मृत्युको मुख्य कारणमध्ये उच्च रक्तचाप पनि एक हो। उच्च रक्तचापकै कारण हृदयाघात, मस्तिष्कघात र अन्य मुटुका रोगहरु लाग्ने गर्दछन्। विश्वमा प्रतिवर्ष करिब एक करोड मानिसले उच्च रक्तचापका कारण ज्यान गुमाउने गरेको विभिन्न तथ्यांकले देखाएका छन्। नेपालमा भने प्रतिवर्ष ३३ हजारभन्दा बढी मानिसले यही रोगका कारण ज्यान गुमाइरहेको देखिन्छ।
उच्च रक्तचापका कारण ज्यान गुमाउनेहरुको जीवन सजिलै बचाउन सकिने भएपनि आधाभन्दा बढी मानिसहरुलाई यो रोग भएको जानकारीसम्म पनि भएको पाइँदैन।
अन्तराष्ट्रिय उच्च रक्तचाप समाजले सन् २०१७ देखि अंग्रेजी संवत् अनुसार मे महिनालाई उच्च रक्तचाप सम्बन्धी जनचेतना जगाउने महिनाका रुपमा अभियान सुरु गरेको छ। यो अभियानमा विश्वभरबाट सन् २०१७ मा करिब १२ लाख र सन् २०१८ मा करिब १५ लाख जनाले मानिसहरुको रक्तचाप नाप्ने, उनीहरुलाई स्वस्थ जीवनशैली बारेमा जानकारी दिने र उच्च रक्तचाप देखिएका बिरामीहरुलाई स्वास्थ्य संस्थामा पठाउने गरेको थियो। सन् २०१९ को अभियान मे १(वैशाख १८)बाट शुरु भएको छ।
स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार दुई तिहाई मानिसको मृत्युको मुख्य कारण नसर्ने रोग हो। मुटुसँग सम्बधित रोगले मात्र १६ प्रतिशतभन्दा बढी मानिसले ज्यान गुमाउनु परेको सो तथ्यांकले उल्लेख गरेको छ।
सहरीकरणसँगै बढेको खानपानको शैली परिवर्तन, वातावरणीय प्रदुषण, अस्वस्थकर जीवनशैली, धुमपान, मद्यपान, नुन धेरै खाने, मोटोपना, शारीरिक व्यायामको कमी, आदिका कारणले नेपालीहरुमा उच्च रक्तचाप हुने गरेको देखिन्छ। महत्वपूर्ण पक्ष के छ भने अझ पनि धेरै नेपालीहरु आफ्नो रक्तचापको अवास्थाबारे अनविज्ञ छन्। नियमित चक्तचाप नाप्ने गरेका छैनन्। जान्ने बुझ्नेहरूले पनि 'रक्तचाप भएको थाहा भएमा जीवनभर औषधि खानुपर्छ' भन्ठानेर जाँच नै नगरी बस्ने नेपाली भेट्न गाह्रो छैन।
यस अभियानअन्तर्गत नेपालमा सन् २०१७ मा करिब ६ हजार जनाको, सन् २०१८ मा करिब १५ हजार जनाको रक्तचाप नापिएको थियो।
सन् २०१८ को मे महिनामा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको रक्तचाप नापेर यो कार्यक्रम सुरु गरिएको थियो। उक्त कार्यक्रम देशव्यापी रुपमा संचालन भएको थियो।
रक्तचाप किन नाप्नु पर्दछ भनेर वरिष्ठ चिकित्सकहरु डा. मृगेन्द्रराज पाण्डे, डा. भगवान कोइराला, डा. अर्जुन कार्की र डा. प्रकाशराज रेग्मीले दिएका संदेशहरु सामाजिक सञ्जालमार्फत् प्रसारण गरिएको थियो। फेसबुक, ट्विटरजस्ता समाजिक संजालबाट समेत स्वास्थ्य शिक्षा तथा सूचना प्रवाह गरिएको थियो। देशभर ५ सय जना स्वयंसेवकहरु विभिन्न ठाँउमा निःशुल्क रक्तचाप नाप्न र स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि परिचालन गरिएको थियो।
यो स्वयंसेवी अभियानमा विभिन्न शैक्षिक संस्थामा मेडिकल, नर्सिङ र जनस्वास्थ्य अध्ययनरत विधार्थी तथा महिला स्वास्थ्य संयसेविका र स्वाथ्यकर्मीहरुले सहयोग गर्दै आएका छन्।
अभियानले मानिसहरुमा बेलाबेलामा रक्तचाप नाप्नु पर्दछ र उच्च रक्तचाप भएमा चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुपर्दछ भन्ने संदेश दिँदै आएको छ।
मानिसलाई उच्च रक्तचापको जोखिमजस्तै धुमपान, मद्यपान, नुन धेरै खाने, मोटोपना, शारीरिक व्यायामको कमी, सागसब्जी र फलफूल थोरै खाने बानी परिवर्तन गरी स्वस्थ जीवनशैली अपनाउनु पर्दछ भनेर स्पष्ट सन्देश दिँदै आएको छ।
सन् २०१७ र २०१८ मा यो अभियान प्रभावकारी देखिएकोले २०१९ को मे महिनालाई पनि रक्तचाप नाप्ने महिनाको रुपमा अभियान चलाइएको छ। ५ सय जनाभन्दा बढी चिकित्सा, जनस्वास्थ्य र नर्सिङ अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक तालिम र सामग्री प्रदान गरी विभिन्न ठाउँमा परिचालन गरी वहाँहरुले काम गरिरहनु भएको छ।
यो वर्ष कम्तीमा पनि ५० हजार वयस्क मानिसको रक्तचाप नाप्ने र धेरैभन्दा धेरै मानिसहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ।
यसको अर्थ मे महिनामा मात्र रक्तचाप मापन गनुपर्छ भन्ने कदापि होइन। रक्तचाप नियमित नाप्नजाँच गर्नु पर्छ। तपाईहरु पनि यदि आफ्नो रक्तचापको बारेमा अनविज्ञ हुनुहुन्छ भने आफूलाइ पायक पर्ने स्थानमा गई जँचाउन सक्नुहुन्छ। अरुलाई पनि रक्तचाप नाप्न प्रेरित गर्नु भए यो अभियान थप सफल हुनुका साथै धेरैलाई सचेतता अपनाउन सहयोग गर्न सक्छ।
-(डा. न्यौपाने, 'मे महिनामा रक्तचाप नापौँ अभियान नेपाल'का संयोजक हुन् भने भट्टराई, सोही अभियानका नेपाल प्रमुख हुन्।)