क्षयरोग (टिबी रोग) कुनै नयाँ रोग होइन। यो विश्वभरिमा सबैभन्दा बढी ज्यान लिने सरुवा रोगको रुपमा रहेको छ। गरिब तथा विकासोन्मुख देशमा यो रोग एउटा मुख्य समस्या बन्दै आएको छ। क्षयरोगले टाउकोदेखि खुट्टासम्मका विभिन्न अंगलाई असर पार्नसक्छ। हावाबाट सर्ने यो रोगले संसारभरि नै कहालीलाग्दो वातावरण सिर्जना गरेको छ।
फोक्सोको क्षयरोग साधारणतया खोकी, सामान्य ज्वरो, सास फेर्न गार्हो, खकारमा रगत, राति धेरै पसिना आउने, तौल घट्ने आदि समस्या लिएर आउनसक्छ। खकारमा क्षयरोगको किटाणु देखिएमा यसको उपचार सुरु गरिन्छ। तर विभिन्न अंगको क्षयरोगको जाँच भिन्न रहन्छ। उपचार सही ढंगले नियमित रुपमा गरिए यो रोग पूर्ण रुपमा ठिक हुन्छ। यदि उपचार सही तरिकाले सही मात्रामा नगरिए, बीचैमा औषधि खान छोडिए वा औषधिसँग प्रतिरोधी किटाणु भए यो रोग ठिक नहुन सक्छ। प्रतिरोधी किटाणु भएको टिबीलाई लामो समयसम्म र साधारणभन्दा धेरै औषधि आवश्यक पर्छ।
विश्वमा करिब एक तिहाइ मानिसको शरीरमा क्षयरोगको किटाणु भएको तर कुनै रोगको समस्या नभएको निष्क्रिय क्षयरोगको अवस्था (लेटेन्ट टिबी) रहेको छ। विशेषगरी गरिब तथा विकासोन्मुख देशमा यसको संख्या अझ धेरै छ। अमेरिका जस्तो देशमा निष्क्रिय क्षयरोगको पनि उपचार गरिन्छ। तर हाम्रो जस्तो गरिब देशमा विभिन्न कारणले गर्दा निष्क्रिय क्षयरोगको उपचारमा धेरै चासो दिइएको छैन। यस्ता निष्क्रिय रूपमा रहेको क्षयरोगको किटाणु पछि गएर फेरि सक्रिय हुन सक्छन् र यो रोग धेरै मानिसमा पुन: लागेर माहामारीको रुप पनि लिनसक्छ।
फोक्सोको क्षयरोग समयमै उपचार नहुँदा, उपचार सही रुपमा नहुँदा वा उपचारपश्चात् पनि कहिलेकाहीं फोक्सोमा नकारात्मक असर पारेको हुनसक्छ। जस्तै फोक्सोका केही भागहरु रेसाधार पदार्थले परिवर्तन हुनु। यसो भएमा फोक्सोको काम गर्ने क्षमतामा पहिलेभन्दा कमी हुन आउँछ। यस्ता व्यक्तिलाई पछि गएर सास फेर्न गाह्रो हुने, खोकी लागिरहने समस्या हुन्छ।
छातीको एक्स-रे , सिटी स्क्यान गर्दा सामान्य रुपमा कालो देखिने फोक्सोका केही भागहरु सेतो भएर परिवर्तन भएको देखिन्छ। यसरी परिवर्तन भएको फोक्सो फेरि पहिलेकै अवस्थामा आउन सक्दैन। यस्ता फोक्सोको समस्या भएका व्यक्तिलाई श्वास फेर्न गाह्रो हुने हुँदा श्वास फेर्न सजिलो बनाउने औषधि नियमित रुपमा प्रयोग गर्नुपर्ने हुन्छ। क्षयरोग लागेकालाई फोक्सोका नलीहरु मोटा र ठूला हुने ब्रोङ्किएक्टेसिस रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ। यो रोग लाग्ने मानिसलाई खोकी लाग्ने, खकार धेरै निस्कने, खोक्दा मुखबाट रगत निस्कने सभावना हुन्छ। विभिन्न किसिमको उपचारले रोग नियन्त्रण गर्न सकिन्छ।
एक पटक क्षयरोग लागेको व्यक्तिलाई फेरि अर्को पटक क्षयरोग लाग्दैन भन्ने पनि हुन्न। पहिले गरेको उपचारले पूर्ण रुपमा किटाणु मरेको छैन भने यो रोगको समस्या पुनः आउन सक्छ। यस्तो शंका लागेमा खकारको जाँच गराउनु जरुरी हुन्छ। खकारमा किटाणु भेटिएमा उपचारको पुनः आवश्यकता पर्छ।
क्षयरोगको जनचेतना विभिन्न माध्यमबाट बढाइरहेको भए पनि यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न अहिले पनि त्यति सजिलो छैन। यस रोगलाई नियन्त्रणमा ल्याउन सबै हातहरु मिल्नु आवश्यक छ। कुनै व्यक्तिलाई लामो समयसम्म खोकी, ज्वरो आदि आएमा चिकित्सकको सल्लाह सुझाब लिनु नै आफ्नो रोगको उपचार गर्नु र अरुलाई रोग सर्नबाट बचाउनुको मुख्य उपाय हो। अन्तत: हामी सबै मिले मात्र हामी हाम्रा सन्ततिलाई क्षयरोग मुक्त समाजको परिकल्पना गर्न सक्छौं।