केहि दिन अगाडि नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक फोक्सोमा भएको ट्युमरको बिनाशल्यकिया सफल उपचार गरिएको छ। २० वर्षीय एक युवाको शल्यक्रियाको विकल्पका रुपमा ‘माइक्रोवेभ एब्लेसन’ प्रक्रियाबाट उपचार गरिएको हो। यो पद्धती नेपालमा नयाँ हो र यो पद्धतीबाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी र हड्डी लगायतका स्थानमा रहेको ३ देखि ५ सेन्टिमिटर सम्मको ट्युमरको उपचार गर्न सकिन्छ।
मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रोडियोलोजिष्ट डा ओम बिजु पन्तसँग यो पद्धति के हो? यसबाट कसरी उपचार हुन्छ? लगायतका विषयमा स्वास्थ्यखबरकी बिन्दु शर्माले कुराकानी गरेकी छिन् :
जुन बिरामीको हामीले शल्यक्रिया गरेका थियौं, त्यो प्ररम्भिक ट्युमर होइन। भन्नुको मतलब ती बिरामीको फोक्सोमै उत्पन्न भएको ट्युमर होइन। उहाँको हिपको हड्डीमा ट्युमर थियो। त्यो शल्यक्रिया भइसकेको भए पनि फेरि दोहोरिएर करङमा आयो। दुई पटकसम्म शल्यक्रिया भएको थियो। र, पुनः त्यहि ट्युमर फोक्सोमा आएको हो। फोक्सोमा एउटा ठाँउमा मात्र ट्युमर भएको कारणले यो उपचार सम्भव भएको हो।
ती बिरामीलाई गरेको उपचार पद्धति भनेको ‘माइक्रोवेभ एब्लेसन’ हो। सामान्यतया एब्लेसन भन्ने बित्तिकै तातो, चिसो या कुनै औषधि ट्युमर भएको ठाँउमा राखेर मार्ने पद्धति हो। यो प्रक्रियामा ट्युमर सेल त्यहि मर्छ। मरिसकेको सेललाई शरिरले सोस्ने गर्छ। यसरी उपचार पछि सम्भवतः ट्युमरको समस्या देखिदैन। यो पद्धतिबाट उपचारको सुरुवात कलेजोबाट भएपनि बिस्तारै फोक्सो, हाड्डी र थाइराइड ग्रन्थीको ट्युमरहरुमा पनि गर्न थालियो। तर स्तन क्यान्सर र थाइराइड क्यान्सर भएका बिरामीमा यो त्यति प्रभावकारी भने छैन। कलेजो र फोक्सोको केसमा यो प्रभावकारी रहेको र अन्तर्राष्ट्रिय रुपमा पनि स्वकृती पाइसकेको छ। कलेजोमा प्रारम्भिक क्यान्सर देखिने भनेकै हेपटाइटिस ‘बि’, ‘सि’ भएका र बढि रक्सी सेवन गर्नेमा हो।
विश्वव्यापी रुपमा हेर्ने हो भने यो पद्धतिका प्रयोग एसियाका देशमा बढी छ। विशेषगरी जापान र थाइल्यान्डमा।
यस पद्धतिमा चिरेर गर्नुपर्ने शल्यक्रियाको आवश्यकता पर्दैन। यसमा सुईको प्रयोगबाट निराकरण गर्न सकिन्छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सानो खालको ५ सेन्टिमिटर आकारसम्मका ट्युमरको यो पद्धतिबाट उपचार गर्न सकिन्छ। शल्यक्रियाको राम्रो विकल्प भएकाले बिरामीलाई सजिलो र छिटो निको हुनुमा सहयोग पुग्ने गर्छ। एनेस्थेसिया नलागाएरै पनि बिरामीको उपचार हुने हुँदा यो धेरै नै प्रभावकारी छ। एब्लेसन गरिसकेपछि बिरामीलाई एक÷दुई दिन सामान्य दुखाइ हुने र कहिलेकाँहि ज्वारो आउने हुन्छ। यो उपचार विधि त्यति लामो नभएको र बिरामीलाई धेरै दिनसम्म अस्पतालमा राख्नु नपर्ने भएको कारणले पनि झनझटिले छैन।
विस्तृत जानकारी भिडियोमा
भिडियो : निमेष जंग राई