आँखा वा शरीरमा पहेंलोपन हुनुलाई जन्डिस भनिन्छ। 'जन्डिस रोग होइन, रोगको लक्षण मात्र हो' भनेर डाक्टरहरुले जतिसुकै भने पनि धेरै बिरामीहरु यो कुरा मान्न तयार नै छैनन्। जन्डिसका बारेमा समाजमा एक किसिमको हौवा फैलिएको छ। जसले गर्दा जानेकाबुझेका मान्छे पनि जन्डिस हुँदा मुख बार्नुपर्छ भन्छन्।
जन्डिस हुँदा मुख बार्नु भनेको भीरमा उभिएको मान्छेलाई धकेलेर खसालेको जस्तै हो। जन्डिस देखिने धेरै रोगहरु कलेजोको खराबीका कारणले हुन्छन्। कलेजोमा समस्या हुने बिरामीलाई खाना नरुच्ने, उल्टी आउने हुन्छ। कलेजोको रोग लागेमा शरीर कमजोर हुने, जाँगर नचल्ने हुन्छ। यस्तो बेलामा बिग्रेको कलेजो सुधार्न, बिरामीको शरीरमा ऊर्जा दिन पर्याप्त मात्रामा पोषिलो खाना जरुरी हुन्छ।
सुरुमा साधारण ज्वरो अनि उल्टी त हो भनेर वास्ता नगर्ने र शरीर पहेंलो हुँदै गएपछि जन्डिस त आफैं निको पार्न सक्छु भनेर आफैंलाई धन्वन्तरीको अवतार सम्झिने धेरै छन् हाम्रो समाजमा। जन्डिस भएर भर्ना भएका व्यक्तिलाई भेट्न आउने हरेक व्यक्ति 'यो चिज खान हुन्न, यो चिज मात्र खानुपर्छ' भनेर जान्छ। यस्तो कुरा मान्दै जाने हो भने उमालेर छानेको पानीबाहेक केही खान पाउँदैन जन्डिसको बिरामीले।
पौष्टिक आहार नखाएमा त्यसै त बिग्रेको कलेजो झन बिग्रिँदै जान्छ। मुख नमिठो गराउने रोग लागेको बिरामीलाई झन् मनपर्ने खानेकुरा दिनुपर्नेमा नानाथरी मुख बार्न लगाएर झन् रोग बढ्दै जान्छ। पोषिलो आहार खाएमा दुई हफ्तामा निको हुने रोग, मुख बारेको हुनाले निको हुन दुई–तीन महिना लाग्छ।
खानेकुरामा बेसार जस्ता मसला हाल्नु परिकारलाई आकर्षक तथा मिठो बनाउनका लागि हो। नेपाली समाजमा भने जन्डिस भएका बरामीलाई बेसार हालेको तरकारी खुवाउनु हुँदैन भन्ने गरिन्छ। बेसारको जन्डिससँग टाढाको सम्बन्ध पनि छैन। त्यसैले जन्डिसका बिरामीलाई बेसार खुवाउँदा केही हानि गर्दैन।
बेसार खाएर आँखा पहेंलो हुने भए साग खाँदा हरियो र गोलभेंडा खाँदा रातो हुनुपर्ने होइन र?
तेल र घिउमा धेरै ऊर्जा हुन्छ। जन्डिस गराउने एक किसिमको रोग (अल्कोहोलिक हेपाटाइटिस)मा नाकमा लगाएको पाइपको माध्यमबाट तेल र घिउलाई बिरामीको पेटमा पुर्या ई उपचार गरिन्छ। चिल्लो खानाले कलेजोको विकासमा सहयोग गर्छ।
त्यसैले कसैलाई जन्डिस भएको देख्नासाथ मुख बार्न प्रोत्साहन नगरौं। ताकि नजानिंदो किसिमले रोग झन् बल्झाउने काम नहोस्।