धेरैजसो मनोसामाजिक समस्याका कारण भनेको व्यक्तिका आफ्नै मनका अवयवहरु हुन्। मनोवैज्ञानिक भाषामा मनका तीन तह हुन्छन्। ती हुन्, तेस्रो अर्थात् अन्कन्सियस, दोस्रो अर्थात् प्रिकन्सियस र पहिलो अर्थात् कन्सियस।
मनको तेस्रो तहमा व्यक्तिको पूरा हुन नसकेका इच्छा, आकांक्षा, सपना, चाहना, कुन्ठा आदि दबिएर बसेका हुन्छन्। यस्ता तत्वहरुले सजिलो निकास नपाउँदा विकारको रुप लिएर प्रकट हुन्छन्। यसरी पैदा हुने मानसिक समस्यालाई रुपान्तरित विकार भनिन्छ।
रुपान्तरित विकारमा व्यक्तिको मन, स्मरणशक्ति, व्यक्तित्व, परिचय र व्यवहारबीचको समन्वय टुटेर असामान्य वा अस्वभाविक लक्षणहरु देखापर्छन्।
रुपान्तरित विकार धेरै प्रकारका छन्, जसमध्ये केहीको बारेमा यहाँ उल्लेख गरिएको छ।
डिसोसिएटिभ एम्नेसिया
चितवनको सौराहा गुम्न गएकी २५ वर्षीया रेनुका ढकाल (नाम परिवर्तन) बाथरुममा अचेत अवस्थामा भेटिइन्। उनको श्रीमान्ले नजिकैको चितवन मेडिकल कलेजमा लगेर उपचारार्थ भर्ना गरे। उपचारको क्रममा होस त आयो तर उनले न श्रीमान्लाई चिनिन् न त आफ्नो नाम, थर र ठेगाना नै भन्न सकिन्।
उनको टाउकोमा चोट लागेको हो कि भनेर एमआरआई गरियो तर रिपोर्ट सामान्य आयो। अरु जाँच गर्दा पनि केही पत्ता नलागेपछि मनोचिकित्सकको राय मागियो। मनोचिकित्सकले रेनुकालाई डिसोसिएटिभ एम्नेसिया भएको हुनसक्ने बताए। सम्पूर्ण मनोवैज्ञानिक परीक्षणपश्चात् उनलाई केही औषधि दिएर डिस्चार्ज गरियो। घर फर्किएको एक महिनापछि रेनुकालाई सबै कुरा याद आयो। हाल उनी आफ्नो परिवारसँग हाँसीखुसी जीवन बिताइरहेकी छिन्।
डिसोसिएटिभ फ्युग
१८ वर्षकी मनिता विक (नाम परिवर्तन) काठमाडौं, कलंकीमा बाबुसँग बस्छिन्। उनकी आमा धादिङको दुर्गम गाउँमा अर्को छोरीसँग बस्छिन्। मनिताका बाबु पेशाले भरिया हुन्। तर उनी आफूले कमाएको पैसा सबै रक्सीमा खर्चन्छन्।
यतिमात्र नभएर रक्सीको सुरमा कति पटक मनितामाथि यौन हिंसा गरेका छन्। हुँदाहुँदा कति चोटी उनका जँड्याहा साथीहरुले समेत मनितालाई नराम्रो व्यवहार गर्न खोजे। यी सबै कारणले एक दिन मनिता कोठाबाट भागिन्। उनी धादिङवेशी पुगिन् र आफ्नी आमालाई खोज्न थालिन्।
केही वर्ष पहिले उनी आमासँग धादिङवेशी बसेकी रहिछन्। उनी धादिङवेशीमा ४–५ दिन रुमलिँदै हिँड्दै गर्दा एक दिन उनको फुपु–फुपाजुले मनितालाई भेटे। तर उनले आफ्ना फुपु–फुपाजुलाई चिनिनन्। बारम्बार सोध्दा उनी हाल आमासँग धादिङवेशीमै बसेको बताइरहेकी थिइन्। कलंकीमा बाबुसँग बसेको र आफूमाथि भएको हिंसाबारे उनलाई केही ज्ञान भएन। उनकै फुपु–फुपाजुको सहयोगमा उपचारार्थ काठमाडौं ल्याएर उनलाई मानसिक अस्पतालमा भर्ना गरियो।
डिसोसिएटिभ कनभल्जन
१७ वर्षकी स्नेहा चपाइँ (नाम परिवर्तित) लाई बारम्बार मुर्छा पर्ने, हातखुट्टा कडा पार्ने, मुखबाट फिँज निकाल्ने आदि लक्षण देखिए। उनलाई परिवारले उपचारको लागि धेरै ठाउँमा लगे। सिटी स्क्यान, एमआरआई लगायत सबै जाँचहरु गरियो।
सबै रिपोर्ट सामान्य थिए, केही रोग देखिएन। उनले केही औषधि खाइरहेकी थिइन् तर पनि बारम्बार मुर्छा पर्ने क्रम रोकिएन। धेरै बेरसम्म उनी बेहोसी अवस्थामा नै रहन्थिन्। स्नेहाको बुबाले उनलाई मनोरोग क्लिनिकमा लिएर आउनुभयो। मनोरोग क्लिनिकमा उनीसँग धेरै बेर कुरा भयो। कुराकै क्रममा उनको तनावबारे पनि धेरै कुरा प्रष्ट भयो।
उनकी आमाले सिजोफ्रेनिया भन्ने कडा खालको मानसिक रोगको औषधि खाइरहनुभएको रहेछ। एनका बाबु सेनामा कार्यरत हुनुहुन्छ र हाल काठमाडौंमै बस्नुहुन्छ। उनी पाल्पाको एउटा विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। उनकी दिदी भने पोखरामा कक्षा ११ मा विज्ञान विषय पढ्दैछिन्। यी सबै कुरालाई पनि उनले तनावको रुपमा लिएकी थिइन्।
बाबु आमाको मायाबाट वञ्चित हुनुपरेको, आफ्ना आवश्यकताहरु पूरा नभएका आदि कारणले उनमा यस्तो समस्या आएको थियो। मनोवैज्ञानिक परामर्श र उपचारपश्चात् उनको अवस्था राम्रो हुँदै गएको छ। उनको बाबुसँग पनि यसको बारेमा विस्तृत कुराकानी भएको छ र यो समस्या निराकरणका लागि अपनाउनुपर्ने उपायहरु सिकाइएको छ।
मास कनभर्जन/मास हिस्टेरिया
२०७३ साल असार महिना, स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत रहँदा ललितपुरको दुर्गम गाउँ गिम्दी जाने साइत जु¥यो। कारण थियो, त्यहाँको स्कुल सरस्वती माविमा फैलिएको अज्ञात रोग। मानसिक अस्पतालबाट एक जना कन्सलट्यान्टसहित म र टिपिओ नेपालबाट तीन जना काउन्सिलर गिम्दीतर्फ लाग्यौं।
वर्षाले अवरुद्ध पारे पनि त्यहाँको स्थिति सहज बनाउने दृढतासहित हामी गिम्दी पुग्यौं। त्यहाँ पुगेपछि थाहा भयो, धेरैजसो कक्षा ६, ९ र १० का छात्राहरु बेहोस हुने समस्या रहेछ। हाम्रो टोलीले प्रत्येक पीडित विद्यार्थीको मनोवैज्ञानिक जाँच तथा परामर्श ग¥यौं। त्यस्तो समस्या भएकामध्ये कक्षा ९ मा पढ्ने एउटी छात्रा सुरुमा बेहोस भएकी रहिछन्।
उनलाई टाउको दुख्ने, आँखा पोल्ने, विस्तारै आँखा नदेख्ने, कमजोरी हुने, खुट्टा गल्ने हुँदै बेहोस हुने लक्षण देखिएको रहेछ। उनमा त्यस्तो समस्या देखिएपछि विस्तारै त्यस्तै समस्या उनका अरु साथीहरु र अन्य कक्षाका अरु विद्यार्थीमा पनि देखिन थाल्यो। यस्तो अचम्मको समस्या देखिएपछि स्कुलमा पूजाआजा गर्नेदेखि विभिन्न उपाय अपनाइयो तर समस्या ज्यूँका त्यूँ।
कतिपय अभिभावकले पहिले चिहान भएको ठाउँमा स्कुल बनाएकाले त्यस्तो विपपत्त परेको र स्कुल अन्यत्र सार्नुपर्ने अडान लिए। हामीले शिक्षक–शिक्षिकासँग कुराकानी गरेपछि प्रत्येक कक्षामा गएर सो रोगको बारेमा बतायौं।
यसरी सम्पूर्ण जानकारी गराएपछि र यो कुनै विशेष कडा खालको रोग होइन, भनी बुझाउन सफल भयौं। तनावको कारणले यस्तो समस्या हुने हुनाले सबैलाई हामीले तनाव व्यवस्थापनका उपायहरु सिकायौं। त्यसपछि विस्तारै विद्यार्थीहरु बेहोस हुने क्रम रोकियो र अवस्था सहज भएपछि हाम्रो टोली काठमाडौं फर्कियो।
उपचार
रुपान्तरित विकार अर्थात् डिसोसिएटिभ डिसअर्डरको उपचार मनोवैज्ञानिक पद्धतिबाट गर्नुपर्छ। कोग्नेटिभ थेरापी, हिप्नोसिस् आदि उपचारका विधि हुन्। त्यसो त यस समस्याकै लागि भनेर विशेष औषधि छैन। यस रोगसँग जोडिएर आउने मनोसामाजिक समस्याहरुको निराकरण गरी उपयुक्त औषधोपचार गर्नुपर्छ।
यस्ता समस्याहरु नहुन् भन्नका निम्ति तनावपूर्ण अवस्थामा काम नगर्ने, तनावलाई सही ढंगले व्यवस्थापन गर्ने आदि कुराहरु सिकाइन्छन्। भूत–प्रेत वा अन्य कारणले यस्तो समस्या आएको भन्दै खाली धामी–झाँक्री वा ‘माता’ को मात्र भर परेमा समस्याले विकराल रुप लिई उपचारमा कठिनाइ समेत आउनसक्छ। त्यसैले सकेसम्म चाँडो मनोचिकित्सक र मनोविद्लाई भेटी यो समस्याबाट मुक्ति पाउने उपायको खोजी गर्नुपर्छ।