एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा आएसँगै काउन्सेलिङमा आफूले छान्न पाउने विषयको बारेमा कौतुहलता सबै परीक्षार्थीमा हुन्छ।
कोहीकोही विद्यार्थी कुनै एउटै विषयलाई लिएर अत्यन्तै अडिग हुन्छन् भने धेरैजसोले आफ्नो र्यांकअनुसार एकभन्दा बढी विषयको विकल्प सोचेका हुन्छन्। यो कठिन परिस्थिति हुनसक्छ। त्यस्तोमा यदि प्याथोलोजी पढ्ने सोच बनाउनु भएको छ भने यस विषयसँग सम्बन्धित केही कुरा थाहा पाउनु आवश्यक हुन्छ।
– प्रारम्भ शून्यबाट गर्नुपर्छ: पहिले पहिले एमबिबिएसको दोस्रो वर्षमा पढेको प्याथोलोजी अत्यन्त अस्पष्ट र भ्रमित पार्ने खालको हुन्थ्यो। त्यस बेला माइक्रोस्कोपमा हेरेर रोग चिन्नुको सट्टा स्लाइडको कुन कुना चर्केको छ, त्यो हेरेर डाइग्नोसिस गर्ने चलन बढी हुन्थ्यो। तर एमडीमा त्यो गर्न सकिंदैन। एमबिबिएसमा पढ्ने प्याथोलोजी र एमडीमा पढ्ने प्याथोलोजीमा धेरै भिन्नता छ। त्यतिबेला कुनै रोग कसरी लग्छ भन्नेमा बढी केन्द्रित भइन्थ्यो भने अब कोशिकाहरूको अनुहार चिनेर कसरी डाइग्नोसिस गर्ने, त्यसमा बढी केन्द्रित हुनुपर्ने हुन्छ। एमबिबिबएसमा जानेको, बुझेको प्याथोलोजी एउटा विशाल चट्टानको अत्यन्त सानो टुक्रा मात्र हो।
– प्याथोलोजी सजिलो छैन:प्याथोलोजीमा एमडी गर्ने मन बनाउँदा धेरैलाई लाग्छ, यो अत्यन्तै सजिलो हुनेवाला छ। माइक्रोस्कोप हेर्योइ, रोग थाहा भइहल्यो। यथार्थ योभन्दा धेरै भिन्न छ। माइक्रोस्कोप भित्रको दृश्यले 'म फलानो क्यान्सर हुँ' भन्दैन। त्यसको लागि दिमागलाई धेरै ज्ञान र आँखालाई धेरै ट्रेनिङ दिनुपर्ने हुन्छ।
सजिलो हुने भनी ठानेर पढ्न आएको विषय सुरुको एक वर्ष कुण्ठामै बित्नसक्छ। वर्षौंको अनुभवपछि पनि आफूले पहिला कति पटक हेरिसकेको रोग समेत कहिलेकाहीं चिन्न असमर्थ हुने स्थिति आउनसक्छ। त्यसैले जीवनभर किताबको संगत रहिरहने निश्चित छ।
– स्टेथेस्कोपलाई बाइबाइ भन्न तयार हुनूस्: मुटुको चाल, श्वासको आवाज र आन्द्राको गर्जन सुन्न मात्रै काम लाग्ने भए पनि घाँटीमा झुन्डेको स्टेथेस्कोप डाक्टरको पहिचान भएर गएको छ। प्याथोलोजी छान्नुहुन्छ भने स्टेथेस्कोपलाई बाइबाइ भनी माइक्रोस्कोप समात्न तयार हुनुपर्छ। यसले कहिले काहीं मुटुमा ठेस पुर्याोउन सक्छ। प्याथोलोजी छान्नुहुन्छ भने तपाईंका धेरैजसो बिरामी मासुको टुक्रा बनेर बोतल या जारमा तपाईंकहाँ आउनेछन्।
– रिपोर्ट गलत भए बिरामी झगडा गर्न आउलान् तर कृतज्ञता ज्ञापन गर्न आउने सम्भावना कमै छ: 'डाक्टर भगवान हो' जस्ता शब्द क्लिनिसिएनका लागि मात्रै हुन्छन्। कुनै पनि बिरामीले क्लिनिसिएनले क्यान्सर सोचेर काट्न तयार भएको खुट्टा तपाईंले अर्कै रोग भनेको कारण बच्यो या कसैले टिबी सोचेको रोग तपाईंले क्यान्सर भनेकोले समयमा सही उपचार भयो भनेर धन्यवाद दिन आउने छैनन्।
- तपाईं धेरैको लागि डाक्टरबाट अर्कै पेशामा परिवर्तन हुनु हुनेछ। धेरै पढेलेखेका व्यक्तित्वले सोध्ने छन् कि तपाईं एमबिबिएस गरेको भए पनि किन फेरि प्याथोलोजीमा जानु भयो, तपाईंलाई कार्डियोलोजिस्ट या न्युरोसर्जन देख्न खोज्ने तपाईंका आफन्त दु:खी हुन सक्छन्।
- पढ्ने बेलामा ८० देखि ९० प्रतिशत समय हिस्टो साइटो प्याथोलोजीमा बिताए पनि प्राक्टिस कहाँ गर्दै हुनुहुन्छ त्यसअनुसार हुनसक्छ, तपाईंको धेरैजसो समय अन्य काम गर्दै बित्ला,यो सधैं सबैलाई सुखद नलाग्न सक्छ।
यति भनिसक्दा लाग्ला, प्याथोलोजी पढ्नै नहुने विषय रहेछ। अब यसका उज्याला पक्षहरु हेरौं:
- प्याथोलोजिस्ट भएपछि तपाईंले सम्भवतः रातिको मिठो निन्द्रासँग सम्झौता गर्नु नपर्ला। धेरैजसो समय तपाईं आरामले सुत्न सक्नुहुन्छ। जीवनको गुणस्तरको हिसाबले यो महत्वपूर्ण हुनसक्छ।
- घरमा एउटा माइक्रोस्कोप र कम्प्युटर छ भने धेरै काम तपाईं घरमा बसेर आफ्नो सुविधा र समयअनुसार पनि गर्न सक्नुहुन्छ। रेडिओलोजिस्टलाई बाहेक अन्य डाक्टरलाई यो सुविधा अहिले उपलब्ध भएको मलाई थाहा छैन। तपाईं काम गर्दागर्दै पनि बोर भए या थकाई लागे आफ्नो इच्छाअनुसार उठेर चिया खान, बाथरूम जान या अन्य कुनै ब्रेक लिन सक्नुहुन्छ तर यही सहुलियत ओपिडीमा या अपेरसन कोठामा भएको तपाईंको क्लिनिसियन साथीलाई उपलब्ध नहुनसक्छ।
- प्याथोलोजीमा तपाईंको करिअर धेरै ब्यस्त हुनसक्छ तर तपाईंले चाहेमा काम र जीवनबीच राम्रो सन्तुलन पनि बनाएर राख्न सक्नुहुने छ। सिनेमा हेर्दाहेर्दै बीचैमा मलाई हलमा एक्लै छोडेर मेरो क्निनिसिएन श्रीमान बिदाको दिन अपर्झट अस्पताल कुद्नुपरेको दिन मैले बिर्सेको छैन।
- नेपालमा चिकित्सकीय अभ्यासमा सुधार आउँदै जाँदा प्याथोलोजिस्टको अवश्यकता पनि बढ्दै गएको छ। केन्द्रीय अस्पतालहरुमा नै मागबमोजिम प्याथोलोजिस्ट पुग्न सकेका छैनन्। त्यसैले आउने दिनहरुमा काम पाउन गाह्रो हुने छैन।
- जनमानसले सही उपचारका सही डाइग्नोसिसको महत्व बुझ्दै गएको आभास हामी गरिरहेका छौं। यसले पनि प्याथोलोजिस्टको महत्व बढ्दै जानेछ।
- सबैले ओपिडी र वार्डको भीड र कोलाहल मन पराउँदैनन। त्यस्तोमा प्याथोलोजीले एफएनएसी जस्ता परीक्षणहरुको माध्यमबाट बिरामीको सम्पर्कमा पनि राख्छ भने ओपिडी र वार्डको भीडबाट टाढा पनि राख्छ।
- रिसर्चले देखाउँछ, प्याथोलोजिस्ट आफ्नो करिअरबाट सन्तुष्ट रहन्छन्। अरु विशेषज्ञले रोगको अनुमान लगाउँछन्। प्याथोलोजिस्टले रोग आँखाले हेर्न सक्छन्। आफूले दिएको डाइग्नोसिसले समग्र उपचार प्रणालीमै परिवर्तन ल्याई बिरामीलाई फाइदा भएको देख्दा मन हर्षित र सन्तुस्ट हुने प्रशस्त मौका प्याथोलोजिस्टले पाउँछन्।
- नयाँनयाँ प्रविधिको विकाससँगै प्याथोलोजीको अभ्यास झन्झन् रोचक बन्दै गएको छ। त्यसले आफूलाई डाक्टर मात्र नभई विद्वान साइन्टिस्ट भएको भान हुन्छ।
- बित्तीय हिसाबले पनि प्याथोलोजी मध्यतिर पर्छ। एकदम चलेको सर्जन या गाइनोकोलोजिस्ट जस्तो कमाई नभए पनि भर्खर पास भएकाले पनि दुखी हुने स्थिति छैन।
समग्रमा एमडी/एमएस गर्ने विषय आवेश या रहरले मात्र नभई सोची, विचारी भविष्यमा पछुतो नहुनेगरी छान्नूस्। प्याथोलोजी पढ्ने सोच राख्नुभएको छ भने ऊर्जावान् आकर्षक व्यक्तित्वहरुको माझमा यहाँलाई स्वागत छ।
(डा झा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन्)