२३ चैत २०७५। औषधि बोकेका दुई वटा गाडीसहित २२ जना विशेषज्ञको लावालस्कर करिब ७ सय किलोमिटर टाढा बझाङको एक अनकन्टार गन्तव्यतर्फ दौडिन्छ।
लुम्बिनी अञ्चल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा किशोरप्रसाद खत्रीको नेतृत्वमा केही विशेषज्ञ डाक्टर, ल्याब टेक्निसियन र फर्मासिस्ट सामेल छन् त्यो टोलीमा। बुटवलबाट बिहान करिब ६ बजे हिँडेका हामी पूर्व–पश्चिम राजमार्ग समातेर कोहलपुर, चिसापानी र अत्तरिया हुँदै उत्तर लाग्छौं र पुग्छौं डडेल्धुरा। हाम्रो पहिलो दिनको यात्रा यहीं टुंगिन्छ।
दोस्रो दिनको सुरुवात डडेल्धुराको उग्रतारा मन्दिर दर्शन गरेर सुरु हुन्छ र करिब ९ बजेतिर हामी लाग्छौं गन्तव्य जिल्ला बझाङतर्फ। सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङ, प्राकृतिक रुपमा सुन्दर देखिए तापनि साँघुरो बाटोले यात्रा निकै असजिलो बनाएको छ।
दुई दिनको यात्रा तय गरेर पुगेको बझाङको खप्तडछान्ना गाउँपालिकालाई एउटा विकट गाउँको दर्जामा पनि राखिएको रहेछ। कारण, नजिकमा करिब ३ घन्टाको पैदल दूरी तय गरेपछि एउटा सानो प्राथमिक उपचार केन्द्र आउँछ। जुन यहाँ सबैभन्दा नजिकको एउटा आशाको केन्द्र हो।
सायद त्यहाँका मानिसको एउटा 'अब त निको भइन्छ कि' भन्ने आधार। दुर्भाग्यवश सानो उपचार केन्द्र भएको कारण ठूला उपचारका लागि डडेल्धुरा, धनगढी र नेपालगञ्ज नै धाउनुपर्ने बाध्यता छ।
चैत २५ र २६ गते गरी दुई दिन आयोजित विशेषज्ञ स्वास्थ्य सेवा सहितको नि:शुल्क स्वास्थ्य शिविरमा हामीले करिब ३ हजार जना बिरामीलाई सेवा पुर्यासउन सफल भयौँ, जसमा आँखा रोग विशेषज्ञ डा रोजी कार्की र डा सबिना श्रेष्ठको टोलीले ३२ जनाको मोतिविन्दुको शल्यक्रिया सेवा उपलब्ध गराएको थियो।
त्यस्तै दन्त चिकित्सक डा विजया केसी थापा, डा सचिता थापा र डा डबल खड्काको टोलीले ५३ जनाको आरपिडी (आफैंले राख्न-निकाल्न मिल्ने कृत्रिम दाँत), १ सय ८ जना बिरामीको दाँत निकाल्ने सेवा प्रदान गर्न सफल भयो।
लामो समयदेखि रोगले सताइरहेका तर उपचार नपाएका हजारौं बिरामीले आफ्नै दैलोमा उपचार गराउन पाउँदा हर्षित देख्न सकिन्थ्यो।
यस्तै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा राजेन्द्र बस्यालले पाठेघर खस्ने समस्या भएका ३० जना बिरामीमा रिन्ग्पिसेरी लगाउने, करिब १ दर्जन महिलामा परिवार नियोजनको अस्थाई साधन कपर-टी राख्ने र करिब आधा दर्जनको कपर-टि निकाल्ने काम गर्नुभयो।
यस्तै शिविरमा जिल्लामै उपलब्ध नभएको भिडियो एक्स-रे सेवा टोलीले लगेको पोर्टेबल युएसजी मेसिनमार्फत रेडियोलोजिस्ट डा सुरेश थापाले करिब ३ सय जनाको भिडियो एक्स-रे गर्नुभएको थियो।
त्यसैगरी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा किशोरप्रसाद खत्री, डा कृष्ण खरेल र डा सागर पन्थीको अनि जनरल फिजिसियन डा नन्दु पाठक लगायतको टोलीले हजारभन्दा बढी बिरामीहलाई सेवा पुर्या उन सफल भएका थिए।
सँगसँगै शल्य चिकित्सक डा सुदीप सापकोटाले करिब आधा दर्जन साना शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभयो। बालरोग विशेषज्ञ डा हिम श्रेष्ठले बालबालिकामा देखिएका अनेक समस्याको उपचार गर्नुका साथै परामर्श प्रदान गर्नुभएको थियो। टोलीले आफूसँगै लगेको आधुनिक उपकरणमार्फत ल्याब टेक्निसियन विक्रम खड्का र राधेश्याम चौधरीको सहायतामा ५ सयभन्दा बढी ल्याब परीक्षण गर्नुभएको थियो।
शिविरमा अहेब देवराज जोशी र चेतराज जोशी, त्यसैगरी फार्मेसी असिस्टेन्ट कमल सापकोटा र दिपु केसीले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
भौगोलिक विकटता, स्वास्थ्य चेतनाको कमी र स्वास्थ्य सेवाको असुविधाले आजित खप्तडछान्नाबासीले दैलोमै पाएको स्वास्थ्य सुविधाको लागि धन्यवाद दिंदै सुदूरपश्चिमको प्रख्यात देउडा नाचसहित हामीलाई विदाई गर्न आइपुगे।
आफूले जानेको ज्ञान सदुपयोग गर्दै विकट गाउँका विपन्न मानिसहरुमा सेवा पुर्यााउन सफल बनाइदिएकोमा म लगायतको हाम्रो टोलीले आयोजक श्री रामप्रसाद स्मृति प्रतिष्ठान, सह-प्रायोजकहरु नेसनल लाइफ इन्स्युरेन्स कम्पनी तथा खप्तडछान्ना गाउँपालिकालाई धन्यवाद दिन चाहन्छौं। आशा छ, आगामी दिनमा पनि सेवा गर्ने अवसर पाइयोस्।