेटिइरहने रोग भए तापनि यो रोग सजिलै अनदेखी गर्न सकिने सम्भावना उत्तिकै रहेको छ। बिडम्बनाको कुरा त के हो भने, क्षयरोगको निदान र उपचार विधि सजिलै जताततै उपलब्ध भएता पनि बर्सेनी लगभग एक तिहाइभन्दा बढी मुत्र प्रणालीको क्षयरोग रोगीको रोग पत्ता लगाउन नसकिएको तथ्यांक छ।
अर्को मुख्य कुरा, यस किसिमको क्षयरोगको निदान र उपचार आफैंमा पनि एउटा विषेश चुनौती नै हो। यद्यपि पिसिआर जस्ता आधुनिक विधिले यो समस्यालाई केही हदसम्म समाधान गरेको देखिन्छ।
(डा शाह नेपाल मेडीसिटी अस्पताल युरोलोजी विभागका एफसिपिएस रेसिडेन्ट चिकित्सक हुन्)