काठमाडौं- महिलामा पाठेघरको मुख, मलद्वार, योनी तथा पुरुषको अन्डकोष तथा लिंगमा क्यान्सर गराउने सक्ने भाइरस हो, ह्युमन प्यापिलोमा भाइरस अर्थात् एचपिभी। यो भाइरस असुरक्षित यौन सम्पर्कबाट सर्ने गर्छ। महिला तथा पुरुषका यौन अंगमा क्यान्सर गराउन सक्ने यो भाइरस के हो? यसको संक्रमण कसरी फैलन्छ? कसरी जोगिने लगायतका विषयमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यसँग स्वास्थ्यखबरकी बिन्दु शर्माले कुराकानी गरेकी छन्ः
मानिसका यौन अंगमा क्यान्सर गराउन सक्ने ह्युमन प्यापिलोमा भाइरसको संक्रमण कस्तो खालको समस्या हो?
शरीरिक सम्पर्क नगरेका महिलाहरूमा ह्युमन प्यापिलोमा भाइरसको समस्या देखिँदैन। तर शारीरिक सम्पर्क गरेका सबै महिलामा पाठेघरको क्यान्सर गराउन सक्ने यो भाइरसको संक्रमण भइहाल्छ भन्ने हुँदैन। अर्थात् पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने छैन।
ह्युमन प्यापिलोमा भाइरस २ सयभन्दा बढी प्रकारको हुन्छ। तीमध्ये केहीले क्यान्सर गराउने हुन्छ भने केहीले अन्य समस्या। यसका साथै केही त ले यौनांगको वरिपरीको छालामा स–सना मुसाजस्ता बिमरा वा खटिरा आउने समस्या पनि निम्त्याउन सक्छ। यस्ता गाँठालाई डाक्टरी भाषामा जेनाइटल वार्ट भन्ने गरिन्छ।
ह्युमन प्यापिलोमा भाइरसले महिलाको पाठेघरमा मात्रै क्यान्सर हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ। तर, यसले मलद्वार, योनी तथा योनीको भित्री भागमा पनि क्यान्सर गराउन सक्छ। पुरुषहरुको लिंग तथा अन्डकोषमा पनि क्यान्सर बनाउने हुन सक्छ।
यो भाइरसको संक्रमणले क्यान्सर भएको छ भने कस्ता लक्षण देखिन्छ?
सामान्यतया यसको लक्षण देखिँदैन। यस्ता क्यान्सर यौनांगको परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ। तर, कहिले काँही शरीरिक सम्पर्कका बेलामा रक्तश्राव हुने वा सेतो पानी बाग्ने भयो भने अलि सचेत रहनुपर्छ। यस्तो अवस्थामा चिकित्सकीय सल्लाह लिनुपर्छ। पाठेघरको क्यान्सरका लागि गर्नुपर्ने आवश्यक जाँच तथा परीक्षण गर्न जरुरी हुन्छ। योसंगै ह्युमन प्यापिलोमा भाइरसको परीक्षण पनि गर्न जरुरी छ। यसो गर्दा उक्त संक्रमण ह्युमन प्यापिलोका कारण भएको हो वा अन्य कुनै संक्रमण हो भनेर थाहा पाउन सजिलो हुन्छ।
कतिपय महिला प्यापस्मेयर (पाठेघर भित्रको पानी निकालेर क्यान्सर छ/छैन भनेर गरिने जाँच) लागि आउँदा ह्युमन प्यापिलोमा भाइरसको बारेमा जानकारी दिएपछि मात्रै उनीहरुले परीक्षण गर्ने गरेका छन्। अस्पतालमा आएका बिरामीहरुसँगको कुराकानी र जाँचका आधारमा हेर्दा धेरैलाई यस विषयमा जानकारी नै छैन।
यसको रोकथाम के छ त?
ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लागाउन सकिन्छ। जेनाइटल वार्ट र पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि खोपको प्रयोग गरिन्छ। पछिल्लो समय नेपालमा पनि यो खोपको प्रयोग हुने गरको छ। यो खोप प्राथामिक रोकथामका लागि दिइने हो।
यस्तो खोप प्राय गरी किशोरकिशोरीलाई दिने गरिन्छ। तर विवाहित जोडीलाई भने स्क्रिनिङ टेस्ट गरिन्छ। जसमा प्यापस्मेयर र ह्युमन प्यापिलोमा भाइरस दुबैको परीक्षण हुन्छ र रोग छ भने त्यही अनुसार उपचार गरिन्छ।
कहिलेकाहीँ ३५ वर्षभन्दा मुनिका महिलामा ह्युमन प्यापिलोमा भाइरस देखियो भने आफैँ हराएर जाने हुन सक्छ। १८ महिनादेखि २ वर्षबीचमा यो भाइरस हराएर जान पनि सक्छ। तर, बेलाबेलामा परीक्षण गर्दा ह्युमन प्यापिलोमा भाइरस देखिइ नै रह्यो भने सचेत हुनुपर्छ।
गर्भवतीले ह्युमन प्यापिलोमा भाइरसको खोप लगाउन नमिल्ने हुँदा गर्भवति हुनुभन्दा पहिला नै परीक्षण र खोपमा ध्यान दिनुपर्छ।
सरकारी स्तरबाट यसको रोकथाम र व्यवस्थापनको लागि के-कस्ता पहल हुनुपर्छ जस्तो लाग्छ?
यस विषयमा सरकारी पक्षबाट खासै चासो दिइएको पाइँदैन। यसका लागि सरकारले तत्कालै आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। सरकारले यसको नियन्त्रण र रोकथामका लागि खोपको व्यवस्थापन गर्नुपर्छ।
निजी अस्पतालले मात्रै यो भाइरसको परीक्षण गरेर हुँदैन। यसो गर्दा धनी तथा पैसा तिर्न सक्नेले मात्र सेवा पाउने अवस्था हुन्छ। त्यसकारण सरकारी अस्पतालमा नै यो भाइरसको परीक्षण गर्ने सेवा सुविधा हुनुपर्छ।
प्राय गरी गरिबीको चपेटामा परेकाहरुमा यो समस्या बढ्दो छ। चेतनाकै अभावको कारणले कतिपय महिलाहरुले परिवार नियोजनको चक्की लामो समयसम्म नियमित रुपमा खाइरहने गर्दा पनि संक्रमणको जोखिम रहन्छ।
वर्षेनी बच्चा जन्माइरहने महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सरको जोखिम रहन्छ। यसकारण अब सरकारी स्तरबाट यौनजन्य रोग र यसको नियन्त्रण गर्न विभिन्न ठाँउमा चेतनामूलक कार्यक्रम गरिनुपर्छ।
यसका साथै आवश्यक परीक्षण र उपचारका सेवा पनि उपलब्ध गराउनुपर्ने हुन्छ। यसैगरी, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। जस्तै- शारीरिक सम्पर्कका लागि एउटै साथी छान्ने, कन्डमको प्रयोग गर्ने, सानो उमेरमा बिहे नगर्ने र छिटो-छिटो बच्चा नजन्माउनाले पनि जोखिम कम हुन्छ।
विस्तृत भिडियोमाः