नाकको एलर्जी विश्वव्यापी स्वास्थ्य समस्या हो। संसारको १० देखि १५ प्रतिशत जनसंख्या यो रोगबाट प्रभावित छ। नेपालमा भने यो रोगको प्रकोप अधिक वायु प्रदूषणले बढी भएको अनुमान गरिएको छ।
नाकको एलर्जी कडा रोग नभए पनि यसले गस्रित व्यक्तिको सामाजिक जीवनमा परिवर्तन ल्याइदिन्छ। स्कुले बाल बालिकाको पठनपाठनमा असर गर्नुका साथै कामको उत्पादकत्वमा पनि ह्रास ल्याउँछ।
वायुमण्डलमा हुने एलर्जी गराउने वस्तु एलर्जेनको संसर्गपछि प्रतिकारात्मक कणको माध्यमबाट नाकको भित्री पत्र सुन्निएर हुने लाक्षणिक अवस्थालाई नाकको एलर्जी भनेर परिभाषित गरिएको छ।
नाकको एलर्जीका लक्षण
– धेरै पातलो सिगान बग्नु
– नाक बन्द हुनु
– धेरै छिक आउनु, आँखा रातो हुनु, चिलाउनु
लक्षणहरु सबैलाई एकैनासको हुन्छ भन्ने छैन। कसैलाई एक लक्षण मात्र (हल्का एलर्जी) हुनसक्छ भने कसैलाई सबै (माध्यम, कडा एलर्जी) लक्षण पनि हुनसक्छ।
रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैं लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिएको छ।
एलर्जी गराउने तत्व
एलर्जी गराउन घरायसी एलर्जेनहरु केही हदसम्म जिम्मेवार हुन्छन्। खासगरी घरको धुलोमा हुने किरा, चुरोटको धुलो, ढुसी, पाल्तु जनावर, साङ्लो तथा अरु किराहरु र बिरुवाबाट निस्कने एलर्जेनहरु प्रमुख छन्। घर बाहिर पाइने एलर्जेनहरुमा धुलो, फुलका पराग मुख्य छन्। सहरी क्षेत्रमा पाइने एलर्जेनमा सवारी साधनको धुँवा र धुलो मुख्य छन्।
कसैलाई एलर्जी हुनुको कारणमा वंशाणुगत तथ्यको ठूलो भूमिका हुन्छ। साथै कुनैकुनै ऋतुमा नाकको एलर्जी हुने व्यक्तिमा दम हुने सम्भावना बढी भएको पाइएको छ।
नाकको एलर्जीको प्रकोप बढ्नुको मुख्य कारण
सहरी क्षेत्रमा मानिसहरु बढी मात्रामा एलर्जेनको सम्पर्कमा आउने भएकोले नाकको एलर्जीको प्रकोप बढी भएको भनिएको छ। यस बाहेक सन्तुलित आहारको कमी तथा एन्टिबायोटिकको अनावश्यक प्रयोगले गर्दा शरीरको प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकोले पनि यस्तो प्रकोप बढ्दै गइरहेको अनुमान गरिएको छ।
नाकको एलर्जीसँग हुनसक्ने सहविकृति
एलर्जी एक वंशाणुगत समस्या भएकोले नाकमा मात्र सीमित रहँदैन। योसँग विभिन्न किसिमका सहविकृति पनि सम्बन्धित हुन्छन्। जस्तैः दम, नाक वरिपरि हुने साइनसको संक्रमण तथा फोक्सोको समस्या।
नाक भित्रको तथा श्वासनलीको झिल्लीमा धेरै समानता पाइन्छ र एउटै बिरामीमा नाकको एलर्जी र दम दुवै सँगै विद्यमान हुन्छन् भन्ने तथ्य स्वास्थ्य सम्बन्धी अध्ययनबाट प्रमाणित भएका छन्।
एलर्जीयुक्त वा एलर्जीविहीन दमबाट ग्रसित धेरै व्यक्तिहरु नाकको एलर्जीबाट पनि ग्रसित हुन्छन्। त्यस्तै नाकको एलर्जी भएका धेरै व्यक्तिहरुमा दम भएको पाइन्छ नाकको एलर्जी दमसँग सम्बन्धित हुन्छ। अर्को शब्दमा भन्ने हो भने नाकको एलर्जी दमको रोग हुने एउटा कारण पनि हो।
नाकको एलर्जीबाट बच्ने उपाय
– एन्टिबायोटिको अनावश्यक प्रयोग नगर्ने (खासगरी बच्चाहरुमा)।
– गर्भवतीले धूमपान नगर्ने, अरुले पनि घरभित्र चुरोट सेवन नगर्ने।
– धुवाँ निस्कने सामाग्री दाउरा, पात गुइँठा, कोइला आदि नबाल्ने।
– घर भित्र हुने धुवाँ–धुलो नाकको एलर्जी हुने एक प्रमुख कारक भएकोले सोको प्रभाव कम गर्नको लागि सुत्ने डसना, तकिया आदिमा प्लास्टिक वा विशेष एलर्जी पु्रफ फ्याब्रिकको खोल लगाउने।
– तन्ना तथा तकियाका खोलहरुलाई हरेक हप्ता ५५ डिग्री सेल्सियस तापक्रमको पानीमा धुने। घर भित्र धुलो जम्न नदिने।
– दराजमा राखेको कपडा आदिलाई समयसमयमा घाममा सुकाउने।
– कार्पेटको प्रयोग नगर्ने।
– एसी, एयर कुलर आदिको एयर फिल्टर समयसमयमा सफा गरिरहने वा बदल्ने।
– पाल्तु जनावरहरु घरभित्र नराख्ने।
अन्त्यमा, नाकको एलर्जी एक वंशाणुगत समस्या पनि भएकोले यसलाई औषधि उपचार, खानपान, रहनसहन, नियमित व्यायाम आदिले नियन्त्रणमा राख्न सकिन्छ तर पूरै निको पार्न कठिक हुन्छ।