भक्तपुरका ४७ वर्षीय देव नकर्मी विगत १ महिनादेखि दाहिने हात माथि लान नसक्ने अवस्थामा रहेछन्। संयोगले आफन्तको घरमा गएका बेला मैले उनको समस्याका बारेमा थाहा पाएँ। त्यसपछि म उनको घरमा गएर सामान्य उपचार गरिदिएँ। १० मिनेट जति लगाएर मैले उनको हातमा ११ वटा ठाउँमा दबाएँ र हात माथि उठाउन लगाएँ।
बिना दुखाइ उनको हात माथि गयो। उनी अचम्मित भए। र, मतिर हेर्दै भन्न लागे, 'तपाईंले त जादु नै गरिदिनुभयो।' वास्तवमा त्यो जादु थिएन, आयुर्वेद चिकित्सा विज्ञानको एक अब्बल चिकित्सा पद्धतिको अभ्यास थियो- मर्म चिकित्सा!
मानव शरीरको रचनाको दृष्टिले हेर्दा एक विचित्र आविष्कार देखिन्छ, जसमा शरीर सञ्चालनका अनौठा तथ्य पाइन्छन्। यसै कारणले दुनियाको सबैभन्दा उत्कृष्ट इन्जिनियर मानव शरीर निर्माणकर्तालाई भन्न सकिन्छ।
शरीरका विभिन्न संरचनालाई अध्ययन गर्दा एक भागको कार्य अरुमा निर्भर हुने तथ्य आधुनिक चिकित्सा विज्ञानले समेत स्वीकार गरेको छ। यस्तै संरचनाको अध्ययन गर्दा आयुर्वेद शास्त्रमा मर्म नामक पृथक् तथा रहस्यमय शरीरका विन्दुहरुको वर्णन गरिएको पाइन्छ।
मर्म शब्दको अर्थ गहन वा मुख्य भन्ने बुझिन्छ जसलाई शल्य (सर्जरी) शास्त्रका पिता आचार्य शुश्रुतले वर्णन गर्दै भनेका छन्, 'शरीरको त्यो भाग, जसमा चोट लाग्दा घातक अथवा मृत्युसम्मको भय रहन्छ। ती शरीरमा १०७ बिन्दु (स्थानमा) रहन्छन्।' उनको परिभाषालाई अन्य आचार्यहरुले शरीरको कमजोर भाग, जहाँ दबाब दिँदा अत्यन्त पीडा हुने स्थानको रुपमा मानेका छन् र चिरफार गर्दा यस स्थानलाई जोगाएर गर्नुपर्ने कुरा उल्लेख गरेका छन्।
मर्ममा के हुन्छ?
शरीरको मर्म स्थानमा शरीरलाई जीवित राख्ने प्राण वायुको विशेष रुपमा उपस्थिति रहेको हुन्छ। प्राण शरीरको अति महत्वपूर्ण चिज हो। प्राणले नै शरीरको धारण गरेर मानिसलाई जीवित राख्ने कुरा आयुर्वेद तथा योग दर्शनले बताउँछ। यसका साथै त्यस स्थानमा शरीरको आवश्यक त्रिदोष (वात, पित्त, कफ), त्रिगुण (सत्व, रज, तम) को प्रमुख अंश समेत रहेको विद्वानहरुको मत रहेको छ। यसर्थ यस स्थानमा चोट लाग्दा प्राण जाने भय रहन्छ।
आधुनिक दृष्टिले हेर्दा यी स्थानमा स्नायुहरुको मिलन विन्दु, लिगामेंट, टेण्डन तथा मुख्य मांसपेशी, हड्डीहरु र जोर्नी पर्दछन्। यस मर्म विज्ञानको तथ्य हामीले पौराणिक कालदेखि हालसालैका घटनाक्रमलाई विश्लेषण गर्दा यसको वैज्ञानिकता सिद्ध हुन्छ।
रामायणमा रामले रावणको नाइटोमा तीर हानेर मारेको कथामा पनि आयुर्वेदमा नाभी अर्थात् नाइटोमा चोट लाग्दा तत्काल मृत्यु हुने कुरा बताइएको छ। क्रिकेटर फिल हुग्सलाई पनि बलले टाउकोको शंख प्रदेशमा नै चोट लगेर मृत्यु भएको थियो, जसलाई आयुर्वेदमा सद्य प्राणहर मर्म (तत्काल वा हप्ता दिनभित्र मृत्यु) हुने स्थानको रुपमा वर्णन गरिएको पाइन्छ। यसरी हेर्दा आयुर्वेदमा वर्णन गरिएको मर्म १०७ स्थानमा हामीले सामान्य रुपमा दबाब दिँदा वा चोट आउँदा घातक हुने कुरामा दुईमत छैन।
यो मर्म विज्ञानलाई चिकित्साको रुपमा आजकल प्रयोग गरिरहेको पाइन्छ, जहाँ मर्म स्थानलाई दबाएर विभिन्न रोगहरुको सफल चिकित्सा गरिछ। यस विज्ञानलाई पुनर्जागरण गराएर यसमार्फत चिकित्सा प्रणालीको विकास गरी आर्थिक आवस्था कमजोर भएका व्यक्तिहरुलाई नि:शुल्क सेवा दिने कार्य भारत उत्तराखण्डका प्रोफेसर डा सुनिलकुमार जोशीलाई जान्छ। उहाँले यस विज्ञानका माध्यमबाट विभिन्न क्षेत्र तथा देशमा स्वास्थ्य सेवा दिएर दीर्घ तथा जटिल रोगको सफल उपचार गर्नुभएको छ।
मर्म चिकित्सा के हो?
मर्म स्थानमा विशेष दबाब वा अन्य चिजको संसर्ग गराएर गरिने चिकित्सा नै मर्म चिकित्सा हो, जसको नतिजा तत्काल महसुस गर्न सकिन्छ। विशेषगरी नशासम्बन्धी रोगमा अति लाभदायी हुने यस चिकित्साले सबैखाले रोगमा आफ्नो प्रभाव देखाउनसक्ने सामर्थ राख्ने कुरा डा जोशी बताउनुहुन्छ। यस चिकित्सामा खाने औषधिको प्रयोग हुँदैन र तत्काल नतिजा देखिने हुँदा यो ठूलो महत्व रहेको चिकित्सा विधा हो।
विशेषगरी भारतमा मात्र सीमित यस विज्ञानको उपयुक्त अभ्यास नेपालमा भने निकै कम हुने गरेको छ। जसको कारण यस विज्ञान जानेका चिकित्सक कम हुनु, भारतमा समेत सीमित चिकित्सकहरुमा यसको पूर्ण ज्ञान नहुनु हुन्। यो चिकित्सा पूर्ण रुपमा आयुर्वेदको सिद्धान्तमा आधारित चिकित्सा हो, जसलाई कोही व्यक्तिहरु चिनियाँ चिकित्सा अकुपन्चर, अकुप्रेसरसँग मिल्दो जुल्दो ठान्ने गर्छन्। तर यो विज्ञान आयुर्वेद आर्थात् पूर्वीय दर्शनमा आधारित चिकित्सा हो, जसको शैली चिनियाँभन्दा फरक छ, जहाँ सुइको प्रयोग हुँदैन र तत्काल रोगीको रोग कम वा पूर्णतया निको हुन्छ।
मर्म चिकित्सा स्वस्थ व्यक्तिले पनि शरीरको रक्षाका निम्ति गर्न सकिन्छ। नित्य हामीले यस स्थानमा मर्मलाई जागृत बनाएर स्वस्थ जीवन व्यतित गर्न सकिने सुन्दर पाटो समेत यस विज्ञानको सुनौलो पक्ष हो।
मर्म चिकित्साको उपयोग हेर्दा नित्य जीवनमा समेत मर्म स्थानहरुको रक्षा तथा अभ्यास समेत गरिरहेको पाइन्छ। कुनै गल्ती हुँदा कान समाएर उठबस गर्ने सजायले मर्मलाई जागृत बनाएर यसको आत्मबोध गराउँछ। योगका विभिन्न आसन तथा प्राणायामहरु गर्दा समेत मर्म स्थानहरुमा विशेष प्राण वायुको क्रिया बढ्न गई स्वस्थ हुने कुरा यसका विज्ञहरु बताउँछन्।
यसरी हेर्दा नित्य कर्मदेखि संस्कारमा विज्ञान मिसिएको छ, जसको हामीलाई पहिचान छैन। तसर्थ नेपालको राष्ट्रिय चिकित्सा तथा गौरवको रुपमा रहेको आयुर्वेद र पूर्वीय दर्शनको वैज्ञानिकतालाई उजागर गरी मर्म विज्ञानलाई चिकित्सा अभ्यासमा ल्याउन जरुरी देखिन्छ।
(आयुर्वेदाचार्य खनाल धुलिखेलस्थित पतंजली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका प्रशिक्षक हुन्)