४० वर्षीय सरिता लामाले एक महिनादेखि कुहिनो दुखेर घरको काम गर्न सकिरहेकी थिइनन्। निकै दुखेपछि उनी ओपिडिमा चेक गर्न आइन्। आँटा मुछ्दा, लुगा धुँदा, खेतमा काम गर्दा दुखाइ बढी हुने उनले बताएकी थिइन्। एक महिना काम गर्न नसक्दा हात नै लुलो हुने हो कि भनेर निकै डराइएकी थिइन्। उनको कुहिनो छुँदा दुख्ने र लक्षण हेर्दा टेनिस एल्बो भएको शंका लाग्यो। जाँच गरेर हेर्दा उनलाई टेनिस एल्बो नै भएको पत्ता लाग्यो।
के हो टेनिस एल्बो ?
पहिलापहिला टेनिस खेलाडीलाई बढी देखिने भएकाले यो रोगको नाम टेनिस एल्बो रहन गयो। नेपालमा भने कामकाज गर्ने महिलालाई बढी देखिन्छ यो समस्या। हात धेरै चलाउनुपर्ने मानिसको कुइनोको मासु खिइएर टेनिस एल्बो (कुइनोको मासु खिइने समस्या) हुन्छ। यो समस्या विशेष गरी टेनिस खेलाडी, खाना बनाउने तथा रङ लगाउने व्यक्तिमा बढी देखिन्छ। जोर्नीलाई चलायमान गराउने भनेको मांसपेसीले हो। हात धेरै चलाउँदा मांसपेसी खिइँदै जान्छ र दुखाइ महसुस हुन्छ।
कारण
कुइनामा हड्डीको भित्री र बाहिरी भाग हुन्छ, जहाँ विभिन्न मांसपेसी टाँसिएका हुन्छन्। हात धेरै चलाउँदा बाहिरपट्टिको मांसपेसी रगडिएर चिरा पर्ने गर्छ। यदि यो चिराले (घाउ) ले आराम पाएन र एउटै काम धेरै पटक गरियो भने घाउ ठूलो हँुदै जान्छ वा जेलिएर धेरै दुख्ने गर्छ। घरायसी काम गर्ने महिलाले आराम नपाउने हँुदा यो समस्याले दीर्घ रुप लिन्छ। लामो समय दुख्ने हुँदा पछि हात कमजोर भएको महसुस गरिन्छ।
जोखिमका कारण
महिला र पुरुषमा यो समस्या बराबरी देखिने भए पनि नेपालमा भने घरायसी काम गर्ने ३० वर्षदेखि ५० वर्षसम्मका महिलामा बढी देखिन्छ। टेनिस खेलाडी, खाना बनाउने, चित्र बनाउने, घरमा रङ लगाउने मानिसलाई यो समस्याले बढी सताउँछ।
लक्षण
– तरकारी पकाउँदा, लुगा धुँदा, सामान उचाल्दा, पिठो मुछ्दा हात दुख्ने गर्छ।
– औंलालाई हत्केलामाथि लैजाँदा वा सामान उचाल्दा हात दुख्छ।
– लामो समयसम्म दुखाइ भइराख्यो भने हात कमजोर हुन गई काम गर्न गाह्रो हुन्छ।
– हात सुन्निने, रातो हुने, रङ परिवर्तन हुने।
उपचार
यो समस्या एक्स–रेमा देखिँदैन, त्यसैले धेरैलाई के कारणले दुखेको हो भन्ने थाहा नै हुँदैन। यो समस्याको बारेमा थाहा भएका हाडजोर्नीका चिकित्सकले बिरामीले भनेको लक्षणको आधारमा कुइनो छामेर दुखाइको कारण थाहा पाउन सक्छन्।
दुखाइको कारण थाहा पाइसकेपछि सुरुमा दुखेको ठाउँमा सेक्न र हातलाई आराम गर्न लगाइन्छ। त्यसपछि औषधि दिएर दुखेको ठाउँभन्दा दुई औल तलतिरको भागमा टेनिस एल्बो स्पिलिन्ट लगाउन दिइन्छ। यसो गर्दा पनि निको भएन भने पटकपटक गरी तीन पटक सुई लगाउनुपर्छ। ९५ प्रतिशत बिरामीलाई सुई लगाएपछि निको हुन्छ। यदि सुई लगाउँदा पनि निको भएन भने शल्यक्रिया गर्नुपर्छ।
(डा सापकोटा हाड तथा नशा रोग विशेषज्ञ हुन्)