होमियोप्याथिक चिकित्सा पद्धतिका जन्मदाता क्रिस्चियन फ्राड्डरिक स्यामयुल हेनिमेन थिए। डा हेनिमेनको घर जर्मनीमा थियो। उनको जन्म गरिब परिवारमा भएको थियो र उनका पिता पोर्सिलिन पेन्टर थिए।
डा हेनिमेन पहिले एउटा एलोप्याथिक चिकित्सक थिए। उनले मेडिसिनको एमडी डिग्री १७७९ मा प्राप्त गरे। डा हेनिमेनले धेरै भाषा जानेका थिए। अंग्रेजी, फ्रेन्च, इटालियन, ग्रिक र लेटिनमा निपूर्ण थिए उनी। उनले धेरै पुस्तकलाई एक भाषादेखि अर्को भाषामा अनुवाद गरेका थिए।
पुस्तक अनुवादकै क्रममा उनले कुलेन मेटेरिया मेडिकामा सिनकोना औषधिको प्रयोगले मलेरिया रोग ठिक हुन्छ भन्ने लेखेको भेटे। त्यसपछि डा हेनिमेनले सिनकोना औषधिको प्रयोग आफैंमाथि गरे। सिनकोनाको सेवनपछि मलेरिया रोगमा देखापर्ने लक्षण उनको शरीरमा उत्पन्न हुन थाल्यो।
त्यसपछि उनले यो प्रयोग धेरै औषधिमा गर्न थाले। उनी यसपछि यो निष्कर्षमा पुगे– रोगीलाई जुन रोग लाग्छ, त्यो रोग प्राकृतिक हुन्छ र उक्त प्राकृतिक रोगलाई निको पार्न समान लक्षण उत्पन्न गर्ने किसिमको औषधि चयन गरी रोगीलाई सेवन गराई निको पारिन्छ। यो पूरै प्रक्रियालाई उनले लाइक कोर्स लाइक (समःसमःसमयती) सिद्धान्तमा आधारित छ भन्ने बताए।
होमियो चिकित्सा पद्धति भनेको वैकल्पिक औषधिको व्यवस्था हो। जो समानताको सिद्धान्तमा आधारित छ। यो चिकित्सा प्रणाली अत्यन्त सरल, प्रभावकारी तथा नकारात्मक प्रतिक्रियारहित हो।
होमियोप्याथिक चिकित्सामा प्रयोग हुने विभिन्न पदार्थलाई स्वस्थ मानिसको शरीरमा पार्ने प्रभावको परीक्षण प्रक्रियाबाट प्रयोगमा ल्याइएको छ। होमियोप्याथिक उपचार गर्दा होमियो औषधिको मात्रा न्युनतम प्रयोग गर्नुपर्छ, जसले बिरामीको आन्तरिक जिउने शक्तिलाई ऊर्जा प्रदान गर्न सक्षम हुन्छ र शरीरको प्रतिरक्षा गर्ने क्षमता पनि बढाउँछ। जसका कारण पटक–पटक दोहोरिने रोग जरैबाट निको भएर जान्छ।
होमियोप्याथिक चिकित्सा पद्धतिका विशेषता
– रोगको लागि थोरै र कम मात्रामा औषधि प्रयोग गरिनु यसको प्रमुख विशेषता
हो।
– शक्तिकृत होमियोप्याथिक औषधि कुशल चिकित्साको निर्देशनमा प्रयोग गर्दा यसबाट कुनै प्रतिकुल असर र विरुद्ध क्रिया हुँदैन।
– यस पद्धतिमा लामो समयको अनुसन्धान र पूर्ण स्वास्थ्य मानिसमा प्रयोग गरी सत्यापित भएको लक्षणको आधारमा मात्र औषधि प्रयोग गरिने हुँदा यो अत्यन्त प्रभावकारी हुन्छ।
– यस प्रणालीमा नयाँ–पुराना, पटक–पटक दोहोरिने रोगको प्रकृति, ट्युमर, मुसा, किड्नीको पत्थरी, पाइल्स, जोर्नी दुखाइ, हड्डी, खिचेको, नशा च्यापिएको जस्ता रोगको उपचार हुन्छ।
नेपाल होमियोप्याथिक चिकित्सक संघ होमियोप्याथिक चिकित्सा प्रणालीलाई राष्ट्रिय स्वास्थ्य सेवामा समावेश गरी होमियो स्वास्थ्य सेवा गरिबसम्म पु¥याउने आवश्यकताबाट प्रेरित छ।
संस्थाले होमियोप्याथिक चिकित्सा प्रणालीबाट रोगी जनतालाई सरल, सुविधापूर्ण र नकारात्मक प्रतिक्रियारहित तरिकाबाट स्वास्थ्य उपचार गराउने र यसको प्रणालीगत विकासको लागि “नेपाल होमियोप्याथिक मेडिकल काउन्सिल” गठन गर्ने माग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरेको छ। संघको माग भएअनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा होमियोप्याथिक चिकित्सा पद्धतिको विकास तथा विस्तार गर्ने उद्देश्यले तथा यसका समस्याहरु पहिचान गरी आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गर्ने देहाय अनुसारको कार्यदल गठन भएको छ। सो अहिले स्वास्थ्य मन्त्रालयमा प्रतीक्षारत अवस्थामा छ।
होमियोप्याथिक चिकित्सा प्रणाली सरल, सुरक्षित तथा प्राकृतिक र सस्तो भएकोले नेपाल जस्तो देशको लागि अति महत्वपूर्ण छ। नेपालमा होमियोप्याथिक चिकित्सा प्रणालीलाई विकास, विस्तार गर्नका लागि मुख्य कुराहरु जस्तै होमियोप्याथिक काउन्सिल, होमियोप्याथिक स्वास्थ्य नीति, स्वास्थ्य मन्त्रालयमा होमियोप्याथिक डेक्स, होमियोप्याथिक सरकारी शिक्षण अस्पताल तथा रिसर्च सेन्टरको आवश्यकता देखिन्छ।
(डा राय नेपाल होमियोप्याथिक चिकित्सक संघका अध्यक्ष हुन्)