प्रशोधित खानेकुरा, पेय पदार्थ, चकलेट, जुस, जंकफुड आदिलाई गुलियो बनाउन प्रयोग गरिने मकैबाट निकालिएको, उच्च मात्रामा फ्रुक्टोज भएको गुलियो घोललाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ।
खानेकुरामा कृत्रिम मधुरता उत्पन्न गराउनका लागि खाद्य एवं पेय पदार्थहरुमा हाई फ्रुक्टोज कर्न सिरपको प्रयोग गरिन्छ। यस सिरपमा फ्रुक्टोजको मात्रा अत्यधिक हुने हुँदा चिनीभन्दा पनि गुलियो हुन्छ। सामान्य चिनी जस्तै यसको केमिकल कम्पोजिसन पनि ग्लुकोज र फ्रुक्टोजले बनेको हुन्छ।
उच्च मात्रामा फ्रुक्टोज भएको कारणले यस यौगिकले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई मध्यनजर गर्दै चर्को बहस हुने गरेको छ। धेरै विज्ञहरू यस यौगिकलाई चिनीभन्दा पनि हानिकारक तत्वको रुपमा प्रस्तुत गर्न रुचाउँछन् भने केही वैज्ञानिकहरूले चिनीकै बराबरको गुणधर्मी यौगिकका रूपमा व्याख्या गर्दै आएका छन्। यसरी स्वास्थ्य क्षेत्रका विज्ञहरुले नै प्रश्न उठाएर यसले स्वास्थ्यमा पार्ने प्रतिकूल असरको बारेमा वकालत गरिरहेको यो सिरपका बारेमा केही तथ्यहरु यहाँ प्रस्तुत गरिएको छः
– हाई फ्रुक्टोज कर्न सिरपको उत्पादन प्रायःजसो जेनेटिक रुपमा परिवर्तन गरेर उत्पादन गरिएको मकैबाट गरिन्छ। उत्पादनका क्रममा सर्वप्रथम मकैलाई पिसेर यसको पिठो झिकिन्छ, पिठोको माड बनाइन्छ र माडलाई प्रशोधन गरेर सिरप बनाइन्छ।
– मकैको पिठोको माडमा मुख्यतः स्टार्च नै हुन्छ। स्टार्च ग्लुकोजको पोलिसेक्केराइड हो। सिरप बनाउँदा स्टार्चबाट सर्वप्रथम ग्लुकोज बनाइन्छ। ग्लुकोज त्यति गुलियो द्रव्य होइन। मकैको पिठोमा भएको ग्लुकोजलाई चिनी जस्तै गुलियो बनाउनका लागि यसलाई फ्रुक्टोजमा परिवर्तन गर्ने गरिन्छ। यसरी ग्लुकोजलाई ग्लुकोज आइसोमरेज नामक इन्जायमको प्रयोगद्वारा फ्रुक्टोजमा परिवर्तन गरिसकेपछि फ्रुक्टोजको प्रतिशतको आधारमा यो सिरप चिनी जत्तिकै या चिनीभन्दा पनि गुलियो बन्छ। फ्रुक्टोजको प्रतिशतकै आधारमा नै नम्बरिङ हुन्छ। यदि कुनै बोतलमा ‘हाई फ्रुक्टोज कर्न सिरप ९०’ लेखिएको छ भने ९० प्रतिशत फ्रुक्टोज र १० प्रतिशत ग्लुकोज छ भन्ने बुभ्mनु पर्छ।
स्वास्थ्यमा प्रभाव
अत्यधिक फ्रुक्टोज भएको कर्न सिरप स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। फ्रुक्टोजलाई पचाउने शरीरको मुख्य अंग कलेजो हो तर उच्च मात्रामा फ्रुक्टोज भएको कर्न सिरपको सेवन गर्दा कलेजो फ्रुक्टोजले भरिन्छ। कलेजोले त्यो फ्रुक्टोजलाई बोसोमा बदलिदिन्छ र कलेजोमा बोसो लाग्न पुग्छ। उच्च मात्रामा कृत्रिम फ्रुक्टोजको प्रयोग फ्याट्टी लिवर, इन्सुलिन, रसिस्टेन्ट, मेटाबोलिक सिन्ड्रोम मोटोपन, मधुमेह, मुटुरोग जस्ता समस्याको कारण हो।
हाई फ्रुक्टोज कर्न सिरपलाई चिकित्सा विज्ञहरु अनियन्त्रित रुपमा पैmलिँदै गएको मोटोपनकोे कारण मान्छन्। किनभने उच्च मात्रामा फ्रुक्टोजको सेवन गर्दा ग्लुकोज जस्तै फ्रुक्टोज सिधै प्रयोग हुन सक्दैन। पहिले यसलाई चिल्लो वा ग्लाइकोजनमा बदल्नुपर्छ। यो काम कलेजोका कोषहरुले गर्छन्।
उच्च मात्रामा फ्रुक्टोज लिँदा कलेजोकै कोषहरुमा अत्यधिक ग्लाइकोजेन र बोसो लाग्न थाल्छ, जसलाई चिकित्सकीय भाषामा फ्याट्टी लिभर भनिन्छ। लिवरमा धेरै बोसो लाग्न थालेपछि यो प्रक्रिया शरीरका अन्य कोषहरुमा पनि सुरु हुन्छ र मान्छे मोटाउन थाल्छ। एउटा अध्ययनले देखाएअनुरुप ३ हप्तासम्म उच्च मात्रामा कर्न सिरपको प्रयोगले २७ प्रतिशत फ्याट्टी लिवरलाई बढाएको पुष्टि गरेको छ।
कर्न सिरफको प्रयोगले शरीरका कोमल अंगहरुमा बोसो लाग्न थाल्छ। कोमल अंगहरु जस्तै कलेजो, मुटु, मिर्गौला, फियो, फोक्सो, आन्द्रा, भुँडीमा बोसो लाग्नु मुटुरोग र मधुमेह जस्ता कयौं रोगहरुको कारण हुन्। यसका साथै कर्न सिरपको सेवनले शरीरमा अतिरिक्त क्यालोरी लोड थपिन्छ। अनुसन्धानले देखाएअनुरुप कर्न सिरपको प्रयोगबाट मान्छे ५०० अतिरिक्त क्यालोरी लिइरहेको छ।
उच्च मात्रामा फ्रुक्टोजको सेवनले कोषहरुको इन्सुलिन पहिचान क्षमतामा पनि ह्रास आउँछ। यसो हुनुको मुख्य कारण फ्रुक्टोज इन्सुलिन डिपेन्डेन्ट गुलियो होइन। खानामा धेरै मात्रामा फ्रुक्टोज भइराखे इन्सुलिन असंवेदनशिलता विकसित हुने र मोटाबोलिक सिन्ड्रोमको समस्या देखिने गर्छ। उच्च मात्रामा कर्न सिरफको सेवनले इन्फ्लामेसनलाई पनि बढाउँछ।
इन्सुलिन रसिस्टेन्टले ट्युमर ग्रोथलाई पनि बढाउँछ। उच्च फ्रुक्टोजको सेवनले शरीरमा विभिन्न किसिमका हानिकारक प्रोटिनको उत्पादन हुने हुँदा यी तत्वले इन्फ्लामेसनलाई बढाउने कोषहरुलाई चाँडै रूग्ण बनाउने गर्छ। फ्रुक्टोजको सेवनले युरिक एसिडको उत्पादनलाई पनि बढाउँछ।
कर्न सिरफको प्रयोगले मुटुरोगको खतरालाई ४ गुणा बढाइदिन्छ। यसको कारण इन्सुलिन प्रतिरोध उत्पन्न हुनु, एडभान्स ग्लाइकेसन एन्ड प्रोडक्टको उत्पादन हुनु, नशाको भित्री पत्रमा भ्यासो इन्फ्लामेसन हुनु, बोसो जम्न लाग्ने क्रिया अनियन्त्रित हुनु आदिले हो।
कर्न सिरफमा केवल उच्च क्यालोरी मात्र छ। अन्य आधारभूत एवं आवश्यक न्युट्रिसन/पौष्टिक तत्वहरु हुने नभएकाले यसले शरीरमा अतिरिक्त क्यालेरी मात्र थप्छ। यसरी अतिरिक्त क्यालोरी थपिँदा मेटाबोलिक सिन्ड्रोमको खतरा बढ्दछ।
(डा कोइराला भरतपुर–१ स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्)