राम्रो हुन सबैलाई मन लाग्दछ। तर अनुहार तथा शरीरमा आउने सेतो दुबीका कारण धेरै युवायुवती पीडित छन्। सेतो दुबी के हो? कसरी आउँछ र यसबाट कसरी जोगिने भन्ने विषयमा छाला रोग विषेशज्ञ डा सन्जुबाबु श्रेष्ठसँग स्वास्थ्यखबरकी बिन्दु शर्माले गरेको कुराकानीः
छालामा आउने सेतो दुबी के हो? यो किन आँउछ?
मान्छेको शरीरमा या अनुहारमा सेतो रङको सानो दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो। धेरै मान्छेले यसलाई 'कस्मेटिक डिस्फिगरमेन्ट'को रुपमा लिने गर्छन्। यो भन्नुको अर्थ शारीरिक सौन्दर्यताको समस्या हो। तर यसले सौन्दर्यतासँग मात्र सम्बन्धित नभएर मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ।
छालाको रङ बनाउन रगतको मेलानोसाइट कोषले उत्पादन गर्ने मेलानिन पिगमेन्टले सहयोग गरेको हुन्छ। मेलानिन पिगमेन्टकै कारण कसैको छाला गोरो हुन्छ त कसैको कालो हुन्छ। मेलानिन पिगमेन्ट उत्पादन गर्ने कोष मेलानोसाइट मर्यो भने छालामा दुबीको समस्या देखिन्छ।
फोटोसेन्सेटिभिट (घामले गर्दा छालामा रियाक्सन गर्ने) र कहिलेकाहीँ अरु रोगसँग सम्बन्धित भएका कारणले गर्दा दुबीको समस्या आउन सक्छ।
कुन उमेर समूहका मानिसमा दुबीको समस्या बढी देखिन्छ? छालामा यसले कस्तो असर पुर्याेउँछ?
दुबी बच्चादेखि वृद्धसम्म जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ। यसले छालामा घाउ खटिराजस्तै दुख्ने, पाक्ने, पोल्नेलगायतका समस्या त हुँदैन। तर अनुहार या शरीरमा सातो दाग धब्बा देखिएपछि मान्छेले घरबाहिर निस्किन, मान्छेहरुसँग बोल्न या कतै घुमफिर गर्न असहज महसुस गर्न सक्छन्। कहिलेकाहीँ मान्छेलाई अनुहारमा आएको दुबीकै कारण डिप्रेसन, एन्जाइटीजस्ता समस्या देखिने गर्छन्।
दुबीको रोकथाम लागि के गर्न सकिन्छ?
दुबीको उपचार गर्ने विभिन्न विधि छन्। आयुर्वेदिक, एलोपेथिक, होमिपेथिकजस्ता उपचार बढी प्रचलित मानिन्छन्।
दुबीको उपचार सुरुकै अवस्थामा गर्न सकिए केही हदसम्म निको पनि हुन्छ। तर यो पुरानो छ भने पूर्ण रुपमा निको पार्न सकिँदैन। कारण दुबी 'अटो इम्युन डिजिज' हो। यसको अर्थ रोग प्रतिरोधात्मक क्षमतामा भएको गडबढीका कारण निम्तिने भन्ने हो।
सबै मान्छेलाई दुबी हुँदैन। यो कतिपय केसमा वंशाणुगतका कारण पनि हुन्छ।
दुबी र डाइटको खासै सम्बन्ध छैन। तर दुबी हुनेहरुलाई अमिलो नखान हामीले सल्लाह दिने गरेका छौं। तर वैज्ञानिक रुपमा यसको कुनै आधार छैन। कहिलेकाँही दुर्घटनावस चोट लागेको खण्डमा घाउ निको भइसकेपछि जहाँ चोट लागेर घाउ आएको थियो त्यही ठाँउमा दुबी आउन सक्छ।
कतिपय कार्बन मेटरियल, जस्तै-रबर, प्लास्टिकका आदिका कारण पनि दुबी आउने समस्या देखिन्छ।
सुगरका बिरामी, थाइराइड, पर्निसियस एनिमियालगायतका बिरामीहरुमा यो समस्या हुन सक्ने संभावना बढी हुन्छ।
विस्तृत भिडियोमाः
फोटो र भिडियो : सौरभ रानाभाट