मानव शरीर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन। बाहिरबाट एउटा ठोस आकारको देखिने शरीरभित्र अनगिन्ती कोष, नशा, रक्तनली, मुटु, फोक्सो, कलेजो लगायतका धेरै अङ्ग छन्। टाउकोभित्र मस्तिष्क र यसका अनगिन्ती कोष छन्। वैज्ञानिकहरुका अनुसार शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइरहेको छ। शरीर नै इनर्जी भएपछि मान्छेका विचार, भावना सबै इनर्जी हुने नै भए।
शरीरलाई विभिन्न रोगबाट बचाउन शरीरभित्रै प्रतिरोधात्मक क्षमता छ, अर्थात् रोगसँग लड्ने निकै शक्तिशाली फौज छ। रोगहरुसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ कि, हरेक किसिमका रोगका किटाणुलाई मार्न सक्छ, निस्क्रीय पार्न सक्छ। जब यो प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, शरीरमा रोगले आक्रमण गर्न थाल्छ। जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ त्यति नै रोगले जकड्दै लैजान्छ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो हुन्छ, त्यति मानिस निरोगी हुन्छ। प्रश्न आउँछ, कसरी यो क्षमतालाई कमजोर हुन नदिने वा बलियो बनाइराख्ने ? यसको उत्तर पनि त्यति असहज छैन। मानिसले आफ्नो जीवनशैलीमा ध्यान दियो भने सजिलै सम्भव छ।
चुरोट, सुर्ती, खैनी जस्ता अम्मलबाट टाढै रहने, फलफूल, हरियो सागपात, गेडागुडी आदि खानामा समावेश गर्ने, बढी चिल्लो खानेकुरा र चिनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्नसक्ने क्षमता कमजोर हुँदैन। तर यतिले मात्र पुग्दैन। नियमित शारीरिक व्यायाम गर्ने, तौल बढ्न नदिने र प्रदूषित वातावरणबाट बच्नुपर्छ। सरसफाइमा ध्यान दिने, सात घन्टा नियमित सुत्ने, जंकफुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नुपर्छ।
अर्को महत्वपूर्ण कुरा, नकारात्मक भावना र विचार। भनिन्छ, हृदय रोग, क्यान्सर लगायत करिब ८५ प्रतिशत रोगहरु नकारात्मक भावना र सोचबाट प्रभावित हुन्छन्। यी नकारात्मक भावना र सोचले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिरहेका हुन्छन्।
एउटा उदाहरण
धेरै वर्ष पहिले हिमाली क्षेत्रको एउटा गुफामा एक जना सिद्ध पुरुष बस्थे। उनलाई भेट्न र ज्ञान सिक्नका लागि टाढा–टाढाबाट मानिसहरु आइरहन्थे। नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यही गुफानजिकै आउँदा रहेछन्। ती गोठालाले गुफा वरिपरि मानिसको भिड लागेको हेर्दै समय बिताउने रहेछन्। उनलाई पनि मानिसहरु सिद्ध पुरुषसँग के सिक्न आउने रहेछन् भनेर जान्ने उत्सुकता जागेछ। एक दिन अरु मानिसहरु नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, ‘मलाई पनि केही सिक्न मन लाग्यो, के मैले तपाइँसँग केही सिक्न सक्छु?’
ती सिद्ध पुरुषले गोठालोलाई भनेछन्, ‘हुन्छ सिक्न सक्छौ। तिमी दुई वटा झोला लिएर आऊ।’ गोठालोले २ वटा झोला लिएर आएछन्। सन्तले भनेछन्, ‘तिमी जुन ठाउँमा बसेर धेरै समय बिताउँछौ, त्यहाँ सेतो र कालो रंङका स–साना ढुङ्गा जम्मा पार। एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को बायाँतर्फ राख। अब तिमी तिम्रै मनमा हेर, मनमा कस्ता विचार आउने रहेछन् खोज। राम्रो विचार आयो भने एउटा सेतो ढुङ्गा दाहिनेतिरकोे झोलामा राख। नराम्रो विचार आयो भने बायाँतिरको झोलामा कालो ढुङ्गा राख। २÷३ दिन यो प्राक्टिस गरेपछि मलाई भेट।’
गोठालोले पनि सन्तले भनेबमोजिम गर्न थालेछन्। आफ्नो मनमा हेर्दा नराम्रा विचार नै बढी आउने र राम्रा विचार २÷३ वटा मात्र आउने गरेको पाएछन्। आफ्नाबारे, आफ्ना गाउँका मान्छेबारे, भेडाबारे नराम्रो वा खराब विचार मात्र बढी भेटेछन्।
तीन दिनपछि सन्तकहाँ आएर गोठालोले आफ्नो अनुभव बताएछन्। सुरुसुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुङ्गा झोलामा राख्ने प्राक्टिस गरिराख, केही समयपछि फेरि भेट भनेर सन्तले पठाइदिएछन्। गोठालाले जति धेरै प्राक्टिस गर्दै गए, नराम्रा विचार घट्दै र राम्रा विचार बढ्दै गएको अनुभव गर्न थालेछन्।
भनिन्छ, मानिसका विचार ७५ प्रतिशत नकारात्मक हुन्छन् र तिनैको प्रभावमा परिरहेका हुन्छन्। विचार पनि यति छिटोछिटो आउने र जाने गर्छन् कि थाहा पाउन नै मुस्किल हुन्छ। मन एकत्रित गरेर हेर्न थालियो भने केही समयपछि आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ। जब विचारहरुलाई चिनिन्छ, नकारात्मक विचार किन आयो, के सन्दर्भमा आयो थाहा पाउन सकिन्छ। यदि नराम्रा विचार आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ती स्वतः घट्न थाल्छन् र राम्रा विचार बढ्दै जान्छन् अर्थात सहयोगी भाव, प्रेम भाव बढ्दै जान्छन्।
नकारात्मक भावनाहरुमा रिस, लोभ, घृणा, ईष्र्या र डर मुख्य मानिन्छन्। शरीर, मन र वचनले कसैको हानि नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला। नकारात्मक भावबाट मुक्त हुनको लागि आफूले कसैको मन दुखाएको भए आफैंलाई माफ गर्ने र अरुले आफ्नो मन दुखाएको भए अरुलाई माफ गर्ने प्राक्टिस गर्नुपर्छ। प्रायः मानिसहरु अरुलाई माफ गर्न तयार हुँदैनन्।
जो आफू भित्रको अहम्ले बदलाको भावना लिइरहन्छन्, त्यो नकारात्मक भाव हो। यस्तो गर्नु आफ्नै खाल्डो खन्नु हो, किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको शिकार आफैं भइन्छ। कुनै सर्तविना आफ्नो मन दुखाउने, आफूलाई दुःख दिनेहरुलाई आफ्नो मनमनै माफी दिनु उत्तम हो। मन दुखाउने व्यक्तिकहाँ गएर वा भेटेर ‘मैले माफी दिएँ’ भनरिहनु पर्दैन। आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, इष्र्याको भाव र बदलाको भावको भारी बिसाउने हो, आफू ती भाववाट मुक्त हुनु हो।तर केही व्यक्तिहरु अरुप्रति रिस, घृणा र बदलाको भावना बोकेका कारण चिन्ता रोग, डिप्रेसनका लक्षणहरु लिएर आउने गरेको मैले भेटेको छु।
एक जना अधबैंसे महिला लामो समयदेखि टाउको दुख्ने, मन निराश हुने र निद्रा नलाग्ने समस्या लिएर मकहाँ आउनुभएको थियो। खोतल्दै जाँदा उहाँलाई डिप्रेसन भएको रहेछ। मानसिक तनावका कारण सोद्धा उहाँले भन्नुभयो, ‘मलाई सबै आफन्तजनले धोखा दिएका छ, दुःख दिएका छन् र सताएका छन्।’ मैले तनाव कम गर्नूस्, मनमनै तिनीहरु सबैलाई माफ गर्नू्स अनि छिटो निको हुनुहुन्छ भन्दा उहाँले माफ कुनै पनि हालतमा गर्न नसक्ने बताउनुभएको थियो।
मानिस धेरै कुरालाई लिएर डराइरहेका हुन्छन्, चिन्ता लिइरहेका हुन्छन्। जस्तैः परिवारका सदस्यहरुलाई केही हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि। परिवारसँग समय बिताउँदा बच्चाहरुसँग खेल्दा, योगा वा ध्यान गर्दा यस्ता नकारात्मक सोच घटेर जान्छन्।
नकारात्मक भावनाहरुले मानसिक तनाव बढछ, लगातारको मानसिक तनावले रोगहरुसँग लडने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ। रोग लागेपछि मानसिक तनाव झन् बढ्छ। त्यसैले जो व्यक्ति आक्रामक खालका छन्, रिसाहा प्रवृत्तिका छन्, जहिले पनि दौडधूप मात्र गर्छन्, आराम गर्न चाहँदैनन्, निन्द्रा पुग्दैन, खानपिनमा ध्यान दिँदैनन्, परिवारसँग समय बिताउदैनन् उनीहरुलाई स्वास्थ्य समस्या बढी हुन्छन्। र, कतिलाई हृदयघात हुने खतरासमेत हुन्छ। त्यसैले स्वस्थ रहने हो भने रिस, निराशपन, डर र मानसिक तनावलाई बेवास्ता गर्न हुँदैन। यस्तो समस्या भएमा जीवनशैली सुधार्नुपर्छ।
(डा उपाध्याय मनोचिकित्सक हुन्)