मधुमेह (डाइबेटिज)का कारण आँखाको ज्योतिसमेत गुम्न सक्छ। मधुमेहबाट ग्रसित धेरैलाई यो कुरा जानकारी नहुन सक्छ। यो रोगका धेरैजसो बिरामीले मधुमेह त हो नि, चिनीजन्य पदार्थको नियन्त्रणपछि कम भइहाल्छ नि भन्ने सोच्ने गर्छन्। प्रायः व्यक्ति शरीरमा कुनै समस्या नदेखिएसम्म शरीरको जाँच गर्नमा त्यति उत्सुक देखिँदैनन्। चिकित्सकहरुका अनुसार मधुमेह रोगको उपचार समयमा नै नभए आँखाको दृष्टि गुम्ने खतरा हुन्छ। मधुमेहले आँखामा पार्ने असरबारे स्वास्थ्यखबरकर्मी बिन्दु शर्माले तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग विषेशज्ञ डा रबा थापासँगको कुराकानी गरेकी छन्।
मधुमेहका कारण आँखामा हुने असर 'डाइबेटिक रेटिनोप्याथी' भनेको के हो?
मधुमेहका बिरामीहरुमा आँखाको रेटिनामा हुने असरलाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ। मधुमेहका कारण शरीरको नसामा असर देखिन्छ। यसले आँखाको पर्दाको रक्तनलीमा क्षति पुर्याउँछ। आँखाको भित्रीभागको पर्दामा रक्तश्राव हुने, आँखाको पर्दा सुनिने र समयमा उपचार नभए आँखामा अत्यधिक रक्तश्राव हुने र आँखाको पर्दा खुम्चिने पनि लक्षण देखिन्छ। मधुमेहका कारण आँखामा हुने यी असरलाई नै डाइबेटिक रेटिनोप्याथी भनिन्छ।
सामान्य मानिसभन्दा मधुमेह भएकाहरूमा आँखाको ज्योति गुम्ने जोखिम दुई गुना बढी हुन्छ। मधुमेहका कारण दृष्टि गुम्ने बिरामीको संख्या बढ्दै गइरहेको छ।
डाइबेटिक रेटिनोप्याथी भएको कसरी थाहा पाउने?
डाइबेटिक रेटिनोप्याथी भएको सुरुवात अवस्थामा बिरामीलाई थाहा हुँदैन। रोग जब छिप्पिँदै जान्छ, आँखाको पर्दामा रक्तश्राव हुने आँखा सुनिने र खुम्चिने भएपछि समस्या देखिन थाल्ने हो। आँखा विस्तारै धमिलो हुने, सिधा चिज हेर्दा बाङ्गो देखिनेजस्ता समस्या आउँछ।
मधुमेहका बिरामीले डाइबेटिक रेटिनोप्याथी छ वा छैन भनेर मधुमेह भएको थाहा पाएपछि जाँच गराइरहनुपर्छ। मधुमेह हुने र नहुनेहरुले ६ महिना या वर्षमा एक पटक आँखाको जाँच गराउनु पर्छ।
डाइबेटिक रेटिनोप्याथीको जोखिम कुन उमेर समूहका मानिसमा बढी हुन्छ?
पहिलो कुरा त मधुमेह दुई प्रकारको हुन्छ। जसलाई 'टाइप वान' र 'टाइप टू' गरी वर्गीकरण गरिन्छ। पहिलो प्रकारको मधुमेह अर्थात् टाइप वान ३० वर्षभन्दा कमको उमेर समूहका मानिसमा बढी देखिन्छ। टाइप टु अर्थात् दोस्रो प्रकारको मधुमेह भने ३० वर्षभन्दा माथिको उमेरमा देखिने संभावना बढी हुन्छ।
टाइप टू मधुमेहमा डाइबेटिक रेटिनोप्याथीको जोखिम बढी हुन्छ। यो भनेको मधुमेह छिटो पत्ता नलाग्दा देखिने समस्या हो। मधुमेहसँगै धूमपान र मद्यपान गर्ने मानिस, गर्भवति, उच्च रक्तचापका बिरामी, रगतमा चिल्लोपन बढी हुनेहरुमा यो रोगको जोखिम बढी हुन्छ। यसैगरी, मृगौलामा समस्या भएका बिरामीमा पनि डाइबेटिक रेटिनोप्याथीको जोखिम उच्च रहन्छ। यसको जोखिम बढी हुने भएकाले हरेक तीन महिनामा गर्भवतीले आँखाको जाँच गराउनु पर्छ।
डाइबिटिक रेटिनोप्याथी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारी स्तरबाट के-कस्तो पहल गर्नुपर्ला?
सरकारी पक्षबाट यसका लागि दुर्गमका जिल्लामा आँखा अस्पताल तथा आँखा शिबिरका कार्यक्रम संचालन गर्नुपर्छ।
डाइलाइसिस निशुल्क भएजस्तै डाइबेटिक रेटिनोप्याथीको उपचार पनि निशुल्क भएमा आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई राहत हुन्थ्यो। मधुमेह जाँच गर्ने केन्द्र सहरमा मात्रै नभएर ग्रामीण इलाकामा पनि स्थापना गर्नुपर्ने देखिन्छ। डाइबेटिक रेटिनोप्याथीको बारेमा जनचेतनाका फैलाउन पनि जरुरी छ।
यो रोग लागेपछि चाँहि आँखाको ज्योति बचाउन केके कुरामा ध्यान दिर्नुपर्छ?
मधुमेहका बिरामीले नियमित रुपमा आँखाको जाँच गर्नु जरुरी हुन्छ। चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ। मधुमेहको औषधि खानुपर्नेले नियमित खानुपर्छ। सन्तुलित खानालाई प्राथमिकता दिनुपर्छ। विशेषगरी आइरन धेरै हुने हरियो सागपात, फलफुल खाने तर कार्बोहाइड्रेडयुक्त खाना कम गर्नुपर्छ। धूमपान र मद्यपानबाट टाढै रहनुपर्छ। गर्भवतीले मधुमेहको नियमित जाँच गर्नुपर्छ।