व्यवसायी नवीन बाँस्तोला ४८ वर्षका भए। उनी प्रायः गाडीमा हिँड्थे। व्यायाम गर्ने फुर्सद नै थिएन। दैनिक जस्तै मासु खान्थे। फलफूल, सागसब्जी त्यति रुचाउँदैनथे।
उमेर प्रौढ हुँदै गएको र पेट एवं तौल बढ्दै गएकाले उनी तीन महिनाअघि ‘होल वडी चेक अप’ गराउन राजधानीको प्रतिष्ठित अस्पतालमा पुगे। परीक्षणको क्रममा डाक्टरले रक्तचाप बढेको, रगतमा ग्लुकोज (सुगर) एवं ट्राइग्लिसेरायडको मात्रा बढेको बताए। रक्तचाप, सुगर, ट्राइग्लिसेरायड एकसाथ बढेको थाहा पाएर आत्तिएका बाँस्तोला जीवनशैलीमा सामान्य परिवर्तन गरेर यो समस्याबाट मुक्त हुन सकिने सम्भावनायुक्त परामर्श डाक्टरबाट पाएर ढुक्क भए।
उनी विगत तीन महिनादेखि डाक्टरको सल्लाहअनुसार दैनिक फलफूल एवं सागसब्जी खान थालेका छन्। मासु–अन्डा हप्तामा एक दिन सीमित गरेका छन्। चाउमिन, मःम आदि फास्टफुड भरसक खाँदैनन्। आलु–चिप्स जस्ता धेरै नुनिला प्याकेटका तयारी खानेकुरा खाँदैनन्। छिमेकीहरुसँग बिहान दैनिक व्याडमिन्टन खेल्छन्।
उनको ‘फ्रिज’मा पहिले थरीथरीका मासुका परिकार हुन्थे। अहिले थरीथरीका फलफूल हुन्छन्। उनको पेटको बोसो एवं तौल दुवै कम भएको छ। रक्तचाप, रगतमा चिनीको मात्रा एवं ट्राइग्लिसेरायड पनि सामान्य भएको छ। उनले केही महिनाको परिवर्तित जीवनशैलीका कारण स्वस्थ जीवन पाएका छन् र धेरै किसिमका जटिलताबाट पनि बच्न सफल भएका छन्। उनले यही जीवनशैलीलाई निरन्तरता दिने संकल्प पनि गरेका छन्।
के हो ‘मेटाबोलिक सिन्ड्रोम’?
रक्तचाप वृद्धि हुने, रगतमा ग्लुकोज (सुगर÷चिनी) को मात्रा बढ्ने, रगतमा ट्राइग्लिसेरायड (रगतमा हुने एक प्रकारको बोसो) वृद्धि हुने एवं असल अर्थात् हितकर कोलेस्टेरोल (एचडिएल) को मात्रा कम हुने– यी चारमध्ये कम्तीमा दुई र पेटमा बोसो लागेर कम्मरको नाप (गोलाइ) बढ्ने गरेर जम्मा तीन अवस्थाहरु विद्यमान छन् भने त्यसलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ। यी पाँचमध्ये चार वा पाँच वटै अवस्था यदि कसैलाई छ भने जोखिम धेरै हुन्छ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) का अनुसार संसारको २० देखि २५ प्रतिशत वयस्क जनसंख्या यो समस्याबाट पीडित छ। प्रत्येक तीनमध्ये एक वयस्क अमेरिकी यसबाट ग्रस्त छन्। स्टेप्स सर्वेअनुसार नेपालका १५ देखि ६९ वर्ष सम्मका व्यक्तिमध्ये १५ प्रतिशतलाई मेटाबोलिक सिन्ड्रोमको समस्या छ।
स्वस्थ वयस्क व्यक्तिको औसत रक्तचाप १२०÷८० मिमि अफ मर्करी हुन्छ। रक्तचाप १३०/८५ मिमि अफ मर्करीभन्दा बढी हुनु जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकताको सूचक हो। त्यस्तै कम्मरको नाप पुरुषमा ३६ इन्च (९० सेमि) भन्दा बढी एवं महिलामा ३२ इन्च (८० सेमि) भन्दा बढी हुनु जोखिमको सूचक हो।
बेलुकाको खाना खाएर सुतेपछि (आठ घन्टा केही नखाई) बिहान खाली पेटमा जाँच गर्दा रगतमा चिनीको मात्रा १०० मिग्रा/डेलिभन्दा बढी छ भने यो पनि मेटाबोलिक सिन्ड्रोमको एउटा सूचक हो। त्यस्तै ट्राइग्लिसेरायड १५० मिग्रा÷डिएलभन्दा बढी हुनु र ‘असल’ कोलेस्टेरोल पुरुषमा ४० मिग्रा÷डिएलभन्दा कम एवं महिलामा ५० मिग्रा/डिएलभन्दा कम हुनु अर्को संकेत हो।
मेटाबोलिक सिन्ड्रोम भएको व्यक्तिलाई मधुमेह रोग हुने सम्भावना सामान्य (मेटाबोलिक सिन्ड्रोम नभएको) व्यक्तिलाई भन्दा पाँच गुणा बढी हुन्छ। त्यस्तै हृदयघात एवं मस्तिष्कघात हुने सम्भावना तीन गुणा बढी हु्न्छ। उच्च रक्तचापको औषधि खानुपर्ने अवस्था आउने सम्भावना धेरै हुन्छ।
मधुमेह एवं उच्च रक्तचाप भइसकेपछि जीवनभर औषधि खानुपर्ने हुनसक्छ। रोग बढ्दै गएपछि औषधिको संख्या एवं मात्रा बढाउँदै लैजानुपर्ने हुन्छ। लामो समय नियमित औषधि सेवन गर्दा औषधिको पाश्र्वप्रभाव (साइड इफेक्ट) को कारण पनि विभिन्न समस्याहरु आइरहने हुनसक्छ। यी रोगहरुको परिणामस्वरुप आँखा धमिलो हुने वा अन्धोपन हुने, नशा एवं रक्तनलीमा समस्या आउने, मुटुरोग हुने, मिर्गौला फेल हुँदै जाने हुन्छ। त्यसबाट उत्पन्न शारीरिक कष्ट एवं मानसिक तनाव तथा पारिवारिक, सामाजिक र आर्थिक जीवनमा पर्ने प्रभाव महँगो पर्न जान्छ। त्यसैले नै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भनिएको हो।
शारीरिक मोटोपनबाहेक सामान्यतयाः रगतमा ‘सुगर’ एवं रक्तचाप धेरै वृद्धि नहँुदासम्म मेटाबोलिक सिन्ड्रोमको खासै कुनै लक्षण नदेखिने हुँदा यो अवस्थाबाट ग्रसित भएको धेरैलाई थाहा नै हँुदैन र थाहा भए पनि बिरामीहरुले गम्भीर रुपमा लिने गरेको पाइँदैन। तर यसको परिणामस्वरुप ज्यानै जानसक्ने वा जीवनलाई कष्टकर बनाउने ‘प्यारालाइसिस’ (‘स्ट्रोक’ अर्थात मस्तिष्कघातको परिणामस्वरुप) एवं हृदयघात हुनसक्छ। उच्च रक्तचाप एवं उच्च ट्राइग्लिसेरायडको कारणले शरीरको रक्तनलीमा बोसो जम्मा भई रक्तनली साँघुरो भएर वा फुटेर मुटु एवं मस्तिष्कमा पर्याप्त मात्रामा पोषक तत्व एवं अक्सिजन नपुगेर मुटु दुख्ने (एन्जाइना), हृदयघात एवं मस्तिष्कघात हुनसक्छ।
किन हुन्छ?
मोटोपन नै यो समस्याको मुख्य कारण हो। साथै उमेर बढ्दै जाँदा मेटाबोलिक सिन्ड्रोमको समस्या पनि बढ्दै जान्छ। कसै–कसैलाई वंशाणुगत रुपमा पनि हुनसक्छ। तर वंशाणुगत छ भन्दैमा सबैलाई यो समस्या हुन्छ नै भन्ने होइन।
आजको दिनमा खान नपाएरभन्दा खान नजानेर रोगी हुनेको संख्या धेरै छ। मोटोपनको मुख्य कारण सहरी जीवनशैली हो। मोटोपन बढ्नुमा जंक फुड (पत्रु खाना) एवं फास्ट फुडको ठूलो भूमिका छ। धेरै मात्रामा गुलियो र चिल्लो पदार्थ सेवन गर्ने तर शारीरिक श्रम वा व्यायाम नगर्ने व्यक्ति मोटो हुने सम्भावना बढी हुन्छ। धेरै खाने तर त्यसअनुरुपको शारीरिक वा मानसिक श्रम नगर्नु नै यसको मूल कारण हो।
आमासयको ठिक तल प्यान्क्रियाज नामको ग्रन्थी हुन्छ। यसले इन्सुलिन हर्मोन निकाल्छ। रगतमा चिनीको मात्रा सन्तुलित राख्न यो अत्यावश्यक हुन्छ। शरीरमा बोसो वृद्धि भएको अवस्थामा हाम्रो शरीरका कोषहरुले इन्सुलिन हर्मोनको राम्ररी उपयोग गर्न सक्दैनन्। सामान्य मात्रामा उत्पादित इन्सुलिन यसरी उपयोग हुन नसक्ने अवस्थालाई ‘इन्सुलिन रेसिस्टेन्स’ भनिन्छ। इन्सुलिन रेसिस्टेन्स हुने हुनाले मेटाबोलिक सिन्ड्रोमलाई कहिलेकाहीँ ‘इन्सुलिन रेसिस्टेन्स सिन्ड्रोम’ पनि भनिन्छ।
बच्ने उपाय के छ?
मेटाबोलिक सिन्ड्रोमको सुरुकै अवस्थामा औषधिको सेवन गर्नुपर्दैन। जीवनशैलीमा सामान्य परिवर्तन गरेर प्राणघातक एवं कष्टकर रोग लाग्नै नदिन वा केही समय पर धकेल्न सकिन्छ। के गर्न सकिन्छ त?
- पशु एवं पक्षीबाट प्राप्त मासु, अन्डा, दूध, दही, घिउ, पनीर, चिज आदि कम खाने।
- दैनिक चार–पाँच वटा फलफूल (स्याउ, अंगुर, केरा, सुन्तला, अनार, नासपाती, आँप, भँुइकटहर, मेवा, खरबुजा आदि मौसम अनुसार), सागसब्जी (रायो, तोरी, चम्सुर, पालुंगो, बेथे, आदि), सलाद (काँक्रो, गाँजर, मूला, चुकन्दर, बन्दा आदि) सेवन गर्ने। तर फलफूल तथा सलाद खाँदा खानाको साथमा नखाई ब्रेकफास्ट वा दिउँसो नास्ताको रुपमा वा अन्य समयमा खाने।
- दैनिक सानो चिया चम्चाको १ चम्चा (५ ग्राम) भन्दा बढी नुन सेवन नगर्ने। (स्मरण रहोस्, हामी नेपाली दिनभरिमा औसतमा करिब १० ग्राम नुन खाने गर्छौं।) त्यसको लागि दाल तरकारीमा ठिकै मात्रामा नुन खाने र अन्य नुनिलो खानेकुरा जस्तैः नुनिलो बिस्कुट, दालमोठ, प्याकेटमा तयारी रुपमा उपलब्ध एवं बट्टा बन्द नुनयुक्त खाद्यपदार्थ नखानु उत्तम हुन्छ।
- चाउमिन, मःम, पिज्जा, पास्ता जस्ता फास्टफुड एवं बेकरी बाध्यात्मक अवस्थामा बाहेक नखाने। नास्ताको रुपमा गहुँ, कोदोको पिठो एवं आँटाको रोटी, गहुँ–जौको चिउरा, गेडागुडी भिजाएर बनाइएको अमृत भोजन, क्वाँटी, मकै–भटमास आदि घरैमा बनाएको ताजा खानेकुरा खाने।
- कोका–कोला, फेन्टा आदि अत्यधिक गुलियो पेय एवं रेडबुल जस्ता ‘इनर्जी ड्रिंक’ प्रयोग नगर्ने। साथै धेरै चिनीयुक्त हुनाले मिठाइहरु पनि नखाएकै राम्रो हुन्छ।
- दैनिक रुपमा बिहान चाँडै उठेर ३०–४५ मिनेट योग आसन, प्राणायाम, ध्यान गर्ने। यसले शारीरिक व्यायाम मात्र नभई तनाव व्यवस्थापन गरेर मनलाई प्रसन्न राख्न मद्दत गर्छ। प्रसन्नचित्त व्यक्तिले नै स्वस्थकर जीवनशैली अपनाउने हुन्छ। तनावग्रस्त मनस्थितिमा आहार–बिहारमा गडबडी हुने सम्भावना बढी हुन्छ।
- त्यस्तै ‘मर्निङ वाक’ गर्ने, व्याडमिन्टन, टेबलटेनिस आदि खेल खेल्ने, साइक्लिङ गर्ने, पौडी खेल्ने अर्थात् कुनै न कुनै रुपमा शारीरिक रुपमा सक्रिय रहने।
- केही आयुर्वेदिक जडिबुटी एवं भान्सामा प्रयोग गर्न सकिने उपायहरुः हर्रो, बर्रो, अमला, निम, बेल, जामुन, शिलाजित, बेसार, मेथी, अदुवा, कागती, करेला, परबल आदि।
- धूमपान एवं मद्यपान गर्ने बानी छ भने चटक्कै त्यागिदिने। पैसा हालेर रोग किन्नु मुर्खता हो।
- आवश्यक परेमा चिकित्सकीय परामर्शअनुसार औषधि सेवन गर्ने।
(डा कार्की केन्द्रीय आयुर्वेद विद्यापीठ दाङका उप–प्राध्यापक हुन्)